RBS
 बालअधिकार संरक्षणमा सीएसआर लगानीलाई प्राथमिकता दिन सरोकारवालाको जोड

बालअधिकार संरक्षणमा सीएसआर लगानीलाई प्राथमिकता दिन सरोकारवालाको जोड

काठमाडौं । नेपालमा बालअधिकारको संरक्षण तथा प्रवद्र्धनलाई प्रभावकारी बनाउन संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगतको लगानी प्राथमिकताका साथ गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

एकिकृत हातेमालो समाज नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा सोमबार  राजधानीमा आयोजित “नेपालमा बालअधिकारको संरक्षण तथा प्रवद्र्धनमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को लगानी” विषयक अध्ययनको निष्कर्ष प्रस्तुतिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।

राज्यको प्रयासलाई पूरक बनाउँदै निजी क्षेत्र, कर्पोरेट संस्था र वित्तीय क्षेत्रको सक्रिय सहभागिता बिना बालअधिकारका विद्यमान चुनौती समाधान गर्न कठिन हुने उनीहरूको भनाइ थियो ।

एकीकृत हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरीले जुन देशमा बालबालिकामा लगानी हुँदैन त्यो देशमा ठूला ठूला बाटो र टावर बनेर मात्रै नहुने बताउनुभयो ।

विकासको लागि महत्वाकांक्षी योजना बनाएर मात्रै नहुने भन्दै उहाँले त्यसको भावी नियमनकर्तालाई खुबीयुक्त बनाउनुपर्ने भन्दै नेपालको सन्दर्भमा बालबालिकाको क्षेत्रमा देखिएका समस्याहरु निराकरण गर्न उनीहरुमा पर्याप्त लगानीका लागि संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि केन्द्रित गर्नुपर्ने उहाँको भनाई थियो ।

जुन देशको बालबालिका सीप दक्षता र बौद्धिक पाटोमा युगान्तकारी छलाङ मार्न सबल छन्, त्यो देशको भविष्य चमत्कारपूर्ण हुने भन्दै उहाँले आजका बालबालिका भोलिका देशको नेतृत्व तथा जनता भएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकाकै क्षेत्रमा तोकेर छुट्याइने नगरेको भन्दै यो क्षेत्रमा के कसरी खर्च भइरहेको छ र त्यसको के के प्रभाव परेको छ अध्ययन जरुरी भएको बताउनुभयो ।

सीएसआर कार्यक्रमकै लागि कार्यक्रम र खर्च गर्नकै लागि खर्च गरेको जस्तो हुन नहुने उहाँको भनाई थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले संस्थागत सामाजिक उत्तरदायित्वका सवालमा निजी क्षेत्र प्रतिवद्ध रहेको बताउनुभयो ।

उद्योगले नाफा गरेको आधारमा स्वतस्फूर्त रुपमा सामाजिक भावनाले यस्ता काममा सहयोग गर्दै आएको उहाँको भनाई थियो ।  

संविधान, बालअधिकार ऐन तथा अन्तर्राष्ट्रिय बालअधिकार महासन्धिले बालबालिकाको बाँच्न, विकास, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरे पनि बालश्रम, कुपोषण, विद्यालय बाहिर रहेका बालबालिका, बालविवाह र हिंसाका समस्या अझै यथावत् रहेको उनीहरुले बताएका छन् । यी चुनौती न्यूनीकरणमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूले बताएका छन् ।

हाल नेपालमा बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी, दूरसञ्चार, ऊर्जा र उत्पादनमूलक उद्योगहरूले शिक्षा, स्वास्थ्य र पोषण क्षेत्रमा सीएसआर लगानी गर्दै आएका छन् । विद्यालय पूर्वाधार निर्माण, छात्रबृत्ति वितरण, बालस्वास्थ्य शिविर, पोषण कार्यक्रम तथा सचेतनामूलक अभियानमार्फत बालमैत्री पहलहरू अघि बढाइएका छन् ।

तर अधिकांश सीएसआर कार्यक्रम अल्पकालीन, छरिएका र दानमुखी हुने गरेको भन्दै कार्यक्रममा सहभागी बालअधिकार क्षेत्रमा काम गर्ने संघ–संस्थाहरूले चिन्ता व्यक्त गरेका थिए । उनीहरूका अनुसार दीर्घकालीन रणनीति, प्रभाव मूल्याङ्कन र स्थानीय तहसँगको समन्वय कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन सकेको छैन ।

