कोरोना कोषमा कृषि विकास बैंकको १ करोड २५ लाख सहयोग


काठमाडौं । कृषि विकास बैंक लिमिटेडले कोरोना कोषमा एक करोड २५ लाख रुपियाँ आर्थिक सहयोग स्वरुप उपलब्ध गराएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा बैंकले सो रकम उपलब्ध गराएको हो ।
कोरोना भाइरस (कोभिड(१९) कोरोना नामक भाइरसले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली जनता पनि उच्च जोखिममा रहेका छन् । बैंकले उक्त जोखिमलाई मध्यनजर गर्दै विपतको घडीमा कोभिड १९ कोरोना नामक भाइरससँग सावधानीपूर्वक डटेर सामाना गर्नका लागि व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाइनलगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।
साथै बैंकले विपदको कारणबाट ज्यान गुमाउनेहरूप्रति चीर शान्तिको कामना गर्दै बिरामीहरूको शीघ्र स्वास्थ्यको लाभको कामना समेत गरेको छ ।
 

लकडाउनमा बैंकको सेवा सुचारु
कोरोना भाइरस संक्रमण जोखिम कम गर्न सरकारले मङ्गलबारदेखि गरेको लकडाउनको समयमा बैंकले आफना सीमित शाखा र एटीएम सुचारु गरेको जनाएको छ ।
बैंकको ९० वटा शाखा खुलेको जनाएको छ । बैंकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्राप्त पासको आधारमा शाखा कार्य सञ्चालन गरिरहेको जनाएको छ ।
बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकले काठमाडौंको कोटेश्वर, महाराजगञ्ज, ललितपुरको लगनखेल, भक्तपुरको गठ्ठाघर र उपत्यका बाहिर गरी ९० वटा शाखा सञ्चालनमा ल्याइरहेको छ ।
सञ्चालित शाखाबाट सेवाग्राहीले सेवा लिएको जनाएका छन् । साथै आगामी दिनमा पनि बैंकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्राप्त पासको आधारमा शाखा कार्यालय खोलेर बैकिङ सेवा प्रदान गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले चैत १२ गते सम्पूर्ण इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको सूचना अनुसार बैंकले उक्त शाखाहरुबाट बैंकिङ्ग सेवा दिएको जनाएको छ ।
बैंकको शाखा कार्यालयमा नै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवा लिन आवश्यक भएका ग्राहकहरुको लागि न्यूनतम बैंकिङ्ग सेवा प्राप्त गर्न सजिलो होस् भन्ने हेतुले बैकले उक्त शाखा खोलेको जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी विद्युतीय माध्यमबाट कारोवार, एटीएम सेवा, मोबाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा आदि प्रयोग गर्न पनि बैंकले आफना सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।

SHARE THIS