ग्लोबल आईएमई सबैभन्दा ठूलो वाणिज्य बैंक

काठमाडौं । नेपालको बैंकिङ इतिहासमै बीग मर्जरबाट ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक भएको छ ।  जनता बैंकलाई मर्ज गरेको बैंकले सँयुक्त कारोबार गरेसँगै बैंकको कूल चुक्ता पूँजी १८ अर्ब ४३ करोड कायम भएको छ भने दुबै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट पारित गरेको बोनस पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब कायम हुने छ ।
दुबै बैंकको एकिकृत कारोबार शुभारम्भ गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले एउटै बैंकको पूँजी करिब २० अर्ब रुपियाँको हाराहारीमा पुगेको बताउनुभयो । अब १०÷१२ अर्ब लगानी गर्न कुनै समस्या नपर्ने भन्दै उहाँले नेपाली बैंकले नेपाली मात्रै नभई विदेशी लगानी पनि भित्र्याउनु पर्ने बताउनुभयो ।
२०६५÷६६ सालतिर पाँच अर्ब रुपियाँ खोज्न पर्दा धेरै बैंकहरु जम्मा गर्नुपर्ने अवस्था सम्झँदै उहाँले भन्नुभयो – ‘दुई बैंक मिलेर ठूलो बैंक बन्नु भएको छ । हाम्रो पूँजी यति रहेको छ भनेर आफ्नो पुँजीलाई देखाएर विदेशबाट पनि लगानी ल्याउनु होस । अहिले हामीलाई आन्तरिकभन्दा पनि बाह्य लगानीको ठूलो खाँचो छ ।’
ऋणपत्र र बैंकको ब्याजदरबीच सन्तुलत मिलाउनुपर्नेमा जोड दिंदै अर्थमन्त्री खतिवडाले बैंकर्सलाई सेयर होल्डर र कर्मचारीको  दुबैको नेतृत्व गरेर ब्याज खाने प्रवृतिको अन्त्य गर्नुपर्ने बताउनुभयो । बैंक मात्रै समृद्ध भएर नपुग्ने भन्दै उहाँले व्यवसायी, निक्षेपकर्ता, सेयर होल्डरलाई पनि समृद्ध बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
बैंकर्सलाई आफ्ना ग्राहकका साथै कर्मचारी पनि चिन्नुपर्नेमा जोड दिंदै उहाँले भन्नुभयो – ‘ठेक्कामा कर्मचारी ल्याएर राखेको छ, उनीहरुको वृत्ति विकासमा लगानी गरेको छैन, अब बैंकहरुले केवाईसी मात्रै हैन केवाईई नो योर इम्प्लाई पनि भर्ने गराउनु पर्दछ ।’स्प्रेडदर राम्रो भएकाले छिद्र खोज्न आवश्यक नभएको उनको तर्क छ ।
कुनै घराना समूहको लगानी रहेका बैंकले मर्जरमा जान अनिच्छा देखाएको भन्दै अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्था लहड र घमण्डले चल्न नसक्ने चेतावनी दिनुभयो ।
बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नका लागि व्यवसायिक दक्षता र संस्थागत सुशासनको आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो – ‘जसले पायो त्यसले बैंक सञ्चालन गर्दा बैंकमा ठूलो अनियमितता देखिने र बैंक तथा वित्तीय संस्थामाथि नागरिकको विश्वास हट्न सक्छ ।’
कर्मचारीको कार्य क्षमता अभिबृद्धिमा लापरवाहीः गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले धेरै बैंक तथा वित्तीय संस्थामा दक्ष कर्मचारीको अभाव रहेको भन्दै बैंकरहरुले कर्मचारीको कार्य क्षमता अभिबृद्धिमा हेलचेक्¥याई गरेको आरोप लगाउनभयो ।
बैंकका कर्मचारीहरुलाई कसलाई, कसरी चेकबुक दिनुपर्छ भन्ने समेत थाहा नहुनु लज्जास्पद विषय भएको भन्दै राष्ट्र बैंकले यसतर्फ संवेदनशील रुपमा लिएको उहाँले बताउनुभयो ।
बैंक तथा वित्तीय संस्थाहरुले मानव संशाधन व्यवस्थापन सम्बन्धि योजना राष्ट्र बैंकले हेर्नुपर्ने अवस्था आएको भन्दै गर्भनर नेपालले भन्नुभयो –‘मुनाफाको तीन प्रतिशत रकम कर्मचारीको क्षमता बढाउन खर्च गर्नुस् भनेर निर्देशन दिँदा समेत उच्च पदस्थ कर्मचारी मात्र विदेश भ्रमणमा जाने गरेका छन् । कर्मचारीलाई पनि तालिम दिएर दक्ष बनाउनुस ।’
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले ग्लोबल आईएमई बैंकलाई अन्य वाणिज्य बैंक पनि मर्जर गर्न सुझाव दिनुभयो । यसअघि ‘ख’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु निकै मर्जरमा गएको र वाणिज्य बैंकमा पनि मर्जर सुरु भएको भन्दै उहाँले ग्लोबल र जनता बैंक जसरी अरु बैंक पनि मर्जरमा जान सक्ने बताउनुभयो ।
दुबै बैंकबीचको सबै मर्जर प्रक्रियासहित शेयर स्वाप रेसियो १००ः८५ अनुपातमा टुंगिएपछि बिहिबार दुवै बैंकको कारोबार बन्द गरिएको थियो ।
 मर्जरपछि जनता बैंकको एक सय कित्ता शेयर भएका शेयरधनीको शेयर संख्या ८५ कायम भएको छ ।एकीकृत बैंकको नाम ग्लोबल आईएमई नै रहेको छ भने चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहनेछन्। सात सदस्यीय नयाँ सञ्चालक समितिमा ग्लोबलबाट पाँच र जनताबाट दुई जना रहने छन् ।
बैंकका प्राथमिक पूँजी २४ अर्ब, निक्षेप दुई खर्ब १३ अर्ब, कर्जा लगानी एक खर्ब ९४ अर्ब, ८४० सेवा केन्द्र (३०० शाखा कार्यालय, २५९ एटीएम र २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर सहित) ३ हजार २०० कर्मचारीबाट २० लाख ग्राहकलाई सेवा प्रदान गर्ने भएको छ । ग्लोबल आईएमई बैंक जनता सहित कूल १९ संस्थाको सम्मिलित संस्था भएको छ। यसअघि ग्लोबलमा ११ र जनतामा सात संस्था मिलेका थिए ।

SHARE THIS