सरोकारवालाहरूले बालअधिकारलाई केन्द्रमा राखेर स्पष्ट सीएसआर नीति निर्माण, सरकारी निकाय तथा स्थानीय तहसँग साझेदारी, पारदर्शी अनुगमन र नतिजामुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

सीएसआरलाई सामाजिक खर्च होइन, सामाजिक लगानीका रूपमा बुझेर अघि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।

विशेषज्ञहरूका अनुसार योजनाबद्ध, उत्तरदायी र दीर्घकालीन सीएसआर लगानीमार्फत बालमैत्री समाज निर्माण गर्दै राष्ट्रिय विकास र दिगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्नेछ ।

कार्यक्रममा नेपाल बैंक, वाणिज्य बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सानिमा बैंकलगायतबाट आएका प्रतिनिधिहरुले संस्थागत सामाजिक उत्तरदायित्वका लागि बैंकले गर्दै आएका कार्यक्रम बारे आफ्ना भनाई राख्नुभएको थियो ।


१७औँ वार्षिकोत्सवको अवसरमा नव टाकुराद्वारा रक्तदान

१७औँ वार्षिकोत्सवको अवसरमा नव टाकुराद्वारा रक्तदान

काठमाडौं । अस्पतालहरूमा देखिने रगतको अभाव न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले नव टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

न्यूरोडको प्यूखामा रहेको संस्थाले दरबार हाइस्कुल परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए । संस्थाको नजिकिँदै गरेको १७ औं वार्षिकोत्सव तथा १६ औं साधारणसभाका अवसर पारेर समाजमा रक्तदानप्रति सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नवराज गौतमले बताउनुभयो ।

संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा सदस्यहरुमा बचतसम्बन्धी शिक्षामूलक र प्रवद्र्धनात्मक कार्यक्रमका साथै समाजमा रक्तदानप्रति सकारात्मक सन्देश फैलाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको संस्थाका व्यवस्थापक पदम निरौलाले बताउनुभयो ।

मानव जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा स्थानीय युवायुवती, समाजसेवी तथा सो क्षेत्रका व्यापारी एवम सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

सो अवसरमा रक्तदान कार्यक्रम सफल बनाउन सहयोगी संस्था÷अस्पताल÷रेडक्रसका प्रतिनिधि, रक्तदाताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । आगामी दिनहरूमा यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने आयोजक संस्थाले जनाएको छ ।

लगानी र सुशासन सुदृढीकरणमा जोडः नेपालको आर्थिक विकासको नयाँ दिशा

लगानी र सुशासन सुदृढीकरणमा जोडः नेपालको आर्थिक विकासको नयाँ दिशा

डा. घनश्याम उपाध्याय

नेपालको अर्थतन्त्र पछिल्लो दशकमा उल्लेखनीय परिवर्तनको मार्गमा छ । हाइड्रोपावर, पर्यटन, सूचना प्रविधि, कृषि र उत्पादन क्षेत्रका प्रमुख स्तम्भले मुलुकको आर्थिक संरचना बलियो बनाउँदै आएका छन् ।

सरकारी सुधार, निजी क्षेत्रको सक्रिय सहभागिता, विदेशी लगानीको प्रवाह र सुशासनजस्ता पक्षमा मुख्य ध्यान दिँदै नेपाल सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नतिको मार्गतर्फ अघि बढिरहेको छ । तर, लगानीको न्यून स्तर, पूर्वाधारको कमजोरी, गरिबी तथा बेरोजगारीजस्ता चुनौती अझै पनि अर्थतन्त्रको स्थिर प्रगतिको दिशामा बाधक छन् । यद्यपि यी चुनौती सामना गर्दै आर्थिक वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा ठूलो फड्को मार्ने अवसरसमेत नेपालसामु छ ।

नेपालको आर्थिक वृद्घिका प्रमुख क्षेत्र कृषि, उद्योग र सेवा हो । हाइड्रो उत्पादन, निर्माण तथा खानीजन्य वस्तुबाट अर्थतन्त्रमा मुख्य योगदान पुगिरहेको छ । नेपालको सन्दर्भमा हाइड्रो इलेक्ट्रीसिटी, पर्यटन, कृषि र सूचना–प्रविधि आर्थिक समृद्धिका मुख्य कारक हुन् ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा नेपालको अर्थतन्त्र छ । भूपरिवेष्ठित देश भए पनि विश्वको एक तिहाइ जनसंख्या हाम्रो वरिपीि रहेको छ । भारत र चीनको ठूलो बजारको मूल्य शृंखलामा नेपालले आफ्नो आबद्घता जनाएर आर्थिक वृद्घि, रोजगारी, गरिबी निवारण, असमानता न्यूनीकरण र अत्याधुनिक प्रविधि प्रयोगतर्फ मुलुक अगाडि बढाउनुपर्ने देखिन्छ ।

