आगामी मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति अर्थतन्त्र चलायमान बनाउने गरी ल्याउन लागेको बताउनुभएको छ ।

नेपाल व्यवस्थापन संघ (म्यान) ले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिन वेबिनारमार्फत आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो र्– उद्योग र उद्यमी नरहेमा बैंक चल्दैन । त्यसैले आगामी मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी ल्याउछौं ।’

गत सालको नीति ल्याउँदा कसरी संस्थालाई सर्भाइभ गर्ने, बैंकका ग्राहकलाई सर्भाइभ गराउने, जसले गर्दा आर्थिक प्रणाली पनि सुरक्षित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले ल्याइएको भन्दै उहाँले भन्नुभयो – 'अहिलेसम्म सर्भाइभलबाट रिभाइभलमा गइसक्छ भन्ने अपेक्षा थियो । तर कोरोनाको दोस्रो लहरले हामीलाई त्यो स्थितिबाट अर्कै ठाउँमा पु-याइदियो ।’

लामो समयदेखि रोकिएको बैंकास्योरेन्सको विषयमा पनि छलफल गरेर टुङ्गोमा पुग्ने भन्दै उहाँले विगतमा केही नकारात्मक कुरा आएका कारण यसलाई रोकिएको बताउनुभयो ।

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रमेश पोखरेलले आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि ल्याउनु पर्ने सुझावहरुको प्रस्तुति गर्दै कोरोनाले प्रभावित पारेका क्षेत्रहरुको वस्तुगत छलफल गर्दै नीतिहरुको प्रारुप तयार गर्नुपर्ने बताउनुभयो ।

मौद्रिक नीतिका लागि सुझाव दिँदै कोरोनाको कारण आर्थिक क्रियाकलाप प्रभावित भएको, रोजगारी र आयआर्जनमा -हास आएको बताउँदै उहाँले होटल रेष्टुरेन्ट र पर्यटन क्षेत्र लगायका लागि विशेष प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।

मौद्रिक नीतिको लागि तयार पारेको सुझावमा नीतिहरुको कार्यान्वयन गर्दा विगतमा भएका प्रणालीहरुलाई  असर नपर्ने गरी व्यवस्था गर्नुपर्ने, भावी दिनमा मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा पर्न सक्ने दबाबलाई मध्यनजर गरी तरलता व्यवस्थापन गर्ने खालको नीति ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेलले अब राष्ट्र बैंकले विकास बैंकले हकप्रद सेयर जारी गर्न स्वीकृति दिनुपर्ने बताउनुभयो । अब विकास बैंकहरुको पूँजी बृद्धि आवश्यक रहेको भन्दै उहाँले विकास बैंक धेरै सक्षम भइसकेको बताउनुभयोे । विकास बैंकको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले लोकल एलसीको प्रावधान विकास बैंकलाई पनि दिनुपर्ने बताउनुभयो ।

आगामी मौद्रिक नीति मार्फत अब विकास बैंकहरुले क्रेडिट कार्ड कार्ड जारी गर्ने पाउनु पर्ने व्यवस्था गर्नु पर्ने, सरकारी कारोबार गर्न पाउनु पर्ने व्यवस्था गर्नुपर्ने उहाँको माग थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय तरलता टाइट हुँदै गएको भन्दै यसलाई कमजोर पार्न भूिमका खेलिरहेका क्षेत्रमा भइरहेको कर्जा प्रवाह नियन्त्रण गर्नुपर्ने बताउनुभयो । यसका लागि नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति मार्फत नीति बनाएर अगाडि बढुनुपर्ने उहाँको भनाइ थियो ।

अर्थतन्त्रलाई लयमा फर्काउन कोभिड–१९ विरुद्धको खोप नै सबैभन्दा महत्वपूर्ण भएको भन्दै उहाँले खोप ल्याउन नसक्नुले दीर्घकालीन समस्या समाधान नहुने समेत बताउनुभयो ।

वित्तीय पूर्वाधारको विकास मार्फत वित्तीय पहुँच र सेवागुणस्तर अभिबृद्धि गर्ने, विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने, मूल्यबृद्धिको चापलाई दृष्टिगत गरी उपभोक्ता मुद्रास्फीति बाञ्छित सीमा भित्र रहने गरी मौद्रिक नीति व्यवस्थापन गर्नु पने, चालुखाता घाटा र यसबाट भुक्तानी सन्तुलनमा पर्न सक्ने असरलाई ध्यान दिएर मौद्रिक नीतिको व्यवस्था गर्नुपर्ने संघले सुझाव दिएको छ । कार्यक्रममा बैंकर, उद्योगी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


SHARE THIS