बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपियाँ तरलता प्रशोचन गरिँदै

काठमाडौं । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र बैंकको ढुकुटीमा तानेको हो ।
मुलुकमा कोरोना संक्रमणसँगै गरिएको लकडाउनले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको छ । बैकिङ प्रणालीमा अहिले एक खर्ब ९१ अर्ब रुपियाँ हाराहारीमा तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ । सोही कारण तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपियाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो ।
राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचना अनुसार जारी गरिएको सात दिने अवधिको यस रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्ने व्यवस्था गरिएको थियो ।
बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खच्ने) रिभर्स रिपो जारी गर्दै आएको छ ।
आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा रिपोमार्फत रु.११५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत रु.१०३ अर्ब २८ करोड गरी कुल रु.२१९ अर्ब १५ करोड तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत रु.१४१ अर्ब २९ करोड र स्थायी तरलता सुविधामार्फत रु.१४६ अर्ब २८ करोड गरी कुल रु.२८७ अर्ब ५७ करोड तरलता प्रवाह भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ को एघार महिनामा खुला बजार कारोबारमार्फत कुल रु.७८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर तीन अर्ब ५९ करोड खुद खरिद गरी रु.४१७ अर्ब ३३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ९२ करोड खुद खरिद गरी रु.३३० अर्ब ७२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब ४८ करोड बिक्री गरी रु.४०१ अर्ब तीन करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ९० करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु.४७८ अर्ब १४ करोड बराबरको भारतीय रुपियाँ खरिद गरिएको थियो ।

SHARE THIS