‘डिजिटल भुक्तानी प्रवद्र्धन गर्न सहकार्य आवश्यक’

काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको पर्याप्त सम्भावना र अवसर रहेकोले यसको प्रवद्र्धनका लागि सबै सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको विज्ञहरुले बताएका छन् । डिजिटल इकोनोमी कन्क्लेभ २०२० अन्तर्गत चौंथो सेसनको छलफलका सहभागीहरुले बैंक तथा वित्तीय संस्थामात्र नभई ‘फिनटेक’ आफैमा नयाँ उद्योग भएकोले यसको प्रवद्र्धन सहकार्य र समझदारीबाट मात्र सम्भव हुने बताएका हुन् ।

फिफ्टीफोर आई भेन्चरका संस्थापक दिप्त शाहले सञ्चालन गरेको उक्त सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकका रिना चन्दले लामो समयदेखिको सहकार्यकै कारण कार्ड तथा डिजिटल भुक्तानीमा अहिलेसम्म महत्वपूर्ण उपलब्धी हासिल भएकोले भविष्यमा यसलाई विस्तार गर्न सरकार, नियामक निकायदेखि बैंक तथा वित्तीय संस्था र नेटवर्क प्रदायकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘कार्ड प्रविधिमा समय समयमा आवश्यक सुधार र त्यसको प्रयोगका लागि चाहिने ज्ञानका सम्बन्धमा पनि सहकार्य आवश्यक हुन्छ । यस्तो अवस्थामा हाम्रा साझेदारहरुले यसका लागि सहयोग पु¥याइरहेका हुन्छन् । र हामी पनि साझेदारीमा यहिं कुरा खोज्छौं ।’ त्यस्तै उहाँले डिजिटल भुक्तानी प्रयोग बढ्दै जाँदा प्रयोगकर्ताको डेटा सुरक्षा महत्वपूर्ण हुने भएकोले यसमा सबै पक्ष गम्भिर हुनुपर्ने भनाई राख्नुभयो ।

भिजा इन्टरनेशनलका सौम्य बासुले डिजिटल भुक्तानीजस्तो व्यापक र जटिल प्रणालीमा कुनै एक व्यक्ति वा संस्थाको मात्र प्रयास पर्याप्त नहुने भएकोले धेरै पक्षहरुको लगानी र सहकार्य अनिवार्य शर्त हुने बताउनुभयो । करिब ४ करोड मोबाइल ग्राहक रहेको नेपालमा डिजिटल भुक्तानीको बजार भविष्यमा ठूलो हुने भएकोले यसमा नीतिगत सहजीकरण पनि हुँदै जानुपर्ने उहाँको भनाई थियो । ‘अहिले हामीले ५० ओटा विभिन्न संस्थासँग नेपालमा काम गरिरहेको छ, त्यो सबै साझा सहकार्यले नै सम्भव भएको हो । नगदलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने हामी सबैको उद्देश्यले यो सम्भव भएको हो’ उहाँले भन्नुभयो । 

नेसनल पेमेन्ट कर्र्पोरेसन अफ इन्डियका रितेश शुक्लाले नेपाल र भारतबीच डिजिटल भुक्तानीका सन्दर्भ समान किसिमका अवसर र चुनौति रहेकोले दुई देशका केन्द्रिय बैंकहरुको सहकार्यले डिजिटल भुक्तानी प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । डिजिटल भुक्तानी सेवा दिंदा प्रयोगकर्ताको आवश्यकता र समयको माग अनुसार परिमार्जन पनि उत्तिकै आवश्यक पर्ने उहाँको भनाई थियो ।

सेसनका सहभागीहरुले फिनटेक उद्योगका सबै पक्षलाई सहभागि गराउन सक्ने गरी नेटवर्क निर्माण गरिनुपर्नेमा जोड दिएका थिए । अहिलेको समयमा डिजिटल भुक्तानीका कुनै पनि उत्पादन स्थानीय बजारलाई मात्र नहेरेर विश्व बजारमा प्रयोग गर्न सकिने किसिमले निर्माण गरिनुपर्ने उनीहरुको सुझाव थियो । त्यस्तै डिजिटल भुक्तानीमा डेटा सुरक्षा हुन नसकेमा प्रयोगकर्ताको विश्वास हट्ने भएकोले यसमा फिनटेक उद्योगका सबै पक्ष संवेदनशील हुनुपर्ने उनीहरुको भनाई थियो ।


SHARE THIS