अर्थतन्त्रको विकासमा सबैभन्दा महत्वपूर्ण क्षेत्रको रूपमा रहेको हाइड्रोइलेक्ट्रिसिटीमा नेपालले पछिल्लो समय ठूलो फड्को मारेको छ । अहिले नेपालको करिब ९९ प्रतिशत जनसंख्यामा जलविद्युत्को पहुँच पुगेको छ । विद्युत् निर्यातको सुरुआत पनि गरिसकेका छौँ । एक वर्षमा साढे १७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गरेका छौँ । १० वर्षअगाडि १८ घन्टाको लोडसेडिङमा मुलुक थियो भने अहिले विद्युत् उत्पादन पाँच गुणा वृद्घि गरिसकेका छौँ ।

अर्थतन्त्रको अर्को महत्वपूर्ण उत्पादनमूलक क्षेत्र हो । यसले एक दशकमा करिब ३ प्रतिशतको वृद्घि गरेको छ भने समग्रमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान ५ प्रतिशत हाराहारी रहेको छ । यो एक दशक अगाडि ५.४ प्रतिशत रहेको थियो । रोजगारी सिर्जनाका लागि उत्पादनशील क्षेत्रको वृद्घि हुनु जरुरी छ ।

कुनै पनि अर्थतन्त्रको विकास भनेको पहिला कृषिको आधुनिकीकरण (हरित क्रान्ति), त्यसपछि उत्पादन अनि सेवा क्षेत्रको विकास हो । हाम्रोमा हरित क्रान्ति र उत्पादन क्षेत्रको उल्लेखनीय रूपमा वृद्घिबिना अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान बढ्दै गएको छ । यसले गर्दा मुलुकमा ठूलो संख्यामा बेरोजगारी बढाएको छ । बेरोजगारीका कारणले मुलुकको सुशासनमा समेत समस्या ल्याउने गरेको छ । मुलुकमा विभिन्न आन्दोलन र अशान्ति आउने एउटा कारण यो पनि हो । हाम्रो आन्तरिक उत्पादनको अवस्था हेर्दा पछिल्लो दशकमा २.९ प्रतिशत मात्रै वृद्घि भएको देखिन्छ । यो कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत हो । त्यसअघिको अवधिमा यस्तो वृद्धिदर ५.४ प्रतिशत थियो ।

अर्को ठूलो सम्भावना भएको क्षेत्र पर्यटन हो । सन् २०२४ मा ११ लाख ५० हजार पर्यटकको आगमन भएको थियो । यसको योगदान कुल गार्हस्थ उत्पादनमा करिब २ प्रतिशत हाराहारी छ । तर, यसको स्याटेलाइट एकाउन्टिङ छैन । नेपालमा पर्यटकको औषत बसाइ १३ दिन हाराहारी छ । पर्यटनबाट जुन हिसाबले लाभ लिन सकिने हो, त्यो लिन सकिएको छैन । यसको मुख्य समस्या भनेको कनेक्टिभिटी, राष्ट्रिय ध्वजावाहक बलियो हुन नसक्नु, अन्तर्राष्ट्रिय हवाई उड्डयनसँगको कनेक्टिभिटी राम्रो हुन नसक्नु, हवाई उडानको लागत बढी हुनु, पूर्ण क्षमताका अन्तर्राष्ट्रिय विमानस्थल नहुनु, सडक पूर्वाधार अवस्था कमजोर हुनुलगायतका कारण मुख्य जिम्मेवार छन् ।

हाम्रो अर्थतन्त्रको अर्को महत्वपूर्ण क्षेत्र कृषि हो । यसमा ६० प्रतिशतभन्दा बढी जनसंख्या आश्रित छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सन् २०२५ मा २५.२ प्रतिशत रहेको छ, जुन २०१५ मा २८.४ प्रतिशत रहेको थियो । यसरी हेर्दा कृषिको योगदान क्रमशः घट्दै गएको अवस्था छ । औषत वृद्घि भने ३ प्रतिशतले भएको देखिन्छ । नेपालको सूचना प्रविधि क्षेत्रको विकास द्रुत गतिमा बढेको छ । अर्थतन्त्रको मुख्य खम्बाका रूपमा यो क्षेत्र अगाडि आइरहेको छ । पछिल्लो आर्थिक वर्ष २०२४÷२५ मा १६ बिलियन बराबरको सूचना प्रविधि सेवा निर्यात भएको दखिन्छ । अहिले हामी सिमेन्टमा आत्मनिर्भर भइरहेका छौँ । सन् २०२६ नोभेम्बरदेखि हामी अति कम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छौँ ।

