तपाईसँग कतारी रियाल नोटहरु छन् भने साटिहाल्नुस, वैशाख २७ गतेपछि साटिँदैन

काठमाडौं । तपाइसँग कतारी रियाल छ ? कतारबाट आउँदा ल्याएको कतारी रियाल बाँकी छ ? छ भने साटिहाल्नुस । अब वैशाख २७ गतेपछि नेपालमा कतारी रियाल नोटहरु सटही नहुने भएको छ । तोकिएको समयभित्र यस्ता नोट साट्नुुभएन भने कागजको खोस्टामात्रै हुने भएका छन् ।

कतारी केन्द्रीय बैंकले पाँचौ संस्करणका नयाँ बैंक नोटहरु प्रयोगमा ल्याउनका लागि चौथो संस्करणका नोट चलन चल्तीबाट हटाउन लागेकाले पुराना रियाल सटही नहुने भएको छ ।

पाचांै संस्करणका नोट बजारमा पठाउन सुरु गरिसकेको कतारको केन्द्रीय बैंकले पुराना लिएर नयाँ नोट दिने काम सुरु गरेपछि नेपाल राष्ट्र बैंकले पुराना कतारी रियाल तान्न लागेको हो ।

कतारी केन्द्रीय बैंकले चलनचल्तीबाट हटाउने भनेका नोट नेपालमा पनि हुनसक्ने भएकाले केही समय सीमा राखी सटही सुविधा रहेको राष्ट्र बैंकअन्तरगतको विदेशी विनिमय व्यवस्थापन विभाग मङ्गलबार सर्कुुलर नै जारी गर्दै पुराना नोट सटही गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगारीका लागि नेपालीहरुको प्रमूख श्रम गन्तव्यको रुपमा रहेको कतारको मुद्रा नेपालमा पनि हुनसक्ने भएकाले समयमा नै पुराना नोट सम्बन्धित बैंकलाई दिई नयाँ ल्याउने प्रक्रियामा लागेको राष्ट्र बैंक विदेशी विनिमय विभागका उपनिर्देशक मनोहर सिवाकोटीले बताउनुुभयो । नेपालीहरुसँग भएको कतारी रियाल उठाएर कतारी राष्ट्र बैंकसँगको समन्वयमा सो रकम साट्न लागिएको बताउँदै उहाँले राष्ट्र बैंकका साथै वाणिज्य बैंकहरु, राष्ट्रिय स्तरका विकास बैंक र फाइनान्स कम्पनी तथा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त मनि चेञ्जरहरुमा सटहीको सुविधा रहेको जानकारी दिनुुभयो ।

राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दरका अनुुसार मङ्गलबार कतारी एक रियाल बराबर ३२.८२ रूपियाँ खरिदमूल्य र ३२.९८ रूपियाँ बिक्री मूूल्य रहेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले बृद्धि भई ६४२ अर्ब १४ करोड रुपियाँ पुगेको छ । मुुख्य श्रम गन्तव्यका रुपमा रहेको कतारको यसमा योगदान उच्च रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा  रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले बृद्धि भई पाँच अर्ब ४५ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ७.२ प्रतिशतले बृद्धि भई ७१८ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.० प्रतिशतले बढेको थियो ।


SHARE THIS