नवौं कारोबार दिनमा ६० अंकले सुधारियो सेयर बजार, कारोबार पनि बढ्यो

काठमाडौं । निरन्तर ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको सेयर बजारमा बुधबार एकाएक ६० अंकको सुधार आएको छ । बुधबार नेप्से सूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुगेको छ । कारोबार रकममा पनि सुधार आएको छ ।

बुधबार एक अर्ब ६४ करोड रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ । विगत केही समयदेखि निरन्तर घट्दो क्रममा रहेको सेयर बजारले बुधबार भने लगानीकर्तालाई केही राहत दिएको छ । 

पुँजी बजार सुधारको माग राख्दै लगानीकर्ताहरु सडकमा उत्रिन थालेपछि बल्ल नियामक निकायहरुको ध्यान पुग्न थालेको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन गरिएको जानकारी गराएका छन् । अर्थमन्त्रालयसहित धितोपत्र बोर्डका अध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरको बैठकले चार सदस्यीय सुझाव समिति गठन गरेको हो ।

अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा बजारका लागि सकारात्मक विषयहरु आउनसक्ने संकेत गरेका कारण पुँजी बजारमा सकारात्मक सञ्चार भएको छ । अर्कोतर्फ, निरन्तरको गिरावटपछि सेयर भाउ निकै सस्तो भइसकेको छ । भाउ सस्तो भएसँगै बुधबार बजारमा खरिदकर्ताहरु आकर्षित भएका छन् । घटेको बजारमा सेयर खरिद गर्नसक्दा भाविष्यमा राम्रो प्रतिफल पाउनसक्ने सम्भावना बढी रहन्छ ।

बुधबार नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएको छ । दुई कम्पनीको मूल्य १०५ ले लागेको छ । २३१ कम्पनीको ५० लाख पाँच हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । पाँच करोड १२ लाख रुपियाँभन्दा बढीसहित कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमश: कुमारी बैंक र हिमालयन डिष्टिलरी परेका छन् ।


SHARE THIS