आगामी एनआरएनए नेतृत्वका लागि बद्री केसीको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि डा. बद्री केसीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

संघका वर्तमान उपाध्यक्ष केसीले १० औं महाधिवेशन तथा विश्वसम्मेलनमार्फत नयाँ नेतृत्वका लागि मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित केसीले उम्मेद्वारीको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरु उहाँले सार्वजनिक गर्नुभयो ।

केसीले गैरआवासीयलाई नागरिकता दिलाउने, वैदेशिक रोजगारीमा भएका समस्या समाधान गर्ने, बौद्विक वर्ग र दोस्रो पुस्ताका युवालाई एनआरएनएमा आबद्ध गराउने, गैरआवसीय नेपालीको लगानी नेपाल भित्र्याउने लगायतका प्रतिवद्धता अघि सार्नुभएको छ ।

श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, नेपाली भाषा, साहित्य र कलाको बेलीविस्तार गर्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्नका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गर्नुभयो ।


SHARE THIS