नेपालको शेयर बजार सबैभन्दा बढी समय बन्द भएको भनी गिनिजबुकमा नाम लेखाउने अवस्थामा पुग्यो

काठमाडौं । सेयर बजारमा अनलाईन कारोबार गर्दा कनेक्ट आईपीएसबाट गरिने भुक्तानीको सीमा हटाईनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।
आइतबार आगामी मौद्रिक नीतिमा पूँजी बजारका समावेश हुनुपर्ने विषयमा आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताहरुले यस्तो सुझाव दिएका हुन् ।
मार्जिन कर्जाको सीमालाई ८० प्रतिशत राख्नुपर्ने पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा प्रोख्रेलले  बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रोखरेलले सेयर कर्जामा असुल्दै आईएको चर्को ब्याजलाई पनि घटाउनुपर्ने माग गर्नुभयो । ‘लगानीकर्ताको मागलाई बोर्डले अनिवार्य रुपमा पुरा गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
संघकी अध्यक्ष पोखरेलले तीन महिना बजार बन्द हुँदा सबैभन्दा बढी लगानीकर्ता पीडित भएको गुनासो गर्नुभयो ।  नियामक निकायको कमजोरीका कारण बजार खुल्न नसकेको उहाँको आरोप थियो । सेयर बजारको लागि नीतिगत सुधार आएको छ । तर, कार्यन्वयन हुन नसकेको उहाँले बताउनुभयो  । पूर्ण अनलाइन भएको खण्डमा बजार बन्द गर्न नपर्ने भएपनि यसमा नियामक निकायले ध्यान दिन नसकेको उहाँले दाबीगर्नुभयो ।
नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले शेयर बजारमा अहिले ग्रहण लागि रहेका बताउनुभयो । बजारमा लागेको ग्रहण हटाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकमा पुगेको उहाँले  बताउनुभयो । बेबमिनारमा बोल्दै अध्यक्ष रानाभाटले लामो समयदेखि बन्द रहेको बजार खुला गर्नका लािग राष्ट्र बैंकले पहलकदमी लिनुपर्ने सुझाव दिनुभयो । बजारका प्रत्यक्ष नियमनकारी निकायहरु राष्ट्र बैंकमा नै निर्भर भएकोले बजार सञ्चालन हुन नसकेको उहाँको भनाई थियो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाउनुपर्ने,  मार्जिन कलमा सहुलियत दिनुपर्नेलगायतका विषयमा मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव दिनुभयो । यस्तै शेयर धितोमा गएको कर्जाको ब्याजमा तिर्ने समय थप गर्नुपर्ने र धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबार प्रवाह गर्ने ऋणको ब्याजदर बैंकले प्रवाहगर्ने कर्जाको भन्दा कम हुने व्यवस्था गर्न सुझाव दिनुभयो ।
विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमालाई हटाउन समेत उहाँको सुझाव छ । अध्यक्ष रानाभाटले अहिले मार्जिन ल्याण्डिङको सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै उहाँले बोण्ड मार्केटलाई सहज रुपमा कारोबार गर्ने व्यवस्था मिलाउनुपर्ने, गैरआवासीय नेपालीहरुलाई पनि दोस्रो बजारमा कारोबार गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै शेयर बजारका विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले नेपालको शेयर बजार सबैभन्दा बढी समय बन्द भएको भनी गिनिजबुकमा नाम लेखाउने अवस्थामा पुगेको बताउनुभयो । लामो समयसम्म शेयरबजार बन्द भएको प्रति नियामकहरुको आलोचना गर्दै उहाँले यस्तो धारणा राख्नुभयो । शेयर बजारले पूँजी निर्माण र तरलता सिर्जना गर्नुपर्ने भए पनि नेपालमा अझै त्यस्तो हुन नसकेको धारणा राख्नुभयो । नेपालको पूँजी बजारबाट लिक्विडिटी भन्ने चिज नै हराउने अवस्थामा पुगेको र झण्डै सय दिन बजार बन्द गराएर गिनिज बुकमा नाम लेखाउनुपर्ने अवस्थामा पुगेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
