सर्लाहीका मुसहर महिलाले काठमाडौं पुगेर भने, हामीलाई गरिबीको दलदलमा फसाइयो

काठमाडौं । सर्लाही जिल्लामा बसोबास गर्ने सीमान्तकृत मुसहर समुदायको अवस्था अझै पनि दयनीय रहेको छ । देशको व्यवस्था फेरियो तर मुसहर समुदायको अवस्था फेरिन सकेको छैन । राज्यको ध्यान मुसहर समुदायमा अझै जान सकेको छैन । व्यवस्था फेरिएर गाउँगाउँमा सिँहदरबार भनेर स्थानीय सरकारलाई सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । तर स्थानीय सरकारले समेत उनीहरुको हितमा काम गरेका छैनन् । मुसहर बस्तीका अझै पनि बलबिबाह, बहुबिबाह गर्ने प्रचलन कायमै छ । ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका मुसहर समुदायमा महाजनबाट ऋण लिने, उसैको घरको घरका कमारोबस्ने चलनको समेत अन्त्य भएको छैन । उनीहरुको आर्थिक अवस्था अझै कमजोर छ । झुपडीलाई बोराले बेरेर बस्नु पर्ने बाध्यकारी अवस्था रहेको छ । गाउँमा पिल्सिएर बसेका महिलाहरु राज्यलाई आफ्ना समस्या सुनाउन बुधबार राजधानी आएका थिए ।
साप नेपालले सञ्चालन गरेको नेपालका स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रर्वधन नामक परियोजनाले गरेको कामले आफ्ना अधिकारबारे सचेत बनेका महिलाहरु सरकारका प्रतिनिधिलाई समस्या सुनाउन राजधानी काठमाडौं आएका हुन् । यसको ताजोमाझो साप नेपालले मिलाइदिएको हो । राष्ट्रिय स्तरको सिकाई आदान प्रदान कार्यक्रममा महिलाले आफ्ना समस्या राख्ने र राज्यका जिम्मेवार प्रतिनिधिले त्यसको जवाफ दिने गरि व्यवस्था गरिएको साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिनुभयो । मुसहर महिला सशक्तिकरण मञ्चमा अबद्ध महिलाहरुले चुनावका बेला भेट बैंकको रुपमा नेताहरुले मुसहर समुदायलाई गरिबीको दलदलमा फसाएको आरोप लगाउनुभयो ।
हरिपुरको मुसहर महिला सशक्तिरण मञ्चकी अध्यक्ष पल्टनिया माझीले स्थानीय स्तरका नेताहरु चुनावका बेला आश्वसन देखाउने र पदमा पुगेपछि फर्केर नहेर्ने गरेको बताउनुभयो । हामीलाई गरिबीको दलदलमा फसाइयो उहाँले भन्नुभयो अहिलेसम्म हामीलाई कसैले केही नगरेनन् । उहाँले भारतीय नागरिकले सजिलै नागरिकता पाउँदा वर्षौदेखि यहाँ बस्दै आएका मुसहरलाई सरकारले नागरिकताबाट बञ्चित गरेको बताउनुभयो ।
कार्यक्रममा मञ्चका अबद्ध उर्मिलादेवी माझी, सम्झावती माझी, रिता माझी, आशा माझीले मञ्चमा माइकको अगाडि निर्धक्क भएर आफ्ना समस्या पोखेका छन् । कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतोले तराईका मुसहर समुदायको अवस्था दयनीय रहेको भन्दै उनीहरुलाई गरिबीको अध्यारोबाट मुक्त गर्ने जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले मुसहर समुदाय श्रमशोषणको चपेटमा परेको बताउनुभयो । गाउँका धनी भनिनेहरुले श्रमशोषण गर्ने गरेका कारण मुसहर समुदायको जीवन स्तर उकासिन नसकेको उहाँको भनाई थियो ।
कार्यक्रममा साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशीले राज्यबाट बन्चितिमा परेका मुसहर महिलाहरुको जीवन स्तर उकास्न परियोजना सुरु गरिएको बताउनुभयो । यस्तै साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले महाजनबाट उच्च ब्याजदरमा ऋण लिने चलन अन्त्य गर्न महाजनमुक्त सहकारी संस्था स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले मुसहर समुदायका चार सय बढी बालबालिकाको जन्मदर्ता गरि विद्यालय भर्ना गरिएको, बाल तथा बहुबिबाह गर्ने चलनको अन्त्य गरिएको बताउनुभयो ।
उहाँले मुसहर बस्तीमा रहेका अनेकौ समस्याको हल गर्दै महाजन कहाँ कमारो बस्ने बाध्यकारी अवस्थाको अन्त्य गर्न आयआर्जनको कामको सुरुवात गरिएको बताउनुभयो । साप नेपालकी अध्यक्ष गीता भट्टराईको अध्यक्षतामा कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खालिद सिदगी, कानुन,न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चण्डेश्वर सदा, राष्टिय महिला आयोगकी अध्यक्ष कमला पराजुली लगायतले मन्तव्य राख्नुभएकोे थियो । साप नेपालले हरिपुर नगरपालिका, बरथहवा नगरपालिका, चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकाका मुसहर महिलाको जीवन स्तर उकास्न परियोजना सञ्चालन गरेको हो । चारपालिकामा ३२ वटा सशक्तिकरण मञ्चमा एक हजार ५०० महिलालाई आबद्ध गरि सशक्तिकरण र आयआर्जनको लागि कार्यक्रम सञ्चालन गरिएको छ ।


SHARE THIS