नयाँ नक्शा सर्वसम्मत रुपमा पारित गरेको भन्दै महासंघले दियो सरकारलाई धन्यवाद

काठमाडौं । नेपालको नयाँ नक्शा सर्वसम्मत रुपमा पारित गरेकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दल, माननीय सासदहरु र नेपाली जनतालाई  धन्यवाद सहित बधाई ज्ञापन गरेको छ ।
नेपालको संविधान २०७२ लाई संशोधन गरि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटी नेपालको नयाँ नक्शा प्रतिनिधिसभाबाट शनिबार सर्वसम्मत रुपमा पारित गरिएको छ ।
मुलुकको राष्ट्रियताको सवाल आउँदा सबै राजनीतिक दलहरु एक ढिक्का हुने परम्परा यसपटक पनि संसदमा देखिनु खुशीको विषय भएको भन्दै महासंघले नयाँ नक्शा बमोजिम गुमेको भूमि वार्ताबाटै फिर्ता गर्न पहल गरियोस् भनी आग्रह गरेको छ ।
यसैबीच उद्योग व्यवसाय, निजी सवारी साधनलगायत तोकिएका क्रियाकलाप गर्न सक्ने गरी लकडाउनलाई खुकुलो बनाएकोमा महासंघले सरकारलाई धन्यवाद दिएको छ । कोभिड १९ को महामारीले विश्वलाई नै आक्रान्त बनाएको परिप्रेक्षमा देशवासीलाई यसको संक्रमणबाट बचाउने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि लागु हुनेगरी गरेको लकडाउनलाई खुकुले गरेको छ ।
सरकारले जेठ ३० गतेदेखि लागु हुने गरी चरणवद्घ रुपमा लकडाउनलाई खुल्ला गर्दै जाने जनाएको छ । लकडाउनलाई खुल्ला गर्दै जाने उद्देश्य अनुरुप प्रथम चरणमा खुकुलो बनाइएको व्यवस्थाले मुलुकको आर्थिक गतिविधिलाई चलायमान गराउन सहयोग पुग्ने विश्वासका साथ सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका मापदण्ड अपनाई लघु, घरेलु तथा साना उद्योगहरु सञ्चालन गर्न मुलुकभरका उद्यमीहरुलाई महासंघले आग्रह गरेको छ ।

SHARE THIS