दुई अर्ब पुग्यो बीमा संस्थानको आम्दानी


काठमाडौँे । पूर्ण सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा दुई अर्ब रुपियाँले आम्दानीमा वृद्धि गरेको छ । संस्थानको आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात अर्ब पाँच करोड ९५ लाख रुपियाँ रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थानको आय पाँच अर्ब ३६ करोड ९२ लाख रुपियाँ रहेको थियो ।
हाल बीमा संस्थानको जगेडा कोषमा २६ करोड २१ लाख २९ हजार रुपियाँ छ भने जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड १२ लाख ३५ हजार रुपियाँ रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमै संस्थानको खुद बीमा शुल्क पाँच अर्ब ६९ करोड ३१ लाख रुपियाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थानको बीमा शुल्क चार अर्ब ४० करोड ५६ लाख रुपियाँ रहेको थियो । संस्थानले गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा एक अर्ब बीमा शुल्क वृद्धि गरेको छ ।
पछिल्लो समय संस्थानले लिएको शाखा बिस्तार, अभिकर्ताहरुको क्षमता तथा संख्यामा वृद्घि, सेवामा छिटोछरितोपनले संस्थाले गति लिएको बताउनुहुन्छ, संस्थानका प्रशासक कविप्रसाद पाठक । प्रविधिमा गरिएको सुधार, नयाँ दक्ष जनशक्तिको थपलगायतका कुरा पनि संस्थानको प्रगतिको कारण रहेको उहाँले बताउनुभयो । 
यसैगरी संस्थानको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आयमा एक अर्ब १० करोड ६२ लाख रुपियाँ छ भने अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड ४९ लाख ८० हजार रुपियाँ रहेको थियो ।
बीमालेखको धितोमा कर्जाबाट चालु आर्थिक वर्षमा आम्दानी पाँच करोड ६६ लाख ५२ हजार रुपियाँ छ भने गत आर्थिक वर्षमा बीमालेखको धितोमा कर्जाबाट आय चार करोड ६९ लाख ३२ हजार रुपियाँ रहेको थियो ।

SHARE THIS