किशोर प्यानल नेपाल उद्योग वाणिज्य महासंघको चुनावी मैदानमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालले टिम सहित चुनाबी ऐजेण्डा सार्वजनिक गरेकै साँझ प्रधानको समूहले पनि आफनो टिम सार्वजनिक गरेको हो ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफु नेपाल उद्योग वाणिज्य महासंघमा काम गर्नको लागि आएको बताउँदै काम गर्ने टिमलाई जिताउन उद्योगी व्यवसायीलाई आग्रह पनि गर्नुभयो ।
आफ्नो समूहको भेला गरी सो आह्वान गर्दै उहाँले आफु महासंघमा राजनीति गर्नका लागि नआएको प्रष्ट्रयाउँदै काम गर्नका लागि बलियो टिमको चाहिएको र काम गर्ने टिमलाई जिताउन आग्रह गर्नुभयो ।
ुआफु फोटो मात्रै झुन्ड्याउन महासंघमा नआएको भन्दै उहाँले भन्नुभयो काम गर्नका लागि आएको हुँ, काम गर्न बलियो टिम आवश्यक छ, यसैले किशोर प्रधानको टिमलाई जिताउनुहोस् ।
गोल्छाले वरिष्ठ उपाध्यक्षमा रहेर तीन वर्ष काम गर्दा विधान संशोधनको तलबार देखाएर यातना दिने काम गरेको समेत आरोप लगाउँदै उहाँले भन्नुभयो मलाई तीन वर्षसम्म महासंघमा पीडा दिइयो, म उनीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । अझै म अध्यक्ष भएपछि छ महिनामा हटाउने योजना बनेको सुनेको छु। यस्ता प्रवृति विरुद्ध लड्न हामी सबै एकजुट हुन आवश्यक छ ।
यस्तै महासंघका पूर्व अध्यक्ष रवीभक्त श्रेष्ठले आफुले चुनाव नचाहेको बताउँदै सहमतिका लागि दुवै जना राखेर धेरै पटक छलफल गर्दा पनि कुरा नमिलेपछि चुनावी वातावरण बनेको भन्दै चुनावी मैदानमा उत्रिएका सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरी पूर्व अध्यक्ष कुश कुमार जोशीले यतिबेला उद्योग व्यवसायी धेरै मर्कामा परेको बताउदै महासंघले धेरै बिषय उठाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले अहिले विषम परिस्थितिमा महासंघको वास्तविक एजेण्डा बोक्ने टिमलाई जिताउन पनि आग्रह गर्नुभयो ।
महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले संयमित भएर चुनाबमा लाग्नुपर्ने धारणा राख्दै यो निर्वाचनलाई तडक भडकबाट टाढा राख्न र एकअर्काप्रति आरोप प्रत्यारोपणमा नउत्री नमूना निर्वाचन बनाउन आग्रह गर्नुभयो ।
उहाँले गएको निर्वाचनमा भवानी राणाले शेखरलाई आफ्नो टिममा राख्दा जायेज हुने तर अहिले शेखरले किशोरलाई आफ्नो टिममा राखेर हिँड्दा कुनै आपत्ती नगर्न समेत आग्रह गर्नुभयो । ुशेखरबाट रिजल्ट चाहिन्छ भने उहाँलाई सहयोग गरौुं, मुरारकाले भने ।
एशोसिएटका उपाध्यक्ष उम्मेदवार ज्योतिले वेसरेट र स्प्रेडदर घटाउन सुझाब दिएको बताउँदै पाँच करोड रुपैयाँसम्मको पुनर्कर्जा बैंकबाटै दिने व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको समस्या सरकारले नसुनेको बताउँदै त्यसका विरुद्ध पनि लड्न तयार रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति लगायतले आफ्नो टीमलाई जिताउनपर्ने बताएका थिए ।
महासंघको आगामी नेतृत्वका लागि साउन २६ र २७ गते साधारणसभा हुँदैछ। यो साधारणसभामा नयाँ नेतृत्व चयन गर्नेछ ।

SHARE THIS