राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा: सबैभन्दा धेरै जनसंख्या काठमाडौँ र कम मनाङमा

काठमाडौं । देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौँमा र सबैभन्दा कम जनसंख्या मनाङमा देखिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौँमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको देखिएको हो ।

प्रारम्भिक नतिजाअनुसार मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन् भने कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैङ्गिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैङ्गिक अनुपात प्यूठानको ८२ छ । जिल्लागत वार्षिक जनसंख्या बृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो ।

यसैगरी सबैभन्दा धेरै वार्षिक बृद्धिदर भक्तपुरमा (३.३२ प्रतिशत) र सबैभन्दा कम रामेछाममा (–१.६५ प्रतिशत) रहेको छ । हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी (१.८० प्रतिशत) वार्षिक जनसंख्या बृद्धिदर देखिन्छ । ग्रामीण–सहरी जनसङ्ख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसंख्यामा सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या ३३.९२ प्रतिशत पुगेको छ । सङ्घीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गिकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो ।

राष्ट्रिय जनगणना २०६८ मा ५८ नगरपालिका रहेको अवस्थामा कूल जनसंख्याको १७.०७ प्रतिशत  शहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो । स्थानीय तहअनुसारको जनसंख्या वितरण राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नगरपालिकामध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकामा क्रमश: काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसङ्ख्या भएका पाँच नगरपालिकामा क्रमश: ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी नगरपालिका पर्दछन् । सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौँ महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको छ । बीस हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने एक लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ रहेको छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमि गाउँपालिकामा ४४२ रहेको छ । दश हजारभन्दा कम जनसङ्ख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किमि पुगेको छ, जुन २०६८ सालमा १८० जना मात्र थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौँ जिल्लामा सबैभन्दा धेरै पाँच हजार १०८ जना प्रति वर्गकिलोमिटर र मनाङमा सबैभन्दा कम तीन जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ । जनघनत्वका आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमश: धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्ला हुन् ।

त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जनाप्रति वर्ग किमिभन्दा कम रहेको छ । तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना) पर्दछन् । परिवारमा अनुपस्थित (अक्सर बसोबास विदेशमा रहेका) जनसङ्ख्या जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जम्मा २१,६९,४७८ व्यक्ति नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन् जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष (८१.२८%) र चार लाख छ हजार १०३ महिला (१८.७२ प्रतिशत) रहेका छन् ।

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ (८७.६४ प्रतिशत) र महिला दुई लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए । यसरी समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाको सङख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ । जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश अनुपस्थित देखिएका छन् ।

सबैभन्दा बढी विदेश अनुपस्थित भएका पाँच जिल्लामा काठमाडौँ, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश अनुपस्थित हुने पाँच जिल्लामा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।


SHARE THIS