सम्हालिए लगानीकर्ता, बढ्यो परिसूचक

काठमाडौं । आमहड्तालको खबरले बुधबार अन्तिम प्रहरमा सुस्ताएको सेयर बजार अन्तिम दिन सुधारिएर बन्द भएको छ । आमहडताल घोषणा भएको दिन निराश बनेका लगानीकर्ता सम्हालिँदा बिहीबारको सेयर बजार आठ अंकले सुधारिएको हो ।

निरन्तर सुधारको बाटोमा रहेको शेयर बजारमा आमहडतालको असर पर्नसक्ने विश्लेषण गरिएपनि त्यसको विपरीत बिहीबारको शेयर बजार उकालो लागेको हो ।

आमहड्तालको खबरले बुधबार अन्तिम प्रहरमा लगानीकर्ता आत्तिँदा सेयर बजार घटेको थियो । साताको अन्तिम दिन अर्थात आमहड्तालकै दिन शुरुवातमा घटेको बजार बढेर बन्द भएको हो । अन्तिम दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेपनि औषतमा राम्रो देखिएको छ ।

बिहीबार सेयर बजारमापक नेप्से ८.३४ अंकले उकालो लागेर २४७५.२६ अंकको विन्दुमा पुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले उकालो लागेर ४५४.०२ अंकको विन्दुमा पुगेर अडिएको छ । समग्रमा बिहीबारको नेप्से ०.३४ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स भने ०.३७ प्रतिशतले उकालो लागेको छ ।

बुधबार बजार खुलेको पहिलो सत्रमा दोहोरो अंकले उकालो लागेर २५ सय विन्दु माथि पुगेको नेप्से अन्तिममा भने ओरालो लागेर बन्द भएको थियो ।

कारोबार अवधिभर नै उतारचढाव देखिएको बजार अन्तिम समयमा भने अंकले ओरालो लागेर बन्द भएको हो । लगानीकर्ता खरिदबिक्रीमा तानिँदा कारोबार रकममा आकर्षक माहौल बनेपनि नेप्से परिसूचकमा भने गिरावट आएको हो ।

सत्तारुढ दल नेकपा विभाजनको असर सेयर बजारमा देखिएको पनि विश्लेषकहरुको भनाई छ । नेकपाबाट विभाजित प्रचण्ड माधव समुहले बिहीबार आमहड्ताल गर्ने सूचना प्रवाहित भएपछि बुधबारको बजारमा असर परेको थियो ।

बुधबार सेयर बजारमापक नेप्से ६.८१ अंकले ओरालो लागेर २४६६.९२ अंकमा पुगेर अडिएको थियो  भने सेन्सेटिभ इन्डेक्स ०.९२ अंकले उकालो लाग्दा ४५२.२९ अंकको विन्दुमा पुगेर अडिएको थियो ।

समग्रमा बुधबारको नेप्से ०.२८ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स भने ०.२० प्रतिशतले उकालो लागेको थियो ।

अन्तिम दिनभर २०१ कम्पनीहरुको एक करोड ८७ लाख १९ हजार ३८७ कित्ता सेयर ७२ हजार १६९ पटक खरिदबिक्री हुँदा सात अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब दुई अर्ब रुपियाँले कमी हो ।

बुधबार दिनभर २०२ कम्पनीहरुको दुई करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर ९१ हजार ५५९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

अन्तिम दिन शीर्ष स्थानमा रहेको प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य दिन ३.४६ प्रतिशत अर्थात ३२ रुपियाँ घटेर ८९३ रुपियाँमा अन्तिम कारोबार भएको छ । दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा ६० कम्पनीको शेयरमूल्य भने घटेको छ लघुवित्ततर्फ लगानीकर्ताको आकर्षण देखिएको बिहीबार सूर्योदय लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, समिट लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सर्पोट लघुवित्त, कालिका लघुवित्त र ग्रामिण विकास लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, सिनर्जी पावर, माउन्टेन हाइड्र र राधी विद्युत र पाँचथर पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

बिहीबार दिनभर कारोबारमा आएका १२ वटा उपसमूहहरुमध्ये छ वटा उपसमूहको सूचक ओरालो लागेको छ भने बाँकी छ वटा उपसमूहको सूचक उकालो लागेको छ । सर्वाधिक व्यापार उपसमूहको उपसूचक ४.५१ प्रतिशतले उकालो लागेको अन्तिम दिन माइक्रोफाइनान्स ३.५२, हाइड्रोपावर १.९२, निर्जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन १.३९ र अन्य ०.०८ प्रतिशले उकालो लागेको छ । यता बैंकिङ ०.४३, होटल ०.९९, विकास बैंक ०.२५, फाइनान्स ०.९८, जीवन बीमा ०.३८ र म्युचुअल फण्ड ०.१ प्रतिशतले ओरालो लागेको छ ।

बुधबार कारोबारमा आएका १२ वटा उपसमूहहरुमध्ये चार वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी आठ उपसमूहको सूचक नकारात्मक देखिएका थिए । व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको बुधबार होटल १.४६, विकास बैंक ०.४६, फाइनान्स १.६८, निर्जीवन बीमा ०.७९, उत्पादन र प्रशोधन १.६५, अन्य ०.८६ र जीवन बीमा १.०७ प्रतिशतले ओरालो लागेका थिए । हाइड्रोपावर सर्वाधिक १.०४ पतिशतले उकालो लागेको बुधबार बैंकिङ ०.२४, माइक्रोफाइनान्स ०.०२, म्युचु्अल फण्ड ०.३८ प्रतिशतले उकालो लागेको थियो ।


SHARE THIS