दुई दिनमा १२२ अंकले गिरावट आएको सेयर बजार २५ सयको विन्दुमा ओर्लियो

काठमाडौं । उच्च गिरावटको बाटोमा लागेको सेयर बजार दुई दिनमै १२२ अंकले ओरालो लागेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य घटेर सबै उपसमुहगत सूचक राताम्ये बनेपछि नेप्सेमा उच्च गिरावट आएको छ भने नेप्से २५ सयको विन्दुमा ओर्लेको छ ।

कारोबारमा आएका २११ कम्पनीको मूल्य घटेको छ भने १२ को मात्र सेयरमूल्य बढेको छ । तीन  कम्पनीको मूल्य स्थीर छ । अघिल्लो साता झण्डै ५० अङ्कले ओरालो लागेको सेयर बजार यो साताको पहिलो दिन ७२ अंकले ओरालो लागेको हो ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक ७२.३२ अंकले ओरालो लागेर २५१३.८७ को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १४.१७ अंकले ओरालो लागेर ४७३.३५ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा आइतबारको सेयर बजार २.८० प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.९१ प्रतिशतले ओरालो लागेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सेयर बजार झण्डै ५० अङ्कले झरेको थियो । बिहीबार नेप्से परिसूचक ४९.०४ अङ्कले ओरालो लागेर २५८४.६१ को विन्दुमा सीमित भएको थियो । क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स पनि ९.४६ अङ्कले घटेर ४८७.२७ मा रोकिएको थियो ।

आइतबार दिनभर २२६ कम्पनीहरुको ८९ लाख २० हजार ८९४ कित्ता सेयर ६० हजार ८८ पटक खरिदबिक्री हुँदा चार अर्ब नौ करोड सात लाख ६५ हजार ३२५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६८ करोड रुपियाँले बढी हो ।

अघिल्लो दिन कुल २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ सेयर किनबेच हुँदा जम्मा तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपियाँको कारोबार भएको छ । 

आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.५४ प्रतिशत घटेको आइतबार व्यापार र विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने जलविद्युत, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन साढे १ प्रतिशत घटेको छ ।

पहिलो दिन २८ करोड ६२ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर कारोबार भएर कारोबार  रकमका आधारमा नेशनल हाइड्रोपावर सर्वाधिक सेयर खरिदबिक्री गर्नेमध्ये अग्रणी भएको छ । हिमालयन डिष्टिलरी, नेपाल टेलिकम र नबिल बैंकको १६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

आईसीएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक ८.३२ प्रतिशत र सबैको लघुवित्तको ८.१७ प्रतिशतले ओरालो लागेको आइतबार कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, पन्चकन्या माई हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर र पोखरा फाइनान्सको सेयर लगानीकर्ता छ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।

आइतबार कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । यता नयाँ सारथी लघुवित्तको ४.०४ प्रतिशत, मैलुङखोला जलविद्युत कम्पनीको ३.८१ प्रतिशत र युनिलिभर नेपालको ३.५६ प्रतिशतले मूल्य बढेको छ ।


SHARE THIS