झण्डै १९ सयको विन्दु पछ्याउँदै नेप्से, लगानीकर्ताको आन्दोलन जारी

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले १९ सयको विन्दु पछ्याएको छ । साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक ३७.२७ अंकले ओरालो लागेर १९३४.११ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.२९ अंकले ओरालो लागेर ३७३.८५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो दिनको सेयर बजार १.८९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.९१ प्रतिशतले ओरालो लागेको छ ।

आइतबार दिनभर २२३ कम्पनीहरुको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर २७ हजार छ पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४० करोड रुपियाँले बढी हो ।

शुक्रबार २२० कम्पनीहरुको २३ लाख ५५ हजार एक कित्ता सेयर १५ हजार १६३ पटक खरिदबिक्री हुँदा ७३ करोड ६३ लाख १२ हजार १५८ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार १० करोड २८ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर नेपाल टेलिकम कारोबार रकमको आधारमा शीर्ष स्थानमा रहेको छ । पछिल्ला केही दिन यता टेलिकम कारोबार रकमका आधारमा अगाडि रहँदै आएको छ । एनसीसी बैंक, सेन्चुरी कर्मशियल र नबिल बैंकको पनि चार  करोड रुपियाँ भन्दा बढीको कारोबार भएको छ ।

आइतबार आधीखोला जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबारको बजारमा रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेर २४६.९० रुपियाँमा झरेको छ । बलेफी हाइड्रोपावर ८.१९, मितेरी डेभलपमेन्ट बैंक ७.६८, माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेड ७.३३, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.११ प्रतिशतका दरले ओरालो लागेको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमुहमा सबै उपसमूहको सूचक ओरालो लागेको छ । जलविद्युतको सूचक सर्वाधिक ३.८५ प्रतिशतले ओरालो लागेको पहिलो दिन अन्य समुहको सूचक ३.६२ प्रतिशत, वित्त ३.५९ प्रतिशत, विकास बैंकको सूचक ३.६६ प्रतिशत र लगानी समूहको सूचक २.२७ प्रतिशतले ओरालो लागेको छ ।

माग बोर्डको कार्यक्षेत्र बाहिर

नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको जनाएको छ ।

धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुनसक्ने स्पष्ट पारेको छ ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड  नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ ।

बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डका सहप्रवक्ता रुपेश केसीले पनि लगानीकर्ताका काम अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग सम्बन्धित भएको भन्दै बोर्डबाट पहल भइरहेको बताउनुभयो । सेयर बजारमा देखिएका समस्या सम्बोधन गर्न अर्थमन्त्रालयले गठन गरेको कार्यदलले २–३ दिनमा पूर्णता पाउने जानकारी दिंदैं उहाँले कार्यदलले पूर्णता पाएलगत्तै काम थाल्ने उहाँले जानकारी दिनुभयो ।

पाँच दिनदेखि अनसनमा

सरकार र नियामक निकायहरु धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंक चुपचाप बसेको भन्दै लगानीकर्ताहरु आन्दोलित भइरहेका छन् । बजार सुधारकै माग राखेर विगत पाँच दिनदेखि लगानीकर्ता तिलक कोइराला धितोपत्र बोर्ड परिसरमा आमरण अनसनमा बसिरहनुभएको छ ।

कोइरालाको मागका सम्बन्धमा अहिलेसम्म कुनै पनि सुनुवाई हुन नसकेको भन्दै आमरण अनसनमा बसेका कोइरालाको स्वास्थ्य अवस्था थप नाजूक बन्दै गएको जनाएका छन् । जटिल अवस्था उत्पन्न भइसक्दा पनि सरकार, अर्थ मन्त्रालय र सरोकारवाला निकायहरुले सुधारका लागि कुनै पहल नगरेको भन्दै लगानीकर्ता आन्दोलित भइरहेका छन् ।

लगानीकर्ताहरुका अनुसार अहिलेसम्म खबौं रुपियाँ नोक्सानी भइसकेको छ । सेयर बजार झन्डै ४० प्रतिशतले घटिसकेको छ । कतिपय कम्पनीको मूल्य त ७० प्रतिशतसम्म पनि र्‍हास आइसकेको छ । पुँजी बजार विरोधी नीतिका कारण विगत १० महिनादेखि सेयर बजार मारमा परेको लगानीकर्ताको गुनासो छ । नीतिमै चलाएर बजार घटाइएकाले अब बजार सुधार्न पनि सोही नीतिमै सुधार गर्नुपर्ने आम लगानीकर्ताहरुले माग गरिरहेका छन् ।

गभर्नरलाई १९ बुँदे ज्ञापन पत्र

आन्दोलनरत लगानीकर्ताले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारीलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

पुँजी बजार सुधार सघर्ष समितिले विगतको एमाले सरकारले साढे तीन वर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदाका बाँकी काम तत्काल पुरा गर्नु पर्नेलगायतका १९ बुँदे माग समावेश गरेर गभर्नरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

१९ बुँदे माग पुरा गराउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका लगानीकर्ताले राष्ट्र बैंक अगाडि अगाडि प्रदर्शन पनि गरेका छन् ।


SHARE THIS