कोभिड पछिको अर्थतन्त्र लघु घरेलु तथा साना उद्योगले मात्र उकास्न सक्छ

नेपाल घरेलु तथा साना उद्योग महासंघ ३२ औं वर्षमा



काठमाडौं । नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२ औं स्थापना दिवशका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति भएको भन्दै लघु, साना तथा घरेलु उद्योगहरुको विकास, प्रवद्र्घन, सम्वद्र्घनका सन्दर्भमा यसले लिने नीति  र कार्यक्रमका सन्दर्भमा विविध आयामका सन्दर्भमा महासंघका पदाधिकारीहरुको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको बताउनुभयो ।
आगामी दिनमा पनि उद्योगी व्यवसायीहरुका महत्वपूर्ण सुझावहरुलाई महत्वका साथ लिने भन्दै उहाँले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय ल्याएको बताउनुभयो ।
मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उहाँले भन्नुभयो – 'आगामी दिनमा पनि यस्तो प्र्रयास रहिरहने छ ।’
गत वर्षदेखि कोभिड महामारी शुरु भएयता यस्ता उद्योगको महत्व झनै बढेको भन्दै सचिव पोखरेलले भन्नुभयो – 'घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारीत भएको, हामीले आफैले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दीगोपना छ भन्ने बुझेका छौं ।’
साना उद्योगसँग सरकार सँगसँगै हिंड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्घता व्यक्त गर्दै उहाँले भन्नुभयो – 'जुनसुकै उद्योगहरुलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा छ ।’
मैले मन्त्रालयमा जिम्मेवारी सम्हालेदेखि धेरै फोरमहरुमा भनेको छु राज्यले पाँचवटा विषयहरु उद्योग क्षेत्रमा दिनुपर्छ । त्यो भनेको पहिलो नीति संरचना त्यसपछि सरल र सहज रुपमा पूँजीको उपलब्धता, श्रमिकको उत्पादन गरिदिनुपर्छ, उद्योगलाई चाहिने बजार पूर्वाधार र भौतिक पूर्वाधारहरु पनि बनाइदिनुपर्छ ।’
विशेषगरी साना तथा घरेलु उद्योगहरुका लागि त बजारको लिंक गरिदिनुपर्छ भन्ने मन्त्रालयको बुझाई रहेको भन्दै त्यसै अनुरुप सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।
महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स–साना उद्योगहरुको प्रवद्र्घनबाट शुरु भएको पाइएको भन्दै भन्नुभयो – 'खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हे¥यौं भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरुलाई ठूला उद्योगहरुसँग जोडेर आज सफल भएका छन् ।’
अमेरिककाकै इतिहास हेर्ने हो भने पचास वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवद्र्घनबाट फड्को मारेको भन्दै उहाँले भन्नुभयो – 'विश्व अर्थतन्त्रको पाँचभाग मध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्रा जस्तै स–साना उद्योग एसएमईलाई नै प्राथमिकातामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको छ ।’
नेपाल अल्पविकशित राष्ट्रका रुपमा रुपान्तरित हुँदै गरेको अवस्थामा हामीले केही मापदण्ड पुरा गरेका छौं तर आर्थिक हैसियत र पूर्वाधार विकास ग-यौं कि गरेनौं बुझ्न जरुरी भएको उहाँको भनाई राख्दै भन्नुभयो – 'त्यसैले यसलाई सरकारको मात्रै दायित्व नबुझेर हामी निजी क्षेत्रको पनि ग्रामीण अर्थतन्त्र र साना खालको उद्यम व्यवसाय खासगरी गरिबीको रेखामुनी रहेका र मध्यमवर्गीय परिवार संलग्न रहेको साना खालको कृषि उद्यम र साना खालको उद्यम व्यवसाय जसमा प्रत्यक्ष रुपमा पाँच लाख परिवार र अप्रत्यक्ष रुपमा अर्को १५ लाख परिवार यही क्षेत्रमा आश्रित छ ।’
अघिल्लो वर्ष महिला उद्यमी कोषलाई महिला उद्यमी कर्जाको रुपमा परिणत गर्ने र वाणिज्य बैंकमार्फत यसमा लगानी गर्ने भन्ने कार्यक्रम लागु गरियो तर लक्षित वर्गले सहजै प्राप्त गर्न नसकको भन्दै अध्यक्ष गिरीले भन्नुभयो –  'हाम्रो नेटवर्कमा रहेका ११ हजार महिला उद्यमीमध्ये दुई चार सय भन्दा बढीले यो सुविधा प्राप्त गर्न सक्नुभएन । त्यसैगरी युवा उद्यमीको हकमा खासगरी शैक्षिक बेरोजगारलाई उद्यमी बनाउने सन्दर्भमा विशिष्ट जातिगत पहिचानसहित आफ्ना उद्यम प्रवद्र्घन गर्ने सन्दर्भमा र अन्य लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्घन गर्न अघिल्लो बजेटले व्यवस्था गर्दागर्दै पनि कतिपय कार्यान्वयन हुन सकेन ।’
पुनकर्जाकै सन्दर्भमा कतिपय प्रावधानले गर्दा लघु घरेलु उद्योगीले नपाउने अवस्था सिर्जना भएको भन्दै आगामी मौद्रिक नीतिमार्फत व्यवस्था गर्न उद्योग मन्त्रालयले प्रयास गनुपर्नेमा उहाँको जोड थियो ।
महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले ३१ वर्षसम्म धेरै आरोहअवरोह पार गरेको स्मरण गर्दै कोरोना संक्रमणयता साना तथा घरेलु उद्यमी व्यवसायीहरु अत्यन्तै मर्माहत भएको बताउनुभयो । यस्तो अवस्थामा देशको मेरुदण्डको रुपमा रहेका घरेलु तथा साना उद्योगहरुलाई प्रवद्र्घन गर्नुपर्ने भन्दै सरोकारवालाको ध्यानकर्षण गराउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताउनुभयो ।
उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उहाँले अहिले पाँच लाखको हाराहारीमा रहेका उद्योगीहरुलाई सरकारले मान्यता दिएर हरेक समितिमा राखेको भन्दै उहाँले भन्नुभयो – ती समितिहरुमा साना उद्योगीहरुको समस्या र आइपरेका समाधानका उपायहरु अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।’
अघिल्लो वर्ष सरकारले सदासयता देखाएको थियो, नीति तथा कार्यक्रम र बजेटमा महासंघले दिएका सुझावका आधारमा धेरै सम्बोधन गरेको थियो । तर कार्यान्वयन पक्ष एकदमै कमजोर भयो र त्यसकै निरन्तरता अहिलेको बजेटमा पनि दिइएको छ । अब कार्यान्वयनमा जोड दिनुपर्ने हाम्रो माग छ ।’ वरिष्ठ उपाध्यक्ष सिंहले भन्नुभयो ।
महासंघ केन्द्रिय महिला उद्यमी समितिका सभापति अञ्जु उपाध्यायले साना उद्यमीहरुको हकहित संरक्षण गर्न जन्मेको महासंघ आज हजारौं उद्यमी व्यवसायीलाई गोलबद्घ गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
स्थापना दिवस मनाइरहँदा हामी दुःखी छौं, आज कोभिडले थिलोथिलो पारेको छ, कति व्यवसायीहरु अहिले पनि संक्रमित हुनुहुन्छ, कति साथीहरु दिवंगत पनि हुनुभएको छ जसले गर्दा हाम्रो उद्योगहरुमा ठूलो समस्या परेको छ’ – उहाँले भन्नुभयो ।

SHARE THIS