फोटो पत्रकारका लागि काठमाडौँमा एआई सीपसम्बन्धी तालिम

एआई विज्ञ अजय शर्मा काठमाडौँ, साउन ९ गते । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ (फोटो पत्रकारका लागि एआई सीप) तालिम काठमाडौँमा सुरु भएको छ। डिजिटल युगको मागअनुसार फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।

साउन ९ र १० गतेसम्म सञ्चालन हुने तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता रहेको छ। तालिमका मुख्य प्रशिक्षक एआई विज्ञ अजय शर्माले सहभागीलाई फोटो पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को बढ्दो महत्त्व, यसका नवीनतम औजारको प्रयोग र डिजिटल माध्यममा तस्बिरको गुणस्तर परिमार्जन गर्ने प्राविधिक पक्षबारे व्यावहारिक प्रशिक्षण दिइरहनुभएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्षले समसामयिक प्रविधिको आत्मसात् बिना पत्रकारिताको विकास असम्भव रहेको बताउनुभयो। फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “बदलिँदो डिजिटल परिवेशमा एआईको सही प्रयोगले तस्बिरको प्रस्तुति र सम्पादनलाई तीव्र तथा गुणस्तरीय बनाउँछ। यस तालिमबाट फोटो पत्रकार साथीहरू लाभान्वित भई कार्यक्षेत्रमा थप व्यावसायिक बन्न मद्दत पुग्नेछ।”

नेपालमा फोटो पत्रकारहरूलाई लक्षित गरी एआई सीपसम्बन्धी यो तालिम सम्भवतः पहिलो हो। तालिमको दोस्रो दिन सहभागीहरूलाई एआई औजारहरूको व्यावहारिक अभ्यास गराइने आयोजकले जनाएको छ।


SHARE THIS