मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प

दासढुंगा, मंसिर १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको छ । दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बुधबार चितवनको दासढुंगामा रहेको मदन आश्रिततको शालिकमा माल्यार्पण गर्नुभएको हो ।


जनताको बहुदलीय जनबाद (जबज) एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको शालिकमा माल्यार्पण गर्दै महासचिव पोखरेलले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प गर्नुभयो । बदलियो राजनीतिक परिवेशमा जबजको सान्दर्भिकता बढेर गएको भन्दै महासचिव पोखरेलले जबजको मर्म अनुसार नै एमाले अगाडि बढ्ने बताउनुभयो ।

दशौं महाधिवेशनस्थल सौराहाबाट दासढुंगा पुग्नुभएका पोखरेलले जनतालाई खुसी र सुखी बनाउन सके मात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने बताउनुभयो । उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य शुजिता शाक्यलगायतले मदन आश्रितको शालिमा माल्यार्पण गर्नुभएको थियो । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा मृत्यु भएको थियो । उहाँहरु चढेको जिप त्रिशूली नदीमा खसेको थियो ।


SHARE THIS