आर्थिक बृद्धिको लक्ष्य चुनौतीपूर्ण भएको पूर्वअर्थमन्त्रीहरुको टिप्पणी


काठमाडौं । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेट परम्परागत रहेको तथा यसमा राखिएका अधिकांश लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको पूर्व अर्थमन्त्रीहरुले बताएका छन् । बजेटमा राखिएका आर्थिक वृद्धि, आन्तरिक राजस्व, वैदेशिक सहायता तथा सार्वजनिक खर्चको लक्ष्य महत्वाकांक्षी भएको उनीहरुको टिप्पणी छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा १४ खर्ब ७४ अर्बको बजेट ल्याएका थिए । जसमा ७ प्रतिशतको अर्थिक बृद्धि र सोही बराबरको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखिएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पोस्ट बजेट भर्चुअल अन्र्तक्रिया (वेबिनार)मा सहभागी पूर्व अर्थमन्त्रीहरुले कोभिड –१९ को विषय परिस्थितिमा पनि बजेट परम्परागत र बढी महत्वाकांक्षी भएर ल्याइएको बताएका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक तथा सामाजिक रुपमा विकास गर्न केही दीर्घकालीन सपना देख्नुपर्ने भन्दै आगामी वर्षको बजेट परम्परागत ढंगले बनाइएको बताउनुभयो । शिक्षा स्वाथ्य क्षेत्रको दायित्व सरकारले लिनुपर्ने अवस्था आएको भन्दै गुणात्मक परिवर्तन, संकट समाधान नया सम्भावनाका लागि परम्परागत बजेटबाट सम्भव नहुने बताउनुभयो  । अर्थमन्त्रीको बजेटलाई दिशाहीनको संज्ञा दिँदै उहाँले न समाजवादउन्मुख न बजारउन्मुख केबल बिचमा आएको बताउनुभयो ।
“प्रधानमन्त्री रोजगारी कार्यक्रममा बजेट पनि बढाइएको छ तर विगतमाजसरी हेलमेट लगाएर झार उखेल्ने काम भयो भने न त लक्षित वर्ग लाभान्वित हुन्छ त सरकारका ढुकुटी नै बच्छ, यस्ता कार्यक्रम ल्याउँदा सोचर मात्रै ल्याइनुपर्छ,” उहाँले भने, “अहिलेको अवस्थामा नेपालमा कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशत वैदेशिक ऋण छ यसलाई बढाएर ६०÷६५ प्रतिशतसम्म पु¥याउन सकिन्छ, कठिन अवस्थामा ऋण लिन पनि डराउनु हुँदैन ।” सरकारले बेरोजगारी समस्या हल गर्नसक्ने गरी बजेट ल्याउन नसकेको र ल्याएको पनि छरिएको उहाँले बताउनुभयो ।
पूर्वअर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्षको बजेट धेरै प्रचारात्मक र आश्वासनले भरिएको टिप्पणी गर्नुभयो । रोजगारी, कृषि, उद्यममा धेरै आश्वासन दिइए पनि कार्यान्वन गर्न सकिने अवस्था नरहेको उहाँको भनाई छ । बजेट अत्यन्त महत्वाकांक्षी र भविष्यका पिंढीलाई दिशा दिन सफल नरहेको उहाँले बताउनुभयो । आन्तरिक ऋणको लक्ष्यप्रति आपत्ति जनाउँदै उनले भने, “विगतमा कुल गार्हस्थ्य उत्पादनको २ देखि ३ प्रतिशतभन्दा धेरै आन्तरिक ऋण लिने प्रचलन थिएन, अहिले ५ प्रतिशतभन्दा धेरै छ । आन्तरिक ऋण बढ्दै जाँदा बजारमा तरलता अभाव हुनुका साथै रोजागारी सिर्जनादेखि उद्यम व्यवसाय विस्तारमा प्रत्यक्ष असर पर्छ ।” उहाँका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले नेपालमा पनि अवस्था जटिल बनाउँदै गएको छ । सबै उद्योग व्यवसाय ठप्प छन्, अर्थतन्त्रले पुनर्जीवन तुरुन्त प्राप्त गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य महत्वाकांक्षी भएको उहाँले बताउनुभयो । सरकारले कर्पाेरेट कर नघटाएको, विद्युत खेर जाने अवस्था आउँदा पनि विद्युतीय सवारीसाधानमा  भन्सार बढाउनु उचित नभएको महतको भनाइ छ ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अवस्था, मानव स्वास्थ्य र अर्थतन्त्रको स्वास्थ्य ख्याल गर्दै बजेट ल्याइएको भन्दै सरकारको बचाउ गर्नुभयो । साधारण खर्चमा भएको कटौती सकारात्मक भएको भन्दै अहिलेको अवस्थामा स्वाथ्य क्षेत्रको बजेटलाई बढाएर ९२ अर्ब रुपैयाँ पु¥याइनु सकारात्मक भए पनि अस्पताल निर्माण गरेर मात्रै हुँदैन उक्त अस्पतालमा डाक्टरहरु बस्न सक्ने अवस्था गराउन निकै चुनौतीपूर्ण भएको उहाँको भनाइ छ । रोजगारीका क्षेत्रमा पनि सरकारले सकारात्मक कदम चालेको भन्द कृषि क्षेत्रमा बजेट बढेको बताउनुभयो । यद्यपि, आगामी वर्षको बजेटमा झन्डै ९ खर्ब राजस्वको लक्ष्य लिएको र यसबाट चालू खर्च धान्न मुस्किल हुनसक्ने उहाँको भनाइ छ । सरकारले वैदेशिक सहायताको अपेक्षा ठूलो राखेको तर विगतको अभ्यासले त्यति राम्रो नदेखाएको उल्लेख गर्दै पूर्वमन्त्री पाण्डेले कोरोनाका कठिन अवस्थामा पनि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नु निकै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “यो लक्ष्य सामान्य अवस्थाका लागि मात्रै उचित हो” अर्कोतर्फ साढे ७ लाख संख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारले राखेको छ । विभिन्न शिर्षकमा छरिएका रकमलाई एकै ठाउँमा ल्याई ४÷५ वटा बैंकबाट नगरपालिक वा गाउँपालिकाको अपनत्व रहने गरी सीप भएका व्यक्तिलाई ऋण प्रवाह गरेको भए बढी प्रभावकारी हुने उहाँले बताउनुभयो ।

SHARE THIS