घरेलु तथा साना उद्योग संघ काठमाडौंले ग-यो शुभकामना आदान प्रदान कार्यक्रम

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल घरेलु तथा साना उद्योग संघ काठमाडौंले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । संघले राजधानीमा आयोजना गरेको एक समारोहमा नयाँ बर्षको क्यालेण्डर विमोचन गर्नुका साथै महासंघका सल्लाहकार, पूर्व अध्यक्षलगायतलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले “उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं” भन्ने स्लोगनलाई महासंघका जिल्ला र पालिकास्तरबाट अभियानकै रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघ केन्द्र सरकारसँग बजेट निर्माणका लागि निरन्तर संवादमा रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो – “यतिबेला उद्यमी व्यवसायी जाग्नुपर्ने बेला भएको छ । जिल्ला र पालिकास्तरबाट पनि आगामी बजेटमा समेट्नुपर्ने विषय छन् भने सुझाव दिनुस ।”

बढ्दो आयातका कारण तरलता समस्या झेलिरहेको अहिलेको समयमा लघु, घरेलु तथा साना उद्योगले स्थानीय कच्चा पदार्थमा आधारीत वस्तुहरुको महत्व र भूमिका झनै बढेको भन्दै उहाँले भन्नुभयो – “स्वदेशी उत्पादनको प्रयोग र उत्पादनलाई बढाएर देशको अर्थतन्त्रलाई सुदृढ बनाउने अभिभारा पुरा गर्न आ–आफ्नो ठाउँबाट लाग्नुहोस ।”

संघका अध्यक्ष सिता कार्कीले संघले देशकै अर्थतन्त्रको जगका रुपमा रहेका साना उद्योगहरुका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि त्यसको उपभोग गर्नका व्यवसायीहरु ब्ञ्चित भएको गुनासो गर्नुभयो ।

संघका अध्यक्ष कार्कीले संघको पहलमा महानगरपालिका र नगरपालिकाले घरेलु तथा साना लघुवित्त उद्यमीहरुले उत्पादन र तयारी गरेको उत्पादित सामानहरुको बजारीकरणको लागि व्यवस्थित बजारको आवश्यकता पुरा गर्न कोशेली घरको स्थापना गर्ने अवधारणालाई सम्पन्न गर्न सके यो क्षेत्रको भूमिका अझ सशक्त हुने उहाँले बताउनुभयो ।

कर्यक्रममा महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार वासु गिरी, अधिवक्ता शान्तिराम खतिवडालगायतलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष मुकेश उपाध्याय, राजेन्द्रमान श्रेष्ठ, शोभा गुरुङ, सत्यनारायण प्रजापति, महासंघ केन्द्रिय महिला समिति अध्यक्ष रोशनी उपाध्याय, संघका उपाध्यक्ष इश्वर बहादुर गुरुङ, सचिव कमला सुवेदीलगायतले आफ्ना शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


SHARE THIS