टेलिकमलाई सबल र दीगो बनाउनका लागि जनताको सहभागिता महत्वपूर्ण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई सबल र दीगो बनाउनका लागि जनताको सहभागिता महत्वपूर्ण हुने बताउनुभएको छ । नीतिगत रुपमा नै जनता मालिक हुने र जनता पनि सहभागी हुने किसिमको नीति बनाउनुुपर्नेमा उहाँको जोड थियो ।

नेपाल टलिकमको १७ औं वार्षिकोत्सवलाई बिहीबार सम्बोधन गर्दै मन्त्री गुरुङले कम्पनीमा सर्वसाधारणको हिस्सा बढाइने पनि बताउनुभयो ।

संस्थालाई सबल बनाउनका लागि सर्वसाधारणको लगानी महत्वपूर्ण हुने भन्दै मन्त्री गुरुङले टेलिकममा सर्वसाधारणको हिस्सा बढाउने बताउँदै सञ्चालक समितिको बैठक बसेर सर्वसाधारणको हिस्सा बढाउने सम्बन्धमा निर्णयमा पुग्न सञ्चालक समितिलाई निर्देशन पनि दिनुभयो ।

टेलिकमको अहिलेको संरचना परिवर्तनको विषय महत्वपूर्ण भएको भन्दै उहाँले लगानी सहितको रणनीतिक साझेदारलाई पनि भित्र्याउन सकिने बताउनुभयो । यसका लागि पनि आवश्यक गृहकार्य गर्न पनि कम्पनी सञ्चालक समितिलाई उहाँले निर्देशन दिनुभयो ।

सर्वसाधारण र कर्मचारीको हिस्सा ८.४७ प्रतिशत मात्र रहेको टेलिकममा सरकारको ९१.३ प्रतिशत हिस्सा छ । सरकारी स्वामित्व घटाएर सर्वसाधारणको हिस्सा २६ प्रतिशत पु¥याउने सम्बन्धमा यस अघिदेखि नै चर्चा हुँदै आएको छ ।

मन्त्री गुरुङले टेलिकमको सेवा खस्केको गुनासो धेरै आउने गरेको भन्दै त्यसलाई सु्धार गर्न पनि निर्देशन दिनुभयो ।


SHARE THIS