बुधबारदेखि कार्यान्वयनमा आयो ‘सेबोन आइसिटी अपरेशनल म्यानुअल, २०२०’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘सेबोन आइसिटी अपरेशनल म्यानुअल, २०२०’ बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । म्यानुअलमा सूचना प्रविधि सम्बन्धी संगठनात्मक व्यवस्था; तथ्याङ्क केन्द्र सञ्चालन तथा व्यवस्थापन; सूचना प्रविधि सञ्जाल पूर्वाधारको व्यवस्था; सूचना प्रविधि सम्बन्धी अनुसन्धान तथा विकासको व्यवस्था समावेश गरिएको छ ।

यस्तै बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रविधि उपकरणहरुको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्याङ्कन तथा हस्तान्तरन पूर्वको निरीक्षण तथा परीक्षण; हार्डवेयर, पावर तथा इनर्जीको स्तरीय एवम् प्रभावकारी व्यवस्था; सूचना, संचार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, संचार तथा प्रविधि सम्बन्धी तालिम तथा सचेतना अभिबृद्घि लगायतका व्यवस्थाहरु पनि अपरेशनल म्यानुअलमा समावेश गरिएको छ ।

म्यानुअल लागू गरिएसँगै बोर्डबाट धितोेपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनुपर्ने वार्षिक तथा त्रैमासिक विवरण लगायतका अन्य आवधिक विवरणहरु अनलाईन मार्फत पेश गर्न सक्ने गरीे बोर्डबाट मिति गत असोज २३ गतेदेखि सञ्चालनमा ल्याइएको ‘इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिट्राइभल सिस्टम–इआरआरएस’ को प्रयोग प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डले जनाएको छ ।

म्यानुअल कार्यान्वयनमा आए पश्चात बोर्डको आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने, सूचना प्रविधिको स्तर अभिवृद्घि हुने र सूचना प्रविधिको स्तरीय प्रयोग एवं प्रभावकारी व्यवस्थापनबाट बोर्डको संस्थागत क्षमता अभिबृद्धि भई बजार नियमन तथा सुपरिवेक्षणमा कार्य प्रभावकारी हुने बोर्डको अपेक्षा छ ।

बोर्डको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागू गर्ने तथा सूचना प्रविधि नीतिमा उल्लेखित कार्यहरु सम्बन्धित पक्षहरुबाट कार्यान्वयन योजना बनाई लागु गर्ने व्यवस्था गरिए बमोजिम सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग समेत समन्वय गरी सो म्यानुअल तयार गरिएको बोर्डले जनाएको छ ।


SHARE THIS