कोभिड १९ अपडेटः नेपालमा ४८ र विश्वभर २७ लाख बढी संक्रमित


काठमाडौं । थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।  विहीबार थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ ।
विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजार ७४ जनाको मृत्यु भएको छ भने २७ लाख २६ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ । एशियाली राष्ट्रहरुको तुलनामा युरोपेली मुलुकहरुमा मृतकको संख्या उच्च रहेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५४९ जना, स्पेनमा २२ हजार १५७ जना, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८ जना, बेल्जियममा ६ हजार ४९० जना, जर्मनीमा ५ हजार ५७५ जना, नेदरल्यान्ड्समा ४ हजार १७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा १ हजार ५४९ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ४८१, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ३३१ जना, मेक्सिकोमा १ हजार ६९ जना, भारतमा ७२२, इन्डोनेसियामा ६४७ जना, इक्वेडरमा ५६० जना र रसियामा ५५५ जनाको मृत्यु भएको छ ।
संक्रमणको आधारमा स्पेनमा २ लाख १३ हजार, इटाली १ लाख ८९ हजार, फ्रान्स १ लाखद ५८ हजार, जर्मनी १ लाख ५३ हजार, बेलायत १ लाख ३८ हजार र टर्कीमा १ लाख १ हजार बढीमा कोभिड १९ संक्रमण फैलिएको छ ।

तीन जना निको भएर घर फर्किए
बिहीबार एकैदिन तीन जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । निको हुनेमा बेलायतबाट आएका पेप्सीकोला अपार्टमेन्टमा बस्ने ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष छन् । उनीहरू आमा छोरा हुन् ।
गत वैशाख २ गते पाटन अस्पताल भर्ना भएका उनीहरूलाई बिहीबार दिउँसो अस्पतालले डिस्चार्ज गरेको हो । यस्तै धनगढी लम्कीचुहाकी ६५ वर्षीय महिला पनि कोरोनाबाट निको भएकी छिन् ।
वीरगन्जबाट कैलाली पुगेकी उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई पनि आजै धनगढीस्थित सेती प्रादेशिक अस्पतालले डिस्जार्च गरेको हो । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० पुगेको छ ।
गत चैत ४ गते बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवतीको पनि पाँचौ परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ४८ मध्ये १० जना निको भएका हुन् । बाँकीको भने विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

SHARE THIS