२०७५ साल अघि दर्ता भएका उद्योगहरुले पनि सहुलियत कर्जा पाउँछन: महासंघ अध्यक्ष गिरी



काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सहुलियत कर्जाका विषयमा कुनै पनि अलमल र अवरोध नरहेको भन्दै आफ्ना मातहतका उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

सहुलियत कर्जाका लागि जाने व्यवसायीहरुलाई बैंकहरुले २०७५ सालभन्दा अगाडि दर्ता भएका उद्योग व्यवसायलाई दिन नमिल्ने भनेर फर्काउन थालेपछि देशैभरका उद्यमी व्यवसायीहरु आतंकित बनेका  थिए ।

नेपाल सरकारद्वारा लघु, घरेलु तथा साना उद्यमी तथा महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषि कर्जालगायतका घोषणा गरिएका सहुलियतपूर्ण कर्जाहरु २०७५ साल अघि दर्ता भएका उद्योग व्यवसायले नपाएको सम्बन्धमा राष्ट्र बैंकसँग छलफल र परामर्शबाट समाधान भइसकेको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताउनुभयो ।

यो विषयमा जिल्ला जिल्लाबाट साथीहरूले सोधखोज र जानकारी गराए बमोजिम सम्बन्धित निकायमा पहल गर्दा एकिकृत कार्यविधि–२०७५ (तेस्रो संशोधन २०७७) कार्यान्वयनमा आएको मिति २०७५।०५।२१ भन्दा अघि दर्ता भएका उद्यम व्यवसायलाई सहमती दिन नमिल्ने भनी राष्ट्रिय बाणिज्य बैंकलाई निक्षेप तथा कर्जा सुरक्षण कोषले लेखेको पत्रलाई आधार मानी विभिन्न बैंकका शाखाहरुले त्यस्ता पुराना उद्योग/व्यवसायलाई सहुलियतपूर्ण कर्जा लगानी गर्न नमिल्ने भनी फिर्ता पठाइएको बुझिन आएको थियो ।’

तर यो समस्या महासंघको प्रयासबाट २०७८ भदौ ३ गते एकिकृत कार्यविधि–२०७५ मा चौथो पटक संशोधन भई २०७५ साल अघि दर्ता भएका उद्योगहरुले पनि सहुलियत कर्जा पाउने व्यवस्था गरिएको महासंघका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

राष्ट्र बैंकको एकिकृत कार्यविधि–२०७५ मा चौथो संशोधनलाई आधार मानेर सोही अनुसार गरिदिन पनि महासंघले बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ ।


SHARE THIS