हाम्रो लगानी विविधीकरण भएको छ

कृष्णबहादुर अधिकारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैङ्क लिमिटेड
मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड शनिवारदेखि ८२ वर्ष पुरा गरी ८३औैं वर्षमा प्रवेश गर्दैछ । वि.सं. १९९४ कात्तिक ३० मा स्थापना भई सञ्चालनमा आएको यो बैङ्क नियामक निकाय  नेपाल राष्ट्र बंैक स्थापना हुनुपूर्व नै स्थापना भएको थियो । बंैकले नेपालमा भारतीय रुपियाँको चलन चल्तीलाई विस्थापन गरी नेपाली रुपियाँको चलनचल्ती बढाउनुका साथै जनतालाई बचत गर्ने तथा संस्थागत रूपमा बंैकिङ सुविधा उपयोग गर्ने संस्कृति विकास गरेको थियो । देशको औद्योगिकीकरण, व्यापार व्यवसाय विस्तार, आयात निर्यातको प्रबन्ध र नेपाली अर्थतन्त्रको विकासमा पहिलो बंैकको रूपमा यो बंैकले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । 
स्थापनापछि विभिन्न समयमा विभिन्न खाले उतारचढाव झेल्दै आएको बैङ्कले पछिल्ला वर्षमा वित्तीय परिसूचकहरूले बैङ्कको सफलताको उत्साहजनक नतिजाहरू देखाएको छ । नेपाल सरकार र सर्वसाधारणको निजी सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैङ्कमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर हिस्सा रहेको छ । बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा डेढ महिनादेखि कृष्णबहादुर अधिकारी आउनुभएको छ । नेपाल बैङ्ककै ‘करिअर बैङ्कर’ अधिकारीले २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करिअर सुरु गर्नुभएको हो । प्रस्तुत छ चार वर्षका लागि बैङ्कको नेतृत्व सह्माल्नु भएका सिईओ अधिकारीसँग बैङ्कको ८३ वर्षे इतिहास, बैङ्कको पछिल्ला विवरण, नेपालको बैंकिङ व्यवसाय, सम्भावना, समस्यालगायतका विषयमा गरिएको कुराकानी ः 
बैङ्कले ८३औं वार्षिकोत्सव मनाउँदै गर्दा यो अवस्थासम्मको यात्रालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
नेपाल बैङ्क सफलाको ८२ वर्ष पुरा गरेर कात्तिक ३० गतेदेखि ८३औं वर्षमा प्रवेश गर्दैछ । यो अवधिमा विभिन्न कालखण्ड बैङ्कले भोग्दै आएको छ । नेपालको बैंकिङ सेवाको प्रादुर्भाव गर्ने पहिलो बैङ्क भएकोले सुरुमा त एकछत्र बैंकिङ कारोबार गर्ने सौभाग्य नेपाल बैङ्कले पायो । पछि चालिसको दशकमा उदारीकरण आएपछि प्रतिष्पर्धामा तीव्रता आयो । त्यो बेलामै बैङ्कको व्यवस्थापनमा केही कमी कमजोरी पनि देखियो, जसले गर्दा बैङ्कको गरिमा धमिल पनि भयो त्यो बेलामा नेपाल सरकारको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम पनि आए । त्यसपछि बैङ्कले सुधारको बाटो लिँदै अहिलेको अवस्थामा आइपुगेको हो । कुनै बेला गौरवपूर्ण इतिहास बोक्यो बीचमा केही अल्मलियो र फेरी पुरानो गरिमा कायम गर्दै गौरवपूर्ण इतिहासलाई दोहो¥याउन सफल भयो ।
बैङ्कले सफलता प्राप्त गरेका वित्तीय परिसूचकबारे बताइदिनुस् न ?
