आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा १८६ अर्ब ८३ करोड तरलता प्रवाह



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा १८६ अर्ब ८३ करोड तरलता प्रवाह गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को नौ महिनाको तथ्याङ्कमा आधारित राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार समीक्षा अवधिमा रिपोमार्फत रु.११३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधा मार्फत रु.७३ अर्ब ६ करोड गरी कुल रु.१८६ अर्ब ८३ करोड तरलता प्रवाह भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रिपो मार्फत रु.३९ अर्ब ५३ करोड र स्थायी तरलता सुविधामार्फत रु.९ अर्ब ७२ करोड गरी कुल रु.४९ अर्ब २५ करोड तरलता प्रवाह भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा खुला बजार कारोबार मार्फत कुल रु.५८ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर २ अर्ब ६७ करोड खुद खरिद गरी रु.३०५ अर्ब ८६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब २१ करोड खुद खरिद गरी रु.२५२ अर्ब २२ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ६ करोड बिक्री गरी रु.३५० अर्ब ९ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १६ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी रु.३९३ अर्र्ब ७७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।
उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिदै आएको पुनरकर्जा २०७६ चैत मसान्तमा रु.१८ अर्ब ३१ करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. १५ अर्ब २१ करोड र निर्यात पुनरकर्जा रु.७४ करोड ४४ लाख उपयोग भएको छ ।
भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ चैत मसान्तमा रु.१ अर्ब ८९ करोड रहेको छ । यस्तो कर्जा १५९२ ऋणीले उपयोग गरेका छन् ।
२०७६ चैत मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २३,४०९ ऋणीको रु.५० अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ५,२५० ऋणीको रु.३ अर्ब ४१ करोड कर्जा बक्यौता रहेको छ ।
यसैगरी आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा वाणिज्य बैंकहरुबीच रु.१२६२ अर्ब २७ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) बीच रु.११६ अर्ब ५३ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही
अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक) ले क्रमशः रु.११५० अर्ब ८० करोड र रु.१५९ अर्ब ८२ करोडको यस्तो कारोबार गरेका थिए ।

SHARE THIS