शतप्रतिशत बढ्यो विद्युतीय भुक्तानी सीमा, प्रतिदिन दुई लाखसम्म मोबाइल बैंकिङबाटै मिल्ने

काठमाडौं । पछिल्लो समय विद्युतीय माध्यमबाट कारोबार गर्नेहरुको संख्या र रकममा उल्लेखनिय बृद्घि हुँदै जाँदा नेपाल राष्ट्र बैंकले यसको सीमा पनि फराकिलो बनाएको छ ।

विद्युतीय माध्यमबाट नगद लेनदेन बढ्दै जाँदा यसलाई अझ सहज बनाउन राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा संशोधन गर्दै दोब्बर बनाएको हो ।

बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाएको छ । नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन दुई लाख रुपियाँ र इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा २० लाख रुपियाँ कायम गरिएको छ ।

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागु नहुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क इत्यादि शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने परिपत्रमा उल्लेख छ । यस्तै, विद्युत, दूरसञ्चार, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन ।

शिक्षण संस्था, स्वास्थ्य संस्था (अस्पताल÷नर्सिङ होम र डाइगोनस्टिक सेन्टर), हवाई सेवा, यातायात र होटल तथा रेष्टुरेन्ट कारोबारमा पनि सीमा लगाइएको छैन । त्यसैगरी, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार बापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन ।

यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको राष्ट्र बैंकले एजेन्ट वा सब–एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार रुपियाँ र प्रतिमहिना एक लाख रुपियाँ सीमा तोकेको थियो । बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा वा एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा प्रतिकारोबार २५ हजार रुपियाँ, प्रतिदिन एक लाख रुपियाँ र प्रतिमहिना पाँच लाख रुपियाँको सीमा राष्ट्र बैंकले तोकेको छ । यस्तै, राष्ट्र बैंकले वालेटबाट वालेटबाहकको बैंक खातामा रकमान्तर गर्दा कुनै सीमा तोकेको छैन ।

राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोबारहरुको अधिकतम सीमा प्रतिदिन एक लाखदेखि १० लाख र प्रतिमहिना १० लाखदेखि ५० लाख रुपैयाँ कायम गरेको थियो । मोबाइल बैंकिङ (क्यूआर कोडसमेत)बाट उपभोक्ताहरुले प्रतिदिन एक लाख रुपियाँ र प्रतिमहिना १० लाख रुपियाँसम्म कारोबार गर्न सक्ने छन् ।

राष्ट्र बैंकले इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट)को सीमा प्रतिदिन १० लाख रुपियाँ र प्रतिमहिना ३० लाख रुपियाँ कायम गरेको छ । इन्टरनेट बैंकिङ (खातामा ट्रान्सफर) को सीमा प्रतिदिन १० लाख रुपियाँ र प्रतिमहिना ५० लाख रुपियाँ रहेको छ ।


SHARE THIS