यतिखेर आउँदा २०७६÷७७ को प्रथम त्रैमास पनि समाप्त भइसक्यो । प्रथम त्रैमासकै हिसाबले कुरा गरौं । हामी डिपोजिटमा ११५ अर्ब कर्जा ९७ अर्ब, नाफा ५८ करोड छ । निष्कृय कर्जा २.७८ मा छ । हाम्रो जोड नाफा कमाउने बैङ्कभन्दा पनि सामाजिक उत्तरदायित्वबाट प्रेरित भएका छौँ । डिपोजिटमा बढी ब्याज दिने बैङ्क र कर्जा ग्राहकलाई न्यूनतम ब्याज दिने बैङ्कको रुपमा काम गरिरहेका छौं र ग्राहकहरुले पनि त्यसैगरी चिन्नुहुन्छ ।
अघिल्लो वर्षको वित्तीय अवस्था कस्तो थियो र अबको लक्ष्य के छ ?
गत वर्ष २०७६ असार मसान्तको वित्तीय परिसूचक सन्तोषजनक नै छ । हामी प्रत्येक वर्ष निरन्तर प्रगति गर्दै आएका छौँ । गत वषको कुरा गर्दा असार मसान्तमा डिपोजिट ११८ अर्ब, कर्जा ९७ अर्ब र नाफा २६० करोड रहेको छ । विगत वर्षभन्दा नाफा भने घटेकै हो । आगामी दिनमा नेपाल बैङ्कको ग्राहक आधार विस्तार गर्दै हाम्रो उपलब्ध जनशक्तिको क्षमतालाई बढीभन्दा बढी उपयोग गर्नेछौँ । अबको चार वर्षमा वार्षिक कर्जामा २० प्रतिशत, डिपोजिटमा २५ प्रतिशत वृृद्घि गर्ने लक्ष्य राखेका छौँ । त्यो लक्ष्य पुरा गर्न हामी सफल हुन्छौँ । सर्वसाधारणदेखि व्यावसायिक घरानासम्मको हमीप्रतिको अटुट विश्वासले गर्दा बैङ्कलाई हरेक वर्ष निरन्तर वद्घितर्फ लैजान्छौँ । बैंकिङ भनेको दीर्घकालिन व्यवसाय हो । यसमा एक वर्ष वृद्घि गर्ने र अर्को वर्ष तल झर्ने भन्ने हुँदैन ।
आगामी वर्ष बैङ्कलाई वित्तीय परिसूचकका दृष्टिले कहाँ पु¥याउँदै हुनुहुन्छ ?
२०७७ असार मसान्तमा हामीले तीन अर्ब पाँच करोडको हाराहारीमा नाफा आर्जन गर्ने लक्ष्य राखेका छौँ । नेपाल बैङ्क नाफामुखी मात्रै होइन सेवामुखी हो यसो गर्दा पनि सीमित नाफा त चाहिन्छ नै । बैङ्कका सेयरधनीहरुको लामो आकाङ्क्षालाई सम्बोधन गर्न र संस्था चलाउन त नाफा चाहिन्छ नै । त्यसका लागि केही नाफाको लक्ष्य त राख्नैपर्छ । तर हाम्रो मुख्य उद्देश्य भनेको चाहे नाफा होस्, डिपोजिट होस्, कर्जा नै होस् त्यसमा दीर्घकालीन रुपमा दिगो हुनेगरी उचित सेवा दिन सकिने गरी अगाडि बढाउँछौँ ।
ऋणपत्र पनि जारी गर्दै हुनुहुन्छ नि होइन ?
नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत ल्याएका प्रावधान हामीले पुरा गर्नु पर्छ । बैङ्कहरुले आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्छ । यो आर्थिक वर्षमा जारी गर्नुपर्ने भएकाले पनि ऋणपत्र जारी गर्ने तयारीमा छौँ । हाम्रो चुक्ता पुँजी नौ अर्ब ८१ करोड हो । यसरी हेर्दा झण्डै दुई अर्ब ५० करोड ऋणपत्र जारी गर्न लागेका छौँ । यसका लागि हामीले प्रारम्भिक प्रक्रिया सुरु गरिसकेका छौँ । नेपाल सरकारको समृद्घ नेपाल र सुखी नेपाली भन्ने नारालाई यस्ता फन्डहरुबाट सघाउने लक्ष्य लिएका छौँ ।
साधारणसभा पनि नजिकिँदै छ सेयरधनीहरुलाई कस्तो प्रतिफल दिंदै हुनुहुन्छ ?