पछिल्लो अर्थतन्त्रको कुरा गर्दा २०.३ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ । बहुआयामिक सूचकको आधारमा १७.४ रहेको छ । नेपालको मातृ मृत्युदर प्रतिलाखमा १५१ रहेको छ, जुन २०१५ मा २५८ थियो । शिशु मृत्युदर प्रत्येक एक हजार जन्ममा २५ रहेको छ, जुन २०१५ मा ३८ थियो । शैक्षिक संस्थामा विद्यार्थीको भर्ना १ देखि ८ कक्षासम्म ९४.१ प्रतिशत रहेको छ, जुन २०१५ मा ७६ प्रतिशत मात्रै थियो । पिउनेपानीको पहुँच करिब ९७ प्रतिशत जनसंख्यामा पुगेको छ, जुन २०१५ मा ८७ प्रतिशत थियो । सरसफाइमा ९५.५ प्रतिशत छ, जुन २०१५ मा ८२ प्रतिशत थियो । औषत उमेर ७१.३ वर्ष रहेको छ, जुन २०१५ मा ६७ वर्ष मात्रै थियो ।

यसरी हेर्दा पछिल्लो १० वर्षमा शिक्षा, स्वास्थ्य र जीवनस्तरका सूचकमा नेपालले उल्लेखनीय सुधार गरेको छ । यति हुँदाहुँदै पनि नेपालको अर्थतन्त्रका लागि मुख्य चुनौती भनेको लगानी हो । अहिले कुल गार्हस्थ उत्पादनको करिब ०.२ प्रतिशत हाराहारी लगानी अवस्था देखिएको छ । त्यसैले पनि हामीले अहिले लगानी वृद्घि गर्न जरुरी छ ।

पछिल्लो समय जेनजीको आन्दोलन मूलभूत रूपमा भ्रष्टाचार अन्त्य, सुशासन र सेवाको प्रभावकारितासँग जोडिएको देखिन्छ । जेनजी आन्दोलनपछिको दुई महिना नियाल्दा अर्थतन्त्रमा एकदमै उत्साहजनक सुधार छ । पहिलो दुई महिनामा १६ प्रतिशत आयात वृद्घि थियो । अहिले १९ प्रतिशत आयात वृद्घि भएको अवस्था छ । निर्यात वृद्घि ८० प्रतिशतभन्दा माथि रहेको छ ।

पर्यटक आगमन अक्टोबर महिनामा अहिलेसम्मकै बढी भयो । नोभेम्बरमा पनि विगतको भन्दा राम्रो अवस्था छ । कर्जा विस्तार लगानीको हिसाबले ८ प्रतिशत हाराहारी छ । राजस्व वृद्घि ९ प्रतिशत हाराहारी छ । मुद्रास्फीति २ प्रतिशतभन्दा मुनि छ । ब्याजदर न्यूनतम बिन्दुमा छ । २२ अर्बभन्दा बढी विदेशी विनिमय सञ्चिति राष्ट्र बैंकमा छ । बैंकहरूमा तरलता ७÷८ अर्बभन्दा बढी छ ।

पछिल्लो समय सबै सेवा विस्तारै सुरु भएका छन् । पुनर्निर्माणका लागि लस एन्ड ड्यामेज कमिटी राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन भएर काम गरिरहेको अवस्था छ । त्यो कमिटीको प्रतिवेदन छिट्टै आउने क्रममा छ । अहिलेसम्मको प्राप्त प्रारम्भिक तथ्यांकअनुसार १ खर्ब बराबरको सरकारी संरचना, सरकारको सार्वजनिक क्षेत्रमा क्षति र ३० अर्बमाथि निजी क्षेत्रमा क्षति भएको देखिन्छ । बिमातर्फ भने ३ अर्बमाथि भुक्तानी भएको देखिन्छ ।

