पूर्व गर्भनरले भने अप्ठ्यारो अवस्थामा जनताको चाहना अनुसार मौद्रिक नीति आयो

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले कोरोनाले सिर्जना गरेको विषम अवस्थालाई सम्बोधन गर्ने गरी सरकारले मौद्रिक नीति ल्याएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले कोरोनाले गर्दा सिर्जना भएको अप्ठ्यारो अवस्थामा सरकारले केही गर्नुपर्छ भन्ने आम जनताको चाहनाअनुसार मौद्रिक नीति आएको बताउनुभयो ।

अप्ठ्यारो बेलामा आएको मौद्रिक नीतिले कोरोनाले पारेको असरलाई राहत प्याकेजको रुपमा आएको भन्दै उहाँले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताउनुभयो ।

तल्लो वर्गलाई सम्बोधन गर्नेगरि अबको बजेट आउनुपर्नेमा जोड दिंदै उहाँले कोरोनाको तेस्रो लहरमा पनि यो मौद्रिक नीतिले आर्थिक पूर्नस्थानमा सहयोग पुग्ने बताउनुभयो ।

केन्द्रीय बैंक सुविधा/सहुलियत दिने संस्था नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो र्– सुविधा, सहुलियत, अप्ठ्यारो बेलामा पर्दा दिने भनेको सरकारले हो । जुन बजेटमार्फत नै आउनुपर्छ । अफ्ठ्यारो पर्दा केन्द्रीय बैंकले पनि राहत प्याकेज ल्याउनुपर्ने कुराको अहिले आएर आवश्यकत्ता महशुस भएको हो ।’

केन्द्रीय बैंकको सबभन्दा ठूलो र महत्वपूर्ण काम भनेको मुद्रास्फितीलाई नियन्त्रणमा राख्ने, वित्तीय स्थायित्व हेर्ने भएको भन्दै उहाँले भन्नुभयो – ‘भोलि वित्तिय स्थायित्व खल्बलियो भने यसको  दोष केन्द्रीय बैंकलाई नै दिइन्छ ।’

देशको अर्थतन्त्र सुधार गर्नको लागि कोराना खोपको व्यवस्था सुलभ हुनुपर्नेमा जोड दिंदै भन्नुभयो – ‘जोखिम लिएर व्यापार व्यवसाय गर्न कोही जाँदैन, खोप नै पहिलो, दोस्रो र तेस्रो प्राथमिकता हो । यसलाई मध्येनजर गरेर कार्यक्रम ल्याउनुपर्छ ।’

पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले साउनको पहिलो हप्ता आउनुपर्ने मौद्रिक नीति किन ढिलाई आयो ? भनेर चर्चा भएको भएपनि ढिलैगरी आएको मौद्रिक नीतिको कार्यान्यवन पाटोमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने उहाँले बताउनुभयो ।

मौद्रिक नीतिमा राहत र पून:स्थापनाबारे कुरा गरिएपनि सोही अनुरुप कार्यान्वयन पक्ष प्रभावकारी  नहुनु राम्रो नभएको उहाँको भनाई छ । 

‘यसअघिको मौद्रिक नीतिले निजी क्षेत्रमा पनि आशावादी बनाएको थियो, तर कार्यान्वयनको पक्षमा अलिकति कमजोर भयो । अहिले आएको नीतिमा कसिलो मौद्रिक नीतिको आवश्यकत्ता हो भनिएको छ, अहिले आएको मौद्रिक नीतिमा साना, लघु, मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने भनिएको छ, यो राम्रो कुरा हो ।’ उहाँले भन्नुभयो ।


SHARE THIS