सेयरधनीहरुले लामो आकाङ्क्षा छ, ठुलो धैर्य गर्नुभएको छ । धेरै नै सहनशीलता राख्नुभएको छ । अहिलेसम्म लाभांश नपाए पनि नेपाल बैङ्कको सम्पत्ति त अथाह छ नि भनेर धैर्य राख्नुभएको छ । तर त्यो धैर्यलाई सम्मान गर्दै केही दिन सकिन्छ कि भन्ने लागेको छ । नियामक निकायको प्रावधानलाई ख्याल गर्दै बोर्ड र सञ्चालक समितिले निर्णय गरे अनुसार केही दिने सोच छ ।
बैङ्कको लगानी प्राथमिकताका क्षेत्रहरु केके हुन ?
हाम्रो लगानी विभिन्न क्षेत्रमा विविधीकरण भएको छ । नियामक निकायले न्यूनतम यति लगानी गर्नुपर्छ भनेर तोकिदिएको छ । त्योभन्दा धेरै लगानी हाम्रो रहेको छ । यो हिसाबले हेर्दा कृषिमा बढी लगानी गरेका छौँ । सहुलियतपूर्ण कर्जामा हाम्रो लगानी रहेको छ । अहिले नेपाल भ्रमण वर्ष २०२० आउनै लागेकोले होला पर्यटन क्षेत्र बढी उत्साहित रहेको पाइएको र यो क्षेत्रमा हाम्रो लगानी पनि बढ्दो छ । साना तथा मझौला व्यवसायीहरु, पर्यटन व्यवसायी, कृषि उद्यमी, ऊर्जालगायतका क्षेत्रमा हाम्रो लगानीको प्राथमिकता रहेको छ ।
बैंकिङ क्षेत्रमा देखिएका चुनौतिहरु पनि होलान, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
बैंकिङ क्षेत्र भनेको चुनौतीपूर्ण क्षेत्र नै हो । प्रतिष्पर्धाको कुरा, जनशक्तिको क्षमताको कुरा, पछिल्लो समय आइरहेको साइबर सेक्युरिटीका कुरा, विभिन्न खाले जोखिमका कुरा छन् । हाम्रा सबल पक्ष र दुर्बल पक्ष पनि होलान् । सबल पक्षलाई पूर्ण सदुपयोग गर्ने र दुर्बल पक्षबाट उत्रँदै अगाडि बढ्ने हो । सबल पक्षको कुरा गर्ने हो भने नेपाल बैङ्क नेपालीको आस्थाको धरोहर हो । देशको नामसँग जोडिन पाउनु नै हाम्रा लागि गौरवको कुरा हो । अहिले कसैले जति सुकै प्रगति गरेपनि देशको नामसँग जोडिनु चानचुने कुरा होइन । अन्तर्राष्ट्रिय क्षेत्रमा देशको नामसँग जोडिएको बैङ्कलाई जसरी विश्वास गरिन्छ, अन्यले त्यो अवसर पाउँदैनन् । सर्वसाधारणबाट अगाध माया र विश्वास पाएका छौं । गाउँमा धोती र कच्छाड लगाउनेदेखि उच्चतम घरानियासम्मका ग्राहकको विश्वास आर्जन गरेका छौँ । त्यो विश्वास र आस्थालाई कायम गर्न हाम्रो सम्पूर्ण जनशक्ति कटिवद्घ भएर लागेको छ ।
दक्ष जनशक्तिको सवालमा नेपाल बैङ्कको अवस्था कस्तो छ ?
