सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले पहल गर्ने

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्यौलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।

महासंघको हालै वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको भन्दै उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल शुरु गर्ने बताउनुभयो ।
स्वदेशी उत्पादनको संरक्षण र प्रवद्र्धन तथा यस्ता उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सरकारले निर्देशिका ल्याए पनि त्यो हालसम्म कार्यान्वयनमा जान नसकेको भन्दै उहाँले निर्देशिकाको अक्षरस पालना गराउन सरकार र सरोकारवाला निकायसँग छलफल शुरु गर्ने बताउनुभयो ।
स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि, रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउने उद्देश्यले सरकारले ल्याएको उक्त रणनीति कार्यान्वयन गराउन सके अर्थतन्त्रमा लघु, घरेलु तथा साना उद्योगको योगदान ह्वात्तै बढ्ने अध्यक्ष सिंहको भनाइ थियो ।
मुलुकभर सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको स्तरोन्नती, पुनर्उत्यान र विस्तारका कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने र उद्यमीको क्षमता अभिबृद्धि गरी गुणस्तरीय वस्तु उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम सञ्चालनमा सहयोग र समन्वय गर्ने योजना रहेको पनि अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा सुनाउनुभयो ।
स्थानीय निकायहरु मार्फत महासंघका पालिका, जिल्ला तथा प्रदेश संघहरुमा कार्यक्रमहरु ल्याउने प्रयास गर्ने । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको स्थानीय राजश्व परामर्स समितिमा महासंघको हरेक स्थानीय तहको प्रतिनिधित्वको सुनिश्चितता गर्ने उहाँको भनाई थियो ।
नेपाल सरकारसँगको सहकार्यलाई थप मजबुत बनाउँदै लघु घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकासमा सहयोग र सहकार्य गर्न चाहने सम्भावित दातृ निकायहरुको पहिचान गरि कार्यक्रम सञ्चालन गर्न पहल गर्ने नयाँ कार्यसमितिको योजना रहेको उहाँले बताउनुभयो ।
नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको विद्युतीय तथ्याङ्क अद्यावधिक गर्नुका साथै विद्यमान नीति, ऐन तथा कार्यविधिहरुलाई लघु, घरेलु तथा साना उद्योग मैत्री बनाउन पहल र प्रयत्न गर्ने महासंघको योजना रहेको छ ।
कोरोनाका कारणले स्थगित भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गरी स्वदेशी उत्पादनको बजार प्रवद्र्घन र विकास गर्न सहयोग गर्ने महासंघको आगामी योजना रहेको अध्यक्ष सिंहले बताउनुभयो ।
लघु, घरेलु तथा साना उद्यमीहरुलाई आवश्यकता अनुसार पर्याप्त मात्रामा उद्योग प्रवद्र्घन र विकासका कार्यक्रमहरु उपलव्ध गराउन नसकेको अवस्थालाई मध्येनजर गर्दै आर्थिक व्यवस्थापनलाई मजबुत बनाउदै लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्घनका लागि पर्याप्त कार्यक्रमहरु उपलब्ध गराउन पहल गर्ने महासंघको योजना रहेको छ ।
सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन सहजीकरण गर्ने पनि महासंघको योजना रहेको छ ।
औद्योगिकरण मार्फत मूलुकलाई आर्थिक रुपमा समृद्ध र आत्मनिर्भर बनाउन उद्यमी व्यवसायीहरु  क्रियाशिल रहेको भन्दै उहाँले भन्नुभयो – “नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्यमीहरु नै मुलुकको आर्थिक समृद्धिका लागि परिवर्तनका सम्वाहक हुन भन्नेमा कसैको दुईमत छैन । उद्यमीहरु प्रगतिशील अर्थतन्त्रका परिवर्तनकारी संवाहक हुन् । उत्पादन र सेवाको सम्भाव्य माग पत्ता लगाई बजारयोग्य वस्तु वा सेवाको आपूर्ति सुनिश्चित गर्नु उद्यमी व्यवसायीको दायित्व हो ।”
नेपाल जस्तो कम विकसित मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योग व्यवसायले अहम् भूमिका निर्वाह गर्दै आएको भन्दै अध्यक्ष सिंहले भन्नुभयो – “वास्तवमै नेपालको औद्योगिक इतिहासलाई सिंहावलोकन गर्ने हो भने नेपालमा सञ्चालित सम्पूर्ण उद्योगहरुको ९५ प्रतिशत लघु, घरेलु तथा साना उद्योगले ओगटेको छ । लघु, घरेलु तथा साना उद्योगको क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशत भन्दा बढी योगदान पु¥याइरहेको छ । यति हुदाहँुदै पनि यो क्षेत्र अझैपनि उपेक्षित रहि आएको छ । वर्तमान संघीय संरचनामा मुलुक प्रवेश गरेपछि यो क्षेत्र र सरकारका तीन तहका बीच दूरी घट्नुको साटो अझ बढिरहेको छ ।”
उद्योग विभागको पछिल्लो आँकडा अनुसार आर्थिक वर्ष २०७७÷७८ सम्ममा मुलुकभर कुल छ लाख दुई हजार ९२१ लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन । यस मध्ये चार लाख ५७ हजार ६४३ उद्योगहरु दर्ता कायम भई सञ्चालनमा रहेका छन् । ती उद्योगहरुमा प्रस्तावित कुल पूँजी लगानी ८० हजार १८९ दशमलव तीन करोड रुपियाँ रहेको छ भने प्रस्तावित रोजगारी ३२ लाख ८९ हजार ५१६ जना रहेको तथ्याङ्कबाट देखिएको छ भने परम्परागत रुपमा यत्रतत्र छरिएर रहेका असंगठित उद्यम व्यवसायहरुको संख्या समेत ठूलो रहेको छ ।
पत्रकार सम्मेलनमा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, पूर्व अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष हरिहर थापा, महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले महासंघका भावी योजनाबारेमा चर्चा गर्नुभएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको लघु घरेलु तथा साना उद्योगीहरुको प्रमुख छाता संस्था हो । यस अन्तरगत अहिले ३२८ वटा पालिकाहरुमा पालिका संघ, ७७ वटै जिल्लामा जिल्ल्ला संघ र सात वटै प्रदेशमा प्रदेश संघहरु कार्यरत छन् । यसका संगसंगै केन्द्रमा केन्द्रीय महिला उद्यमी समिति, प्रदेशमा प्रदेश महिला उद्यमी समिति, ६० वटा जिल्लामा जिल्ला महिला उद्यमी समिति र झण्डै ३०० पालिकामा पालिका महिला उद्यमी समिति कार्यरत छन् ।
यस अन्तरगत झण्डै ४० हजार लघु घरेलु तथा साना उद्योगीहरु महासंघका सदस्य रहेका छन् भने करिब १२ हजार महिला उद्यमीहरु महिला उद्यमी सञ्जालमा जोडिएका छन । यो बाहेक महासंघमा २७ वटा वस्तुगत संघहरु संस्थागत सदस्यको रुपमा रहेका छन् भने एसोसियट सदस्य, सहकारी सदस्य र उर्जा क्षेत्रका उद्योगीहरु समेत महासंघका सदस्य रहेका छन् । लघु, घरेलु तथा साना उद्योगीहरुको प्रतिनिधित्व गर्दै महासंघले सरकारद्वारा गठित २८ वटा बोर्ड समितिहरुमा प्रतिनिधित्व गर्दै आएको छ ।

SHARE THIS