अर्थतन्त्रलाई मजबुत बनाउन सहकारी बैंकको आवश्यकता, नेपाल सहकारी बैंकको प्रारम्भिक भेला सम्पन्न

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभाति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन  नेपाल सहकारी बैंक अपरिहार्य रहेको बताउनुभएको छ । एउटामात्र सहकारी बैंकले सहकारी क्षेत्र समेट्न नसकेको टीप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबैलाई बैंक बनाउन सकिने बताउनुभयो ।

प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता निधीले करिब एक हजार सदस्यता दर्ता भएको बैंकलाई कुनैपनि हालतमा रोक्न नसक्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो बैंक सबैको लागि आवश्यक छ, तपाईहरु दर्ता प्रकृयामा जानुस कसैले रोक्न सक्दैन बैंक स्थापना भएरै छाड्नेछ ।’ उहाँले जननेता विपी कोइरालाले नेपालमा अर्थतन्त्र प्रवेश गराउनुभएको दाबी गर्दै मुलुकभर सहकारी फस्टाएको स्मरण गर्दै अब मुलुकमा अर्को सहकारी बैंक स्थापना भइसकेको जिकिर गर्नुभयो ।

बैंक दर्ता प्रकृयाले लोकतन्त्र र अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै उहाँले तत्काल दर्ता प्रकृया शुरु गर्न आग्रह गर्नुभयो । राष्ट्रिय सहकारी बैंकका सञ्चालकले नेपाल सहकारी बैंक खोल्न दिन नहुने भन्दै आफुलाई सहयोग नगर्न आग्रह गरेको खुलासा गर्दै उहाँले भन्नुभयो – ‘केही केही नेपाल सहकारी बंैकको विरुद्धमा लागेका छन, म भन्छु यसले केही समस्या पार्दैन प्रकृया थाल्नुस सिङगो पार्टीको पुर्ण सहयोग रहनेछ ।’

प्रस्तावित नेपाल सहकारी बैंक स्थापना गर्नुपर्ने कारणबारे आंैल्याउदै बैंक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बंैकको ऐनमा सहकारी बैंक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना धितो ठूलो रकम प्रवाह गर्नु, बैंक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैंकको आवश्यकता महसुस गरी एक हजार भन्दा बढी सदस्य संस्थाको भेला आयोजना गर्नुपरेको बताउनुभयो ।

उहाँले सहकारी ऐन २०७४ र नियमाबली २०७५ को आधारमा बैंक दर्ता प्रकृया अघि बढाइएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो – ‘करिब एक वर्ष अघिदेखि प्रकृया शुरु गरेका थियौं अब दर्ता प्रकृया शुरु गर्नेछांै । उहाँले प्रारम्भिक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्थाका एक हजार भन्दा बढी सदस्य उपस्थित भएर ठूलो सफलता भएको बताउँदै अब बैंक दर्ता प्रकृयामा कसैले अवरोध गर्न नसक्ने जिकीर गर्नुभयो ।

एकमात्र सहकारी बैंकले प्रभावकारी सेवा दिन नसकेको कारण बाध्य भएर नयाँ बैंक दर्ता प्रकृया शुरु गरेको उल्लेख गर्दै संयोजक भण्डारीले भन्नुभयो – ‘नेपाल सहकारी बैंक जस्तै प्रकृतिका अब पाँच वटा बैंक खुल्नुपर्छ ।’ ३४ हजार भन्दा बढी सहकारी मध्य सक्रिय कारोबार गर्ने सहकारीको संख्या ३० हजारको संख्यामा रहेको अवस्थामा सबैलाई व्यवस्थित सेवा दिन नयाँ बैंकको आवश्यक रहेको उल्लेख गर्नुभयो ।

तथ्याङ्क हेर्दा नेपालमा आठ खर्ब भन्दा बढीको निक्षेप संकलन, एक खर्ब भन्दा बढी शेयर पूँजी सङ्कलन, ७३ लाख भन्दा बढीलाई वित्तीय सेवा र सुविधा, तीन लाख बढीलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै कुल गार्हस्थ उत्पादनमा सात प्रतिशत भन्दा बढी योगदान दिएको सहकारी क्षेत्रमा नयाँ बैंकको आवश्यक महसुस गरी देशैभरबाट आएका सहकारी सदस्यको सहयोगमा भेला आयोजना गरिएको संयोजक भण्डारीको भनाई छ ।

भेलामा पुर्वमन्त्री एवं नेपाली काङ्ग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले मुलुकमा एउटामात्र सहकारी बैंकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने कामको शुरुवात गरेकोमा  खुसी व्यक्त गर्नुभयो ।

भेलामा पुर्व अर्थ राज्यमन्त्री एवं नेपालीका काङ्ग्रेसका नेता उदयशम्सेर राणा, पूर्व गभर्नर डा. चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाल लगायतले अहिलेको अवस्थामा एउटामात्र सहकारी बैंकले काम गर्न नसकेको सो बंैकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने काम थालेकोमा शुभकामना व्यक्त गर्नुभएको थियो ।


SHARE THIS