काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगहरूका लागि निर्यात गृह खोल्न काठमाडौं माहानगरपालिकालाई सुझाव तथा प्रस्ताव पत्र पेश गरेको छ ।
लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न निर्यात गृहका लागि स्थान उपलब्ध गराउन आग्रह सहितको प्रस्ताव महासंघले पेश गरेको हो ।
महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानको नेतृत्वमा महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र काठमाडौं अध्यक्ष सिता कार्कीलगायतका प्रतिनिधि मण्डलले काठमाडौ माहानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसमक्ष महासंघको सुझाव तथा प्रस्तावपत्र हस्तान्तरण गरिएको हो ।
सो अवसरमा निवर्तमान अध्यक्ष प्रधानले काठमाडौ जिल्ला, बागमती प्रदेश र नेपालभित्र रहेका लघु घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको स्थानीय निकायमा प्रयोग गर्नुपर्नेमा काठमाडौ माहानगरपालिकाबाटै शुरुवात गर्न पनि अनुरोध गर्नुभयो ।
काठमाडौ माहानगरपालिकाका मेयर शाक्यले महासंघको तर्फबाट पेश गरिएको प्रस्तुतीकरणलाई गम्भीरताका साथ ग्रहण गर्दै महासंघसँग पहिलेदेखि नै सहकार्य गर्दै आइरहेको स्मरण गर्नुभयो । आगामी दिनहरूमा पनि महासंघसँग सहकार्य गर्दै जाने विश्वास दिलाउँदै आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बनाउँदै गरेको ठिक समयमा नेपाली उत्पादनहरुको बिक्री वितरण तथा स्थानीय उपभोग बारेमा राम्रो प्रस्ताव ल्याएकोमा महासंघलाई धन्यवाद पनि दिनुभयो ।
लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई राहत दिनुपर्ने सुझाव राख्दै महासंघले स्टीमुलस प्याकेजलाई चक्रीय कोषको स्थापना गर्नुपर्ने भन्दै लघु, घरेलु तथा साना उद्यमि व्यवसायिहरु लगायत महानगरपालिका भित्रका करदाताहरुलाई कर छुटको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
राजश्व प्रशासनलाई करदाता मैत्री बनाउनुपर्ने, महानगरपालिकाका क्षेत्र भित्रका उद्यम व्यवसायहरुलाई थप व्यवस्थित गर्न महासंघको सुझाव छ ।

