राष्ट्रिय बीमा संस्थान र काठमाण्डौ महानगरपालिकाबीच सम्झौता

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गर्ने सम्बन्धी महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायबमहाप्रबन्धक महेश रिमालले हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य ंिददै महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसँग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुशी लागेको बताउनुभयो । संस्थानबाट गुणस्तरीय सेवाको अपेक्षा राखेको उहाँले उल्लेख गर्नुभयो । संस्थानको तर्फबाट नायवमहाप्रवन्धक महेश रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकतातर्फ उन्मुख रहेको र बीमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको कुरा उल्लेख गर्नु भयो । संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानले सबै दृष्टिबाट सुधार गर्दै जीवन बीमाको क्षेत्रमा प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित भई गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

SHARE THIS