आठ महिनामा कुल आन्तरिक कर्जा १०.५ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल आन्तरिक कर्जा १०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १३ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको तथ्याङ्कमा आधारीत वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा यस्तो कर्जा २४.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १३.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १७.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २२.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ प्रतिशतले बढेको छ । २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमश: ८.४ प्रतिशत, २९.१ प्रतिशत र ५५.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ८.४ प्रतिशत, ३४.५ प्रतिशत र ४८.६ प्रतिशत रहेको थियो ।

२०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.८ प्रतिशत रहेको छ । २०७७ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४२.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७.४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.२ प्रतिशतले बढेको छ ।

सोही अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.४ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले बढेको छ । २०७८ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाकोअनुपात क्रमश: ६६.२ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.४ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १५.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.१ प्रतिशतले र हायर पर्चेज कर्जा ५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४१.९ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा ९.९ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १.७ प्रतिशतले कमी आई ६३१ अर्ब १९ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.० प्रतिशतले कमी आई पाँच अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.० प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,२७,९०० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४०.९ प्रतिशतले वृद्धि भई १,७८,२६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई रु.७०४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।


SHARE THIS