२०७७ को ललितकला पुरस्कार घोषणा

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले हरेक वर्ष गर्दै आएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७७’ कोरोना भाइरसका कारण रोकिएको छ । बैशाख २ गते देखि सञ्चालन गर्ने भनिएको उक्त प्रदर्शनी कोरोना भाइरस (कोभिड–१९) को कारण भएको बन्दाबन्दीले रोकिएको (नाफा) ले जनाएको हो । प्रदर्शनी गर्न सम्भव नभएको हुँदा हाल वैकल्पिक (अनलाइन वा अन्य) माध्यमबाट प्रदर्शनी गर्ने विषयमा छलफलसमेत भइरहेको प्रज्ञा प्रतिष्ठानका कुलपति केके कार्मचार्यले बताउनुभयो ।

प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको हो । राष्ट्रिय ललितकला प्रदर्शनीका लागि संकलन भएका कलाकृतिहरुलाई पुरस्कृत गर्नका लागि कलाकृतिको मूल्यांकन भइसकेको हुँदा पुरस्कृत कलाकारहरु तथा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने पुरस्कार सार्वजनिक गरेको हो । जसमा एक लाख राशीको राष्ट्रिय अरनिको सम्मान–२०७७ बाट शंकरनाथ रिमाल, काठमाडौं र ललितपुरका शन्तकुमार शाक्य, रहनुभएको छ । २५ हजार राशीको ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७ प्रा.डा. लय मैनाली र त्यत्ति नै राशीको ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७ केशव राज खनाललाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७ मा संकलन भएका कलाकृतिमध्ये मुल्यांकन गरी विधागत रुपमा राष्ट्रिय ललितकला पुरस्कार र विशेष पुरस्कारबाट पुरस्कृत कलाकार यसप्रकार रहेका छन् । जसमा ६० हजार राशीको राष्ट्रिय पुरस्कार हस्तकला विधाबाट मिलन शेरचन, परम्परागत मूर्तिकला सुरेश लावट (तुलाधर), आधुनिक मूर्तिकलामा भुषण दुवाल, आधुनिक चित्रकलामा गणेश जिसी, परम्परागत चित्रकलामा कृष्णराम घेमेसु, लोककलामा लक्ष्मण मण्डल, वास्तुकला तथा अन्य सृजनात्मक कलामा प्रमिला लामाले हात पारेका छन् । त्यस्तै, हस्तकला विधाबाट माणिकमान शाक्य र राजेश महर्जन विशेष पुरस्कार पाएका छन् ।

परम्परागत मूर्तिकलाबाट शुभरत्न बज्राचार्य, डा. रामसागर पण्डित, आधुनिक मूर्तिकलातर्फ विशाल सारुमगर र देवेन्द्रप्रसाद पाण्डे, परम्परागत चित्रकला विधामा विनम्र डंगोल, जिग्मे तामाङ, आधुनिक चित्रकलातर्फ सुरेश बस्नेत, विद्यमान तामाङ र दलबहादुर राई, लोककला विधातर्फ मित्थु थारु र बाबुराम बस्ताकोटी तथा वास्तुकला तथा अन्य सृजनात्मक कला विधातर्फ सुमन राई, कुशल कार्की, रवि मिश्र चयन हुनुभएको छ । उहाँहरुले २५ हजार नगदसहित प्रमाणपत्र पाउनुहुनेछ ।

त्यस्तै २५ हजार राशीको प्रादेशिक पुरस्कारतर्फ प्रदेश १ बाट कौशिला राई, प्रदेश २ बाट रुविकुमारी कर्ण, बागमतीबाट प्रकाश मिजार, गण्डकीबाट दलबहादुर गुरुङ, प्रदेश ५ बाट आकाश बुढामगर, कर्णालीबाट मिनबहादुर नेपाली तथा सुदूरपश्चिम प्रदेशबाट गणेशदेवी चौधरी पुरस्कृत भएका छन् ।

SHARE THIS