आवश्यक रकम जुटाउन राष्ट्र बैंकले २४ अर्बको ट्रेजरी बील बिक्री गर्दै, नौ महिनामा झण्डै १८७ अर्ब तरलता व्यवस्थापन


काठमाडौं । सरकारलाई आवश्यक रकम जुटाउन नेपाल राष्ट्र बैंकले २४ अर्बभन्दा बढीको ट्रेजरी बील बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले असार ८ गते सोमबार २४ अर्ब तीन  करोड रुपियाँ बराबरको ट्रेजरी बील बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।
यसअघि जारी गरेर मिति समाप्त भएको नौं अर्ब तीन करोड रुपियाँको ट्रेजरी बीलहरुको नवीकरण गर्न लागेको राष्ट्र बैंकले १५ अर्ब रुपियाँको नयाँ ट्रेजरी बील पनि बिक्री गर्न लागेको हो ।
बिक्री गर्न लागिको २८ दिन अवधिको पाँच अर्ब रुपियाँको ट्रेजरी बील साउन ६ गते परिपक्व हुने छ भने ९१ दिन अवधिको १४ अर्ब तीन करोड रुपियाँ बराबरको ट्रेजरी बील २०७७ असोज ६ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, १८२ दिन अवधिको पाँच अर्ब ८३ करोड रुपियाँ बराबरको ट्रेजरी बील २०७७ पुस ७ गते परिपक्व हुनेछ ।
बोलकबोलमार्फत बिक्री गर्न लागिएको ट्रेजरी बीलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणालीमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । असार ९ गते मङ्गलबार जारी हुने ट्रेजरी बीलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बीलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बील एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बील बिक्री गरिँदै आएको छ । राष्ट्र बैंकले यसअघि असार १ गते पनि ९१ दिन अवधिको चार अर्ब रुपियाँको ट्रेजरी बील बिक्री गरेको थियो ।
नौ महिनामा झण्डै १८७ अर्ब तरलता व्यवस्थापनआर्थिक वर्ष २०७६/७७ को नौ महिनामा रिपोमार्फत रु.११३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधा मार्फत रु.७३ अर्ब छ करोड गरी कुल रु.१८६ अर्ब ८३ करोड तरलता प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत रु.३९ अर्ब ५३ करोड र स्थायी तरलता सुविधामार्फत रु.९ अर्ब ७२ करोड गरी कुल रु.४९ अर्ब २५ करोड तरलता प्रवाह भएको थियो । आर्थिक वर्ष २०७६÷७७ को नौ महिनामा खुला बजार कारोबार मार्फत कुल रु.५८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर २ अर्ब ६७ करोड खुद खरिद गरी रु.३०५ अर्ब ८६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब २१ करोड खुद खरिद गरी रु.२५२ अर्ब २२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्री गरी रु.३५० अर्ब ९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १६ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु.३९३ अर्ब ७७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।

SHARE THIS