अब रेमिट्यान्स मोबाईल र ईन्टरनेट बैंकिङ, वालेटजस्ता विद्युतीय माध्यमबाट पनि आउने

काठमाडौं । रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीहरुले नेपालमा आफन्तलाई पूर्ण रुपमा डिजिटल माध्यमबाट रेमिट्यान्स (विप्रेषण) पठाउन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले विदेशमा कार्यरत नेपालीहरुले नेपालमा रेमिट्यान्स पठाउँदा मोबाईल तथा ईन्टरनेट बैंकिङ, ईलेक्ट्रोनिक कार्ड, डिजिटल वालेटजस्ता डिजिटल माध्यमबाट पठाउन सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै रेमिट्यान्समा गरेको पूर्ण डिजिटाईजेशनको व्यवस्थाले विदेशबाट नेपालीहरुले पठाएको रेमिट्यान्स बैंक तथा रेमिट्यान्स कम्पनीमा गएरै लिनुपर्ने र विदेशबाट खातामा मात्रै पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

यस्तै रेमिट्यान्स कम्पनीहरुले पनि डिजिटल माध्यमबाट रकम भित्रयाउन सक्ने भएका छन् ।

डिजीटल सुविधा उपभोगका लागि विप्रेषण प्राप्त गर्ने नेपालीले नेपालका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुले प्रदान गर्ने वालेट, मोबाईल तथा ईन्टरनेट बैंकिङ जस्ता डिजिटल माध्यमको सुविधा प्रयोग गरेको हुनुपर्ने छ ।

यो सुविधाले तत्कालै विदेशबाट पठााएको रकम हातहातै पुग्ने र के कति प्राप्त भयो त्यो थाहा हुन्छ । यसअघिको व्यवस्थामा बैंक खाता नम्बर गल्ती हुने, रेमिट्यान्स झिक्दा नागरीकता जस्ता परिचयपत्र देखाउनु पर्ने जस्ता समस्या पनि अन्त्य भएको छ ।

विदेशबाट अरु समयमा भन्दा विशेष गरेर दशैं आसपास नेपालमा धेरै रेमिट्यान्स भित्रिने भएकाले यसैलाई लक्षित गरेर विप्रेषणमा डिजिटल सुविधाको व्यवस्था गरिएको हो ।

‘याृ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाबाट सञ्चालित मोबाईल तथा ईन्टरनेट बैंकिङबाट विप्रेषण प्राप्त गर्न सकिन्छ । साथै, ई सेवा, आईएमई पे, फेन पे, खल्ती जस्ता सञ्चालनमा रहेका १४ ओटा भुक्तानी प्रदायक संस्थाहरको वालेटमार्फत पनि विप्रेषण सुविधा प्रयोग गर्न सकिने छ ।

राष्ट्र बैंक विप्रेषण विनियमाबली २०६७ को साविकका व्यवस्था अतिरिक्त यस्तो कारोबार गर्ने संस्थाले नौ बुंदे शर्तसहित सम्झौता गरेपछि मात्र डिजिटल माध्यमबाट नेपाल रकम भित्र्याउन सक्ने छन् । शर्त अन्तर्गत नेपालीहरु कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालनमा रहेको डिजिटल पेमेन्ट उपकरण सञ्चालन गर्ने संस्थासंग आवद्ध हुनुपर्ने छ ।

विदेशको कानूनअनुसार दर्ता भइ इच्छुक संस्थाहरुले त्यस देशको नियामक निकायबाट यस्तो रेमिट्यान्स कारोबार गर्न अनुमति लिनुपर्ने छ । साथै, यस्तो डिजिटल पेमेन्ट उपकरणबाट क्रस बोर्डर कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेयरमा सुरक्षा व्यवस्था अपनाउनु पर्ने छ ।


SHARE THIS