नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति लिने प्रकृया अगाडि बढाउन बोर्डको निर्देशन

काठमाडौं । स्टक डिलरको अनुमति प्रकृया शीघ्र अघि बढाउन नागरिक लगानी कोषलाई नियामक निकायले निर्देशन दिएको छ ।
नेपाल धितोपत्र बोर्डले कोषलाई स्टक डिलरको अनुमति प्रकृया शीघ्र अघि बढाउन असार १ गते पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।
नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शीघ्र अगाडि बढाउन पत्राचार गरेको बोर्डले जनाएको छ ।
पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने नेपाल सरकारको बजेट बक्तव्यमा समेत उल्लेख भएको थियो ।
नेपालको पूँजी बजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेकोले धितोपत्रको दोस्रो बजारमा बेलाबखत उतारचढाव आइरहेको छ ।
संस्थागत लगानीकर्ताले अध्ययन तथा अनुसन्धानमार्फत् गर्ने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशीलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको भनाई छ ।
बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी गत फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमाबली, २०६४ मा संशोधन गरिसकेको छ ।

SHARE THIS