प्रदेश नं. २ बाट दुई खर्ब १८ अर्ब १९ करोड रुपियाँ निक्षेप संकलन, अघिल्लो वर्षको तुलनामा ३७.५६ प्रतिशतले बढी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले २०७७ पुस मसान्तमा प्रदेश नं. २ बाट दुई खर्ब १८ अर्ब १९ करोड रुपियाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेप २०६६ पुसम्मको तुलनामा ३७.५६ प्रतिशतले धेरै हो ।

नेपाल राष्ट्र बैंक जनपुरका अनुसार सोही अवधिमा बैंक वित्तीय संस्थाले तीन खर्ब आठ अर्व ९४ करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । कर्जा प्रवाह पनि २०७६ पुसमसान्तको तुलनामा १४.२१ प्रतिशतले धेरै हो ।

राष्ट्र बैंकका अनुसार प्रदेश २ बाट परिचालित कुल निक्षेपमा पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २५.५३ प्रतिशत र रौतहट जिल्लाको हिस्सा सबैभन्दा कम ६.८१ प्रतिशत रहेको छ । त्यसैगरी, कुल कर्जा प्रवाहतर्फ पर्सा जिल्लाको अंश सबैभन्दा बढी ३९.४८ प्रतिशत र सप्तरी जिल्लाको सबैभन्दा कम ५.२१ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

२०७७ पुस मसान्तमा यस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक कर्जा अन्तर्गत ९३ अर्ब २८ करोड रुपियाँ कर्जा प्रवाह गरेका छन् । जुन रकम कुल कर्जाको ३०.२० प्रतिशत हो । सो अवधिमा घरजग्गा रजिष्ट्रेसन संख्यामा ९.४५ प्रतिशतले बृद्धि भएको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा ३१.६२ प्रतिशतले बृद्धि भएको छ ।

समतल भू–भागमा अवस्थित प्रदेश २ आर्थिक क्रियाकलापका दृष्टिले समृद्ध हुन सक्ने सम्भावना उच्च रहेको सो अध्ययनले देखाएको छ । कृषियोग्य भूमिको उपलब्धता, यातायात लगायतका पूर्वाधार निर्माण गर्न तुलनात्मक सहजता तथा वैदेशिक व्यापारको लागि प्रस्थान विन्दु समेत भएको कारणले प्रदेश २ मा कृषिका अतिरिक्त औद्योगिक क्षेत्रको विकासको पनि उत्तिकै सम्भावना रहेको देखिएको छ ।

प्रदेश २ मा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरुमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाण्डौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेका छन् ।

सो क्षेत्रको मूख्य चुनौतिको रुपमा परम्परागत निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नु, उत्पादनमूलक उद्योगधन्दा तथा कलकारखाना स्थापना गरी उत्पादन बढाउनु रहेको अध्ययनले देखाएको  छ । त्यसैगरी अध्ययनले औद्योगिक विकास गर्नु, रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पनि चुनौतिपुर्ण रहेको देखाएको छ ।

चालु आवको पुससम्ममा प्रदेश नं. २ मा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ४.२८ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा १.६९ प्रतिशत र मसला बालीले ढाकेको क्षेत्रफलमा १.२९ प्रतिशतले बृद्धि भएको अध्ययनले देखाएको छ । खाद्य तथा अन्य बालीको उत्पादनमा ८.६१ प्रतिशत र तरकारी तथा बागवानी उत्पादनमा २.२४ प्रतिशतले बृद्धि भएकोमा फलफूल तथा मसला उत्पादनमा २.३० प्रतिशतले र्‍हास आएको अध्ययनमा उल्लेख छ ।

सोही अवधिमा पशुजन्य उत्पादनतर्फ दुध, अण्डा र मासुको उत्पादनमा क्रमश: १.२४ प्रतिशत, ०.५५ प्रतिशत र २.०३ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी, काठको उत्पादनमा ५६.६७ प्रतिशत, दाउराको उत्पादनमा १२.६४ प्रतिशत तथा माछाको उत्पादनमा १.४८ प्रतिशतले र्‍हास आएको छ । २०७७ पुस मसान्तमा यस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ३४ अर्ब ८४ करोड कर्जा प्रवाह भएको छ । यो रकम कुल कर्जाको ११.२८ प्रतिशत हुन आउँछ ।


SHARE THIS