नेपाल बैङ्क भनेको नयाँ जनशक्तिबाट हाँकिएको बैङ्क हो । बहुसङ्ख्य कर्मचारीहरु २०६१ सालभन्दा पछाडिका हुनुहुन्छ । सबैं पुराना कर्मचारी अर्थात २०६१ सालभन्दा अगाडिका कर्मचारी न्यून मात्रै हुनुहुन्छ । उहाँहरुको अनुभव पनि चाहिने हो तर दुर्भाग्यवश हाम्रो नियमले गर्दा उहाँहरुलाई विदाई गर्नैपर्ने हुन्छ । सम्भवत यो वैशाख जेठबाट कोही पनि रहनु हुन्न । त्यसपछि सबैभन्दा पुरानो भनेको २०६१ साल हुनेछ । हरेक वर्ष नयाँ नयाँ जनशक्ति बैङ्कमा भित्र्याइरहेका छौं । यसरी भनौँ अहिलेको अवस्थामा सबैभन्दा क्रिम जनशक्ति भनेको नेपाल बैङ्कमा नै छ ।
वित्तीय परिसूचकका दृष्टिले नेपाल बैङ्क कहाँ छ ?
पाँचदेखि छ प्रतिशत बचत र कर्जामा पनि ओगटिरहेका छौं । कर्म गर्दै जाँदा मार्केट सेयर बढ्छ । त्यो छुट्टै कुरा हो । तर फलानो बैङ्कले यति बढायो हामीले पनि त्योभन्दा बढी पु¥याउनुपर्छ भनेर हामी दौडिँदैनौं । हामी प्रतिष्पर्धा त गर्छौं तर अरुसँग होइन । हाम्रो आफ्नै विगतका वर्षभन्दा यो वर्ष राम्रो हुनुपर्छ, यो वर्षभन्दा अर्को वर्ष राम्रो हुनुपर्छ भनेर काम गर्छौ । आफ्नैभित्र हो हाम्रो प्रतिष्पर्धा ।
अस्थिर ब्याजदरको विषयमा सर्वसाधारणदेखि व्यवसायीहरुको गुनासो आइरहन्छ नि ?
व्याजदरका विषयमा पहिलेभन्दा अहिले नैतिक अभ्यास भएको छ । अर्को कुरा हाम्रो बैङ्कर्सहरुको भद्र सहमतिबाट पनि ब्याजदर कायम भएको छ । त्योभन्दा कसैले बढाएका छैनन् । बैंकिङ व्यवसाय भनेको दीर्घकालीन व्यवसाय हो । क्षणिक होइन । एक पटक ग्राहकको चित्त दुखाएपछि त्यो ग्राहक फेरि फर्केर आउँदैन । यसमा हामी प्रष्ट छौँ र हाम्रा सबै कुरा पारदर्शी छौँ । ग्राहकलाई अप्ठ्यारोमा पार्ने होइन उनीहरुलाई सजिलो बनाउने हाम्रो मुख्य उद्देश्य हो ।
अन्तिममा केही भन्नुहुन्छ कि ?
नेपाल बैङ्क सरकारी बैङ्क हो । अधिकांश सरकारी संस्थाहरुमा काममा ढिलासुस्ती हुन्छ । कर्मचारीमा जिम्मेवारीको अभाव हुन्छ भन्ने खालको समग्र मानसिकता अहिले पनि व्याप्त छ । त्यही कारणले गर्दा नेपाल बैङ्कमा पनि त्यस्तै छ भन्ने सोच यदि कसैमा छ भने म आग्रह गर्न चाहन्छु कि एक पटक नेपाल बैङ्कमा आइदिनुहोस्, सेवा दिने अवसर दिनुहोस् । हामी सबै ग्राहकहरुप्रति समर्पित छौं । हाम्रो बैङ्कमा कुनै पनि मध्यस्थताको जरुरत पर्दैन । अर्को कुरा वार्षिकोत्सवकै अवसरमा बैङ्कले केही नयाँ प्रडक्टलाई सार्वजनिक गर्ने तयारीमा रहेका छौँ ।

SHARE THIS