सेयर बजार निरन्तर ओरालो, नेप्से परिसूचक दुई हजारको विन्दुमा

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लाग्ने क्रममा २०२० को विन्दुमा आइपुगेको छ । मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक ४५.५९ अंकले ओरालो लागेर २०२०.२३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ११.२४ अंकले ओरालो लागेर ३८९.१२ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा मङ्गलबारको नेप्से २.२१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.८१ प्रतिशतले ओरालो लागेको छ ।

अघिल्लो साता निरन्तर ओरालो लागेर बन्द भएको सेयर बजारले यो साताको पहिलो दिन पनि ओरालै क्रमलाई निरन्तरता दिएको थियो ।

सोमबार सेयर बजार मापक नेप्से परिसूचक १२.८९ अंकले ओरालो लागेर २०६५.८२ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले ओरालो लागेर ४००.३६ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से ०.६२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.७७ प्रतिशतले ओरालो लागेको थियो । लगातार घटिरहेको सेयर बजार पछिल्लो आठ कारोबार दिनमा मात्रै २१८ अंकले घटेको छ ।

मङ्गलबार २३४ कम्पनीहरुको ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर २८ हजार ९५९ पटक खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड २८ लाख छ हजार ५६३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा तीन करोड रुपियाँले बढी हो । 

सोमबार २२८ कम्पनीहरुको ४४ लाख नौ हजार ६९१ कित्ता सेयर २५ हजार ९०८ पटक खरिदबिक्री हुँदा एक अर्ब २७ करोड ३३ लख ८५ हजार २७७ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङ्गलबार छ करोड ११ लाख ८८ हजार रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर एनआइसी एशीया बैंक कारोबार रकमको आधारमा शीर्ष स्थानमा रहेको छ । कुमारी बैंकको पाँच करोड ८८ लाख २४ हजार रुपियाँ र हिमालयन डिस्टिलरीको तीन करोड ७५ लाख २० हजार रुपियाँ बराबरको कारोबार भएको हो ।

मङ्गलबार कारोबारमा आएका १३ वटै उपसमूहको उपसूचक ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको उपसूचक सर्वाधिक २.७४ प्रतिशतले ओरालो लागेको दोस्रो दिन बैंकिङ २.७२ प्रतिशत, विकास बैंक २.४६ प्रतिशत, वित्त २.४५ प्रतिशत, लगानी २.२९ प्रतिशत र अन्य २.०७ प्रतिशतले ओरालो लागेको छ ।

लगानीकर्ता आन्दोलनमा

सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ता आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंकले अस्थिर नीति ल्याएका कारण बजारमा अस्थिरता कायम भएको भन्दै लगानीकर्ताहरु अन्दोलित भएका हुन् ।

नियमन निकायहरुले गर्नुपर्ने कामहरु गर्न नसकेको भन्दै उनीहरुले सोमबार नेपाल धितोपत्र बोर्डमा १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सेयर बजारको लागि सहि नीति नियम लागू गरेर बजारलाई प्रकृतिक रुपमा छाडिनुपर्ने माग उनीहरुले अगाडि सारेका छन् ।

लगानीकर्ताहरुले बुझाएका १९ बुँदा माग मध्ये १३ वटा माग बोर्डबाटै सम्बोधन हुने लगानीकर्ताको भनाई छ । बाँकी मागहरु भने राष्ट्र बैंक र मन्त्रालयसँग समन्वय गरेर माग सम्बोधन गर्न सकिने पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिले जनाएको छ । यस्तै लगानीकर्ताहरुले मङ्गलबार माइतीघरमा धर्ना दिएका छन् ।


SHARE THIS