नेपालको शेयर बजार सरकार, धितोपत्र बोर्ड, नेप्सेलगायतका नियमनकारी निकायहरुबाट नभई पूँजी बजार खोल्ने वा बन्द गर्ने निर्णय केहि सीमित लगानीकर्ताहरुको हातमा पुग्नु बजारको सबैभन्दा कमजोर र दुखद पक्ष भएको उहाँले उल्लेख गर्नुभयो । शेयर बजार स्वार्थ समूहको कब्जामा पुगेको उहाँको भनाई थियो ।
२७ वर्षको इतिहासमा नेपालको शेयर बजार अझै दयनिय अवस्थामा रहेको, इक्विटी मार्केटमा मात्रै केन्द्रित रहेको बताउँदै उहाँले बोण्ड मार्केट, रियल सेक्टरका कम्पनीहरु भित्रयाउने पहल गर्न नसकेको आरोप लगाउनुभयो । निक्षेपभन्दा बोण्डमा बढी कर तिर्नुपर्ने अवस्था, डिजिटल पेमेन्ट गेटवेको अभाव, संस्थापक कारोबारको सहज कारोबार हुन नक्सनुलगायतले बजारमा विस्तार हुन नसकेको उहाँले बताउनुभयो ।
अहिलेको एनएफआरएस प्रणालीले सरकारले कर पाउने, कर्मचारीले बोनस पाउने लगानीकर्ताहरुले लाभांश नपाउने अवस्था आउन सक्ने उहाँले बताउनुभयो । त्यस्तै लगानीकर्ता तिवारीले गैर आवासीय नेपालीहरुलाई यत्तिकै अवस्थामा आउ लगानी गर भन्दैमा आउन सक्ने अवस्था नरहेको उहाँको भनाई छ । यहि बस्ने लगानीकर्ताहरुले सहज रुपमा लगानी गर्ने र कारोबार गर्ने अवस्था नभइरहेको अवस्थामा बाह्य लगानीकर्तालाई भि¥याउँछु भन्ने कोरा कल्पनामात्र भएको उहाँले बताउनुभयो ।
धितोपत्र बोर्डको पूर्व अध्यक्ष सुरविर पौडेलले धितोपत्र बजारलाई राष्ट्र बैंक, सरकारले कम प्राथमिकतामा राखेको बताउनुभयो । अब वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउनुपर्ने उहाँको भनाइ छ । सूचिकृत हुन आउनेलाई कर्जामा सहुलियत दिने नीति आवश्यक रहेको र यो भएको खण्डमा बजारको विकासमा सघाउ पुग्ने बताउनुभयो । राष्ट्र बैंक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको प्रभाव बजारमा पर्ने उहाँको दाबी छ । नियामक निकायको रुपमा धितोपत्र बोर्डले काम गरिरहेको छ । तर, एकै पटक रातारात काम गर्न नसकिने उहाँले बताउनुभयो । ऐनमा भएको काम गर्दै जाने हो भने बोर्ड र बजारको विश्वसनियता बढदै जाने उहाँले बताउनुभयो ।
बेबिनारमा बोल्दै डा.गोपाल प्रसाद भट्टले पूँजी बजारले सबै कामको लागि मौद्रिक नीतिको मुख ताक्नु दुखद भएको बताउनुभयो । पूँजी बजारको नियामक निकाय भनेको धितोपत्र बोर्ड हो । त्यसैले बोर्ड आफैले बजारको विकासका लागि आवश्यक उपकरण, लगानीकर्ताको सुरक्षा, आवश्यक तरलता व्यवस्थापन लागयतका विषयमा बोर्डले आफैले व्यवस्थापन गर्न उहाँको सुझाव थियो । ‘नेपालमा कर्जा दिने पनि बैंक तथा वित्तिय संस्था, लगानीकर्ताको उपकरण जारी गर्ने पनि बैंक तथा वित्तिय संस्था, मार्कैट सञ्चालन गर्ने पनि वित्तीय संस्था’, उहाँले भन्नुभयो । बजार विकासमा अन्य नीजि क्षेत्रहरु छन् । जसलाई परिचालन गर्नुपर्ने उहाँको जोड थियो ।

SHARE THIS