स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाजको संकल्प

काठमाडौं । गरिबी, बेरोजगारी र वातावरणीय दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाजको संकल्प गर्दै तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ ।

काठमाडौंमा दुई दिनदेखि सञ्चालन भइरहेको ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज/समुदाय निर्माणमा आ–आफ्नो क्षेत्रमा अगाडि बढ्ने सहकारी एवम् लघुवित्त संस्थाहरूले संकल्प गरेका छन् ।

‘घर–घरमा उद्यम फैलाउँ, गरिबीलाई शुन्य बनाउँ’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनका सहभागी सदस्यहरूले आ–आफ्नो क्षेत्रमा उद्यमशीलता अभिबृद्धि गर्न अभियान्ताका रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अगुवा अभियन्ता शंकर मान श्रेष्ठले पनि सो नारालाई मूलमन्त्र बनाएर कार्यान्वयनमा ल्याउन उपस्थित सदस्यहरूलाई आग्रह गर्नुभयो ।

‘घरघरमा उद्यम फैलाउने र गरिबी शुन्य बनाउने अभियानको अभियन्ता बन्नुहोस्’, उहाँले भन्नुभयो, ‘तपाईंहरू सबैले आफ्ना वरिपरिका दाजुभाइ दिदी बहिनीहरूमध्ये ५ जनालाई आफूजस्तै उद्यमी बनाउने अभियान चलाउनुहोस्, हाम्रो संकल्प कार्यान्वयन हनुपर्छ ।’

सम्मेलनमा लघुवित्तको माध्यमबाट सिर्जित सफलताका कथाहरू सुन्दा निकै उत्साहित बनाएको र ‘गरे के नहुने रहेछ’ भन्ने महशुस पनि गराएको स्वाबलम्वन विकास केन्द्र (सीएसडी)का अध्यक्षसमेत रहेका श्रेष्ठले बताउनुभयो । आवश्यकता र तोकिएको मापदण्डभन्दा बढी कर्जा नदिन सहकारी तथा लघुवित्त कम्पनीहरूलाई उहाँको सुझाव थियो ।

यस्तै, लघुवित्तबाट कर्जा लिएर उद्यमी बनेकामध्येबाट १० सफल उद्यमीहरूलाई सीएसडीले पुरस्कृत गर्ने पनि उहाँले बताउनुभयो । हरेक लघुवित्त कम्पनीले आफ्नो कार्यक्षेत्रको कम्तीमा ‘एक गाउँमा इको भिलेज’ विकास गर्न पहल गर्नुपर्ने ११ बुँदे संकल्पपत्रमा उल्लेख छ ।

तीनैमध्येबाट १० उत्कृष्ट इको भिलेज छनोट गरी पुरस्कृत गर्ने उहाँले बताउनुभयो । यस्तै, आगामी दिनमा १० वटा उत्कृष्ट तीन शुन्य क्लब छनोट गरेर पनि पुस्कृत गर्ने उहाँको भनाइ थियो ।

सम्मेलनको सांस्कृतिक उपसमिति संयोजक शोभा शर्माले सम्मेलनमा चलेका विभिन्न सत्रका छलफलबाट निकै उपलब्धिपूर्ण निष्कर्ष निस्किएको बताउनुभयो ।

लघुवित्त संस्थाहरूले महिलालाई उद्यमी/स्वरोजगार मात्र नबनाई नेतृत्व तहसम्म पुग्ने खुड्किलोसमेत बनेको उहाँको भनाइ थियो । ‘पहिला आफ्नो नाम भन्न पनि लजाउनेहरू अहिले आफ्नो दु:ख र सफलताका कथा निर्धक्कसँग भन्न सक्ने भएका छन्’ उहाँले भन्नुभयो, ‘गाउँगाउँमा उद्यमी महिला जन्माउन लघुवित्तको योगदान महत्वपूर्ण छ ।’ बैंकमा धितो राखेर ऋण निकाल्न नसक्ने विपन्न वर्गका महिलाहरू पनि लघुवित्तबाट बिनाधितो पाँच लाखसम्म कर्जा लिई उद्यमी बनेर अहिले समाज र राष्ट्रकै ‘सक्सेस स्टोरी’ बनेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको पोखरास्थित बिरौटा केन्द्रकी प्रमुख देवीमाया अधिकारीले नपढेका महिलाहरूले पनि ‘ऋण लिन, उद्यम गर्न, पैसा कमाउन र परिवार पाल्न सक्छन्’, है भन्ने सन्देश प्रवाह गर्न लघुवित्त संस्थाहरू सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला महिलालाई नेतृत्वमा आउन आर्थिक अभाव अवरोध बनेको थियो, अहिले गाउँगाउँमा महिलाहरू उद्यमी बन्न थालेका छन्, जसले महिलाहरूलाई नेतृत्वमा पुग्न पनि सहज बनाएको छ ।’

लघुवित्तबाट कर्जा लिएर उद्यमी भएका कतिपय मानिसहरू आर्थिक रूपमा सबल बन्दै गएपछि राजनीति, नीति निर्माणको तह, सामाजिक संघसंस्थाको नेतृत्वसम्म पुगेका उदाहरणहरू प्रशस्त छन् ।

पहिला लघुवित्तबाट बिनाधितो कर्जा लिएर उद्यमी बनेकाहरू अहिले ठूला बैंकहरूमा सम्पत्ति धितो राखेर कर्जा लिई व्यवसाय विस्तार गर्ने अवस्थामा पनि पुगिसकेका छन् । लघुवित्तले सशक्तीकरणमा पनि उत्तिकै भूमिका खेलेको सम्मेलनमा सहभागीले बताए ।

सो अवसरमा लघुवित्तबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन जना महिलालाई पुरस्कृत गरिएको थियो । तनहुँको भानु गाउँपालिकामा गाईपालन गरिरहेकी बबिता गुरुङ, दाङको तुलसीपुरमा गाई पालिरहेकी सरिता रेउले र रंगेली–१, मोरङमा तरकारी खेती गरिरहेकी सरिताकुमारी शाह उत्कृष्ट उद्यमी बनेका छन्, जसलाई लघुवित्तका अभियन्ता श्रेष्ठले जनही २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मानित गरे । यस्तै, सम्मेलन आयोजकले सुर्खेतको जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत १० जना विपन्न वर्गका छात्रछात्रालाई जनही ३० हजारका दरले छात्रवृत्तिसमेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायण सिग्देललाई एकमुष्ठ तीन लाख रुपियाँको चेक हस्तान्तरण गरिएको छ ।

सम्मेलनमा घोषणापत्र मस्यौदा समितिका सदस्य भोजराज बस्यालले ६० लाख घरधुरीमा लघवित्तले वित्तीय पहुँच पुर्‍याएको सुनाए । प्रधानमन्त्रीको शुभकामना सन्ेदश, कायममुकायम गभर्नर निलम ढुंगनाको मन्तव्य, विज्ञ स्रोत व्यक्तिहरूबाट प्राप्त विचार एवं महिला सदस्यहरूको मन्तव्यबाट प्राप्त बुँदाहरूलाई समेटेर घोषणापत्र (संकल्पपत्र) तयार पारेको उनको भनाइ थियो । घोषणापत्रको मस्यौदा तयार पार्न बस्याल, शारदा पोखरेल, हिराकुमारी थामदारसहित चार जनाको योगदान थियो ।



SHARE THIS