आर्थिक विकास र वित्तीय बजारको विकास एकअर्काका परिपूरक हुन्

प्रा. डा. सुरवीर पौड्याल, पूर्वअध्यक्ष, नेपाल धितोपत्र बोर्ड
प्रा. डा. शूरवीर पौडयाल नेपाल धितोपत्र बोर्डको पूर्व अध्यक्ष हुनुहुन्छ । नेपाल, भारत र क्यानडाबाट कानून र अर्थशास्त्रमा उच्च शिक्षा प्राप्त गरेका उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरू र सेडामामा गरी झण्डै चार दशकको समय शिक्षण तथा अनुसन्धान गरिसक्नुभएका पूँजी बजारका अध्येता पौडेलसँग नेपालको पूँजी बजारका समस्या, सम्भावना र अवसर लगायतका विषयमा  गरिएको कुराकानीः
मुलुकको आर्थिक विकासमा पूँजी बजारको भूमिका कस्तो हुन्छ ?
आर्थिक विकास र वित्तीय बजारको विकास एकअर्काका परिपूरक हुन् । विकासोन्मुख मुलुक भएकोले नेपालको विकासमा वित्तीय बजारको टेवा महत्वपूर्ण रहन्छ र रहनुपर्छ । हाम्रो वित्तीय बजारको ठूलो हिस्साको रुपमा पूँजी बजार रहेको छ । यसर्थ नेपालको विकासमा चासो र चिन्ता राख्ने हरेकले पूँजी बजारको स्वस्थ र दिगो विकासको बारेमा सोच्न जरुरी हुन्छ । 
वर्तमान स्टक मार्केटको ट्रेण्ड कस्तो छ ?
सरकारले प्रस्तुत गरको आर्थिक वर्ष २०७६÷७७ को बजेट समग्र पूँजी बजारलाई पनि उत्साहित बनाउने गरी आएको छ । सरकारले शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर घटाएर शेयर लगानीकर्ताहरुलाई राहत पुग्ने गरी पूँजीगत लाभकर हालको साढे सात प्रतिशतबाट पाँच प्रतिशतमा झार्ने, गैर आवासिय नेपालीलाई शेयर बजारमा भित्रयाउने, सबै कारोबार विद्युतीय माध्यमबाट गर्नेलगायतका कुरासँगै शेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरको दरलाई घटाएइको छ । शेयर लगानीकर्ताहरुलाई राहत पुग्ने गरी पूँजीगत लाभकर हालको साढे सात प्रतिशतबाट पाँच प्रतिशतमा झारिएको हो । तर अहिलेको ट्रेण्ड हेर्दा पर्ख र हेरको अवस्थामा भएको जस्तो देखिन्छ । माथि जान सकेको छैन र तल जाने क्रम भइरहेको छ ।
यो प्राकृतिक हो कि अप्राकृतिक हो ?
यो क्षेत्रको प्रवृति नै हो । सामान्य घटबढ त भइहाल्छ । माथि गएको गयै र तल गएको गयै हुने हुँदैन । 
माग, आपूर्ति र राजनीतिक अवस्था के छ त्यसमा निर्भर गर्ने हो । नियामक निकायले ल्याएका नीतिहरु के कस्ता छन् । सबै कुरा पनि हुन्छन् । अहिले सरकारलृ बजेटमार्फत यसलाई प्रोत्साहित गर्ने खालका सुधारका कुरा समेट्दा समेट्दै पनि खासै उत्साहप्रद अवस्था देखिएको छैन ।
के कारणले यस्तो भएको होला ?
मुलुकमा दुई तिहाइको सरकार भएपनि राजनीतिक रुपमा स्थिरता जस्तो देखिएन । यसले प्रभाव पारेको हो कि । ठाउँ ठाउँमा बम पड्किने, अर्कातिर आन्दोलन गर्ने भनिरहेका छन् । त्यसले गर्दा राजनीतिक स्थिरता आएको जस्तो देखिए पनि नआउने हो हि भन्ने त्रास लगानीकर्तामा देखिएको छ ।
नीतिगत समसया पनि छ कि ?
सेयर बजार भनेकै बजारमा चलेको हल्लाले पनि यसको निर्धारण गर्दछ । नीतिगत सुधारले पनि गर्छ र सुधारको काम पनि भइरहेको छ । अहिलको सेयर बजारको मापन विन्दु त्यत्ति तल पनि होइन । राम्रा राम्रा कम्पनीको रामै पनि देखिएको छ । सामान्य घटबढ हुने त भइहाल्छ । हरेक दिन हरियो नै भइरहने त हुँदैन । तर पछिल्लो समय लगानीकर्ताले जुन किसिमले सेयर बजार माथि जान्छ भन्ने अपेक्षा गरेका थिए त्यो अनुरुप हुन सकेन । यसको कारण भनेको नीतिगत अष्पष्टता पनि हो ।
सरकारको प्रयास कस्तो हुनुपर्ला ?
