दोहोरो अंकले ओरालो लाग्यो साताको अन्तिम दिनको सेयर बजार, कारोबारमा ऐतिहासिक रेकर्ड

काठमाडौं । दोहोरो अंकले ओरालो लागेर यो साताको सेयर बजार विदा भएको छ । सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकमले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

सेयर बजारले ऐतिहासिक उचाई हासिल गरिरहेका बेला उच्च नाफा गर्नेहरु शेयर बिक्री गरेर नाफा बुकिङमा लाग्दा कारोबार रकममा रेकर्ड कायम भएको हो ।

अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहँदा बैंकिङ समूहमा गिरावट आएपछि अन्तिम दिनको सेयर बजार सामान्य प्रभावित भएको छ ।

धेरैको नाफा घटेको यही रिपोर्टलाई आधारमा मानेर बिहीबार विशेषगरी बैंकिङ समूहमा धेरै गिरावट  देखिएको छ । जसको समग्र प्रभाव नेप्से परिसूचकमा देखिएको छ ।

बिहीबार अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरणमा धेरै जसो बैंकहरुको नाफा सन्तोषजनक देखिएको छैन । तथापि, केहीले भने कोरोना कहर र घट्दो स्प्रेड दरकाबीचमा पनि राम्रो मुनाफा आर्जन गरेका छन् ।

बिहीबार नेप्से परिसूचक १६.५५ अंकले ओरालो लागेर २४२५.२९ को विन्दुमा पुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स ४.३२ अंकले ओरालो लागेर ४४२.०६ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.६८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार दिनभर २०९ कम्पनीहरूको दुई करोड २१ लाख ५३ हजार ९८१ कित्ता सेयर ८२ हजार ३५२ पटक खरिदबिक्री हुँदा नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

जुन अघिल्लो दिनको तुलनामा झण्डै दुई अर्बले बढी हो । यो कारोबार अहिलेसम्मकै उच्च हो । बुधबार कुल २०८ कम्पनीको एक करोड ५२ लाख ८९ हजार २५९ कित्ता सेयर किनबेचबाट आठ अर्ब ६२ लाख ३८ हजार ७७० रुपियाँको कारोबार भएको छ ।

बिहीबार ५७ करोड ८८ लाख रुपियाँ बराबरको शेयर कारोबार भएर पनि नेपाल लाइफ सबैभन्दा धेरै कारोबार गर्नेमध्ये अग्रपँक्तिमा परेको छ । हिमालयन डिस्टिलरीको ३२ करोड १० लाख, पुनर्बीमा कम्पनीको ३२ करोड दुई लाख, एनआइसी एशिया बैंकको २८ करोड ६० लाख र शिखर इन्स्योरेन्सको २७ करोड ३१ लाख रुपियाँको शेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका कुल १२ उपसमूहमध्ये निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सबाहेक सबैको सूचक ओरालो लागेको छ । बैंकिङ उपसमूह सर्वाधिक २.३४ प्रतिशतले ओरालो लागेको फाइनान्स १.५५ प्रतिशत, विकास बैंक १.७२, हाइड्रोपावर १.२१, होटल १.२७, व्यापार ०.१७, म्युचुअल फण्ड १.७९, जीवन बीमा ०.२४, अन्य ०.५७ प्रतिशतले ओरालो लागेको छ । निर्जीवन बीमा ३.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन २.८२ र माइक्रोफाइनान्स २.१४ प्रतिशतले उकालो लागेको छ ।

अन्तिम दिन शिखर इन्स्योरेन्स र सुर्योदय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले उकालो लागेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ९.९८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९.९७ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ९.९७ प्रतिशतले बढेको छ ।

हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै ६.७८ प्रतिशतले ओरालो लागेको छ भने गुडविल फाइनान्सको ५.९७ प्रतिशत, मिथिला लघुवित्तको ५.८२ प्रतिशत, गुँरास लघुवित्तको ५.७७ प्रतिशत र प्रोग्रेसिभ फाइनान्सको ४.७९ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS