सेयर बजारमा रेकड नै रेकर्ड : सर्वाधिक बढेको बजार ऐतिहासिक रेकर्डको विन्दुमा, परिसूचक पुग्यो दुई हजारकै नजिक

काठमाडौं । पछिल्लो समय उत्साहजनक रुपमा उकालो यात्रामा रहेको सेयर बजारले रेकर्ड नै रेकर्ड बनाइरहेको छ । दोस्रो कारोबारी दिन सेयर बजार दुई हजारको विन्दु नजिक पुगेर ऐतिहासिक पुनः रेकर्ड ब्रेक गरेको छ ।

सोमबारको शुरुवाती समयमा २०२८.४५ विन्दुसम्म पुगेर सम्हालिएको बजारमापक नेप्से परिसूचक १९९७.०५ को विन्दुमा अडिएको हो ।

सर्वाधिक बढेको नेप्से दुई हजार नजिक पुगेको छ भने कारोबार रकमले पनि नौ अर्ब नजिक रहेको छ ।

दोस्रो दिनको नेप्से परिसूचक २८.७९ अंकले उकालो लागेर १९९७.०५ को विन्दुमा पुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले उकालो लागेर ३८५.५६ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा सोमबारको नेप्से परिसूचक १.४६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.४२ प्रतिशतले उकालो लागेको छ । जुन हालसम्मकै ऐतिहासिक उच्चतम विन्दु हो ।

पहिलो दिनको नेप्से परिसूचक ७५.०२ अंकले उकालो लागेर १९६८.२७ को विन्दुमा पुगेर अडिएको थियो भने सेन्सेटिभ इन्डेक्स पनि १८.७६ अंकले उकालो लागेर ३८३.७६ को विन्दुमा पुगेर अडिएको थियो । समग्रमा आइतबारको नेप्से परिसूचक ०.९६ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ५.१४ प्रतिशतले उकालो लागेको थियो ।

केही दिनदेखि बैंकिङ र विकास बैंक उपसमूहको परिसूचकमा तानिएका लगानीकर्ताले सोमबार त्यति रुचि देखाएनन् । गत साताको अन्तिम दिन र यो साताको पहिलो दिन बैंकिङ समुहको सेयरमा झुम्मिएका लगानीकर्ता सोमबार भने बीमा, व्यापार र जलविद्युतको सेयरमा तानिएका छन् । अघिल्ला कारोबारी दिनमा उच्च दरले उकालो लागेको बैंकिङ र विकास बैंक उपसमूहको परिसूचकमा सोमबार भने गिरावट आएको छ ।

दोस्रो दिन बैंकिङ उपसमूहको परिसूचक ७.३८ अंक र विकास बैंकको परिसूचक ४८.१४ अंकले गिरावट आएको हो । कारोबारमा आएका १२ उपसमूहमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स र म्युचुहल फण्ड उपसमूहको परिसूचकमा गिरावट आयो भने बाँकी अरु उपसमूहको सूचक उकालो लागेको हो । सोमबार जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८२३.३५ अंकले उकालो लागेको छ भने टे«डिङ १५१.०७, होटल ४.९६, हाइड्रोपावर ८९.२३, निर्जीवन बीमा १९३.०४, उत्पादन र प्रशोधन ७३.६३, अन्य ४०.२८, माइक्रोफाइनान्स उपसमूहको परिसूचक ३७.६ अंकले उकालो लागेको छ ।

सोमबार ३८ करोड ४८ लाख रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री भएर नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, अहिल्ला दिनमा अगाडि रहेको नेपाल पुनर्बीमा कम्पनी, प्रभु बैंक र नेपाल बङ्गलादेश बैंकको ३३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

सोमबार छ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावर, अपर तामाकोशी, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल बङ्गलादेश बैंक, साञ्जेन जलविद्युत र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

लगानी गर्दा हल्ला र अनुमानका पछाडी नलाग्न बोर्डको सुझाव

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मुलुकको अर्थतन्त्रको विकासमा पूँजी बजारको महत्वपूर्ण भूमिका रहने भन्दै पूँजी बजारको विकास र विस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जनाएको छ ।

बोर्डले धितोपत्रको दोस्रो बजारको  स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको भन्दै  धितोपत्र बजारको नियमन गर्ने निकायको रुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षका बारेमा समय समयमा समसामयिक विषयमा जानकारी गराउँदै आएको बोर्डको भनाई छ ।

बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा आठ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिब ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य बृद्धि भएको जनाएको छ ।

पछिल्ला केही दिनमा दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको भन्दै समग्र पूँजीबजारका लागि खुशीको कुरा भएको बोर्डको ठहर छ । यद्यपी लगानीकर्ताहरुले पूँजीबजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिकपक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचकलगायतका विवरणहरुको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुनेतर्फ बोर्डले ध्यानाकर्षण गराएको छ ।

अतःधितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडी नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई बोर्डले आग्रह गरेको छ ।


SHARE THIS