सरकारले नीति नियम ल्याएर गर्ने हो । यो सम्बन्धी सरकारले ल्याउने हरेक नीतिले यसलाई प्रभावित गर्ने हो । सरकारले बजेटमार्फत मौद्रिक नीत, फिष्कल पोलिसी, बजेटमार्फत यसलाई आवश्यक सम्बोधन गर्ने हो । त्यो त गरेकै छ । यसलाई ऐनमार्फत सम्बोधन गर्नुपर्छ । बजेट भाषणमा मात्रै आएर हुँदैन । अर्को कुरा आएका ऐनहरु पूर्ण कार्यान्वयन हुन्छ कि हुँदैन जस्ता कुरा महत्वपूर्ण हुन्छन् । आन्दोलन हुन्छ । सरकारै रहने हो कि होइन । सामाजिक सञ्जाल र यूटुबले पनि लगानीकर्ताको मनोविज्ञानलाई प्रभावित गर्छ । नयाँ कम्पनीको आइपीओ आइरहेको छ । फेरि बीग मर्जर, मेगा मर्जरका हल्ला आइरहेका छन् । पहिलेको मर्जरले गर्दा अहिलेको अवस्थाआयो जसको असर अहिलेसम्म छ । मेगा मर्जरमा जाने हो भने त फेरी के के हुने हो भन्ने त्रास पनि होला भन्ने लाग्छ । यस्ता कुरामा सरकारको स्पष्ट नीति हुनुपर्छ ।
नियामक निकायको भूमिकालाई कसरी हेरिरहनुभएको छ ?
पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका कार्यहरूमा निरन्तर विकास भइरहेको छ । मेरो कार्यकालमा सीडीएससी (सीडीएस एन्ड क्लियरिङ) स्थापना भएको थियो । अहिले यसले गर्दा लगानीको क्षेत्रमा निकै सहज वातावरण बनेको छ । यो लामो समयमा कार्य तथा संस्थागत संरचनामा पनि राम्रो विकास भइरहेको छ । म्युचुअल फन्डको संख्या पनि थपिएका छन् । पहिलेको भन्दा कर्मचारीको संख्यात्मक बृद्धि भइरहेको छ । तर सक्षम र विज्ञ जनशक्तिको आवश्यकता छ । बल्ल अन्य क्षेत्रका कम्पनीहरू आउन थालेका छन् । तर अहिले पनि शेयर बजारमा बैंक तथा वित्तीय संस्थाकै वर्चस्व छ । नैतिक इमानदारीको पाटोलाई पनि ध्यान दिनु जरुरी छ । नियामक निकायले बलियो नियम ल्याउनुका साथै लगानीकर्तालाई विश्वास दिलाउन सके लगानी बढ्नुका साथै यो क्षेत्रको विकास हुनसक्छ ।
लगानीकर्तालाई कस्तो सल्लाह दिनुहुन्छ ?
सेयर बजार भनेकै जोखिमयुक्त क्षेत्र हो । जोखिम नभई लगानी हुँदैन । स्वभाविक घटबढ त यसको प्रवृति नै हो भन्ने कुरा बुझ्न जरुरी छ । बजारमा वित्तीय अवस्थाले थाम्न नसक्ने गरी नेप्से बरालिएर तल र माथि गर्न हुँदैन । यसको सुपरीवेक्षण र नियमनले यसलाई ठिक बाटोमा हिँडाउने हो । लगानीकर्ताहरु आत्तिनुहुँदैन । अलिकति परिपक्व भएर लगानी गर्नुपर्छ । सकेसम्म कर्जा लिएर लगानी गर्दा जोखिम बढी हुन्छ । कति पैसा बैंकमा राख्ने र कति पैसा सेयरमा लगानी गर्ने भन्ने कुरामा विचार गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा त लगानीकर्तामा धैर्यता चाहियो । बढ्यो भनेर मात्तिने, घट्यो भनेर आत्तिने हुनु भएन । यस्तो हुँदा सेयर बजारमा टिक्न गा¥हो हुन्छ । 
विगत र अहिलेको पूँजी बजारलाई कसरी हेर्नुहुन्छ ?
नेपाली पूँजी बजारको २७ वर्षको इतिहासलाई हेर्दा कागजी ढड्डाबाट पेपरलेसहुँदै अनलाइन आइपुगेको छ । अहिले पनि धेरै कुरा सुधार गर्नुपर्ने छ । पछिल्ला प्रविधिद्खि अन्तराष्ट्रिय अभ्यासका कुरा छन् । नेर आवासीय नेपालीलाई पूँजीबजारमा ल्याउनेदेखि धेरै कुरा छन् । धितोपत्र बोर्ड एक्लैले गर्न सक्ने कुरा आउँदैन ।

SHARE THIS