चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र हुने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौँ । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र हुने विश्व बैङ्कको प्रक्षेपण छ । बैङ्कले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन सार्वजनिक गर्दै सरकारले प्रक्षेपण गरेको भन्दा कम आर्थिक वृद्धिदर हुने जनाएको हो । सरकारले चालू आर्थिक वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । 

विश्व बैङ्कको प्रतिवेदनअनुसार आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुनेछ जब कि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत वृद्धिदरको लक्ष्य तोकेको छ । 

दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष सबैभन्दा धेरै भारतको ८.७ प्रतिशत आर्थिक वृद्धिदर हुने बैङ्कको प्रक्षेपण छ । त्यसपछि माल्दिभ्सको ७.६ प्रतिशत, बङ्गलादेशको ६.४ प्रतिशत वृद्धिदर हुने प्रक्षेपण छ । भुटानले ४.४ प्रतिशतको वृद्धिदर हासिल गर्दा पाकिस्तानमा ४.३ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण छ । आर्थिक सङ्कटमा फसेको श्रीलङ्काको यस वर्षको वृद्धिदर ७.८ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण छ । 

आगामी आर्थिक वर्ष दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा धेरै माल्दिभ्सको १०.२ प्रतिशतको वृद्धिदर हुने अनुमान छ । त्यसपछि भारतको ७.५ प्रतिशत, बङ्गलादेशको ६.७ प्रतिशत, भुटानको ४.७ प्रतिशत र पाकिस्तानको ४ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान छ । त्यस्तै श्रीलङ्काको वृद्धिदर ३.७ प्रतिशतले ऋणात्मक हुने अनुमान विश्व बैङ्कको छ । 

समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर यस वर्ष ६.८ प्रतिशत र आगामी वर्ष ५.८ प्रतिशत पुग्ने विश्व बैङ्कको अनुमान छ । यस वर्षको अनुमान गत वर्षको भन्दा ०.८ प्रतिशतले कम हुने विश्व बैङ्कको प्रतिवेदनमा उल्लेख छ । 

कोरोना महामारीपछि आर्थिक गतिविधि बढ्दा त्यसले आर्थिक वृद्धिमा सहयोग पुगे पनि रुस र युक्रेनबीको युद्धका कारण दक्षिण एसियाली आर्थिक गतिविधि पनि प्रभावित हुन पुगेको प्रतिवेदनले जनाएको छ । युद्धका कारण खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा उपभोक्ता मुद्रास्फीति पनि बढिरहेको छ ।


SHARE THIS