जेनजी आन्दोलनपछिको एक साताभित्रमा १ खर्ब २० अर्ब खर्च कटौती, साना टुक्रे र तयारी नपुगेका आयोजना कटौती निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा क्याबिनेटले गरिसकेको छ । उता, सात दिनभित्र एकीकृत आर्थिक सुधार योजना सरकारले घोषणा गरेको अवस्था थियो । पछिल्लो अवस्थामा निर्वाचनका लागि स्रोत जुटाउन समस्या छैन ।

खासगरी अर्थतन्त्रको पछिल्लो अवस्था भनेको आर्थिक वृद्धि नै हो । पछिल्लो ५० वर्षको वृद्घिदर ४ प्रतिशत तल छ । त्यसैले अर्थतन्त्रमा आर्थिक वृद्धि हासिल गर्न लगानी नै बढाउनुपर्छ । लगानीका सन्दर्भमा आन्तरिक लगानी र प्रत्यक्ष वैदेशिक लगानी दुवै  बढाउनुपर्छ । आन्तरिक लगानीका लागि तरलता पनि रहेको छ । लगानी वातावरण बनाउन निजी क्षेत्रको मनोबल बढाउनुपर्छ । निजी क्षेत्रको विकासबिना देशको अर्थतन्त्रको विकास सम्भव छैन ।

निजी क्षेत्रको लगानी वातावरण सुदृढ बनाउँदा मात्रै रोजगारी अवसर मुलुकभित्रै सिर्जना हुने, गरिबी निवारणमा योगदान दिने, उत्पादन बढ्ने, मुलुकको आर्थिक वृद्घिदर माथिल्लो स्तरमा जाने देखिन्छ ।

आर्थिक वृद्घिदर सँगसँगै प्राप्त हुने राजस्वबाट भौतिक तथा सामाजिक, आर्थिक, पूर्वाधारमा देशले फड्को मार्ने अवस्था सिर्जना हुन्छ । सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रभावकारिता अहिलेको प्राथमिकता हो । अर्थतन्त्रको विकासका लागि लगानी वातावरण सिर्जना गर्दै रोजगारीका अवसर वृद्घि गर्ने, गरिबी निवारणका प्रयास सार्थक बनाउँदै सामाजिक, आर्थिक विकासमा मुलुकलाई अगाडि बढाउनु अबको प्राथमिकता हुनुपर्ने देखिन्छ ।

मुलुकको आर्थिक, वित्तीय तथा मौद्रिक व्यवस्थापनलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउँदै समष्टिगत आर्थिक स्थायित्व तथा आर्थिक विकाससँग सम्बन्धित सम्पूर्ण गतिविधि व्यवस्थापन गर्ने अभिभारा अर्थ मन्त्रालयमा रहेको छ ।

सार्वजनिक खर्च व्यवस्थापन, अन्तरसरकारी वित्त व्यवस्थापन, राजस्व संकलन, वैदेशिक सहायता व्यवस्थापन, सरकारको आर्थिक प्रशासन, बैंक तथा वित्तीय क्षेत्र व्यवस्थापन, विदेशी विनिमय, बिमा तथा पुँजीबजार व्यवस्थापन र नियमन, सार्वजनिक संस्थानको समग्र नीतिगत विषय तथा सरकारको आर्थिक नीति एवं बजेट तर्जुमा, सरकारको अल्पकालीन तथा दीर्घकालीन खर्च व्यवस्थापनसम्बन्धी कार्य अर्थ मन्त्रालयबाट सम्पादन हुँदै आएको छ ।

सबल र सुदृढ आर्थिक एवं वित्तीय व्यवस्थापनको माध्यमबाट अर्थतन्त्रको क्षमता अभिवृद्धि गर्दै दिगो, फराकिलो तथा उच्च आर्थिक वृद्धि र सामाजिक न्यायसहितको विकासमा योगदान पु¥याउँदै समृद्ध एवं समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने मन्त्रालयको दीर्घकालीन सोच रहेको छ । त्यस्तै, आन्तरिक राजस्वको आधार विस्तार एवं सुदृढीकरण गर्दै उपलब्ध वित्तीय स्रोतको प्रभावकारी र समुचित उपयोगबाट समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सहयोग पु¥याउने अर्थ  मन्त्रालयको उद्देश्य छ ।

विदेशी लगानी समन्वयमा सुधार

नेपालको आर्थिक अवस्था सँगसँगै यसको समृद्धि र विकासलाई गति दिने प्रमुख अवयवमध्ये एक हो–विदेशी लगानी । देशको समृद्धिको यात्रा दीर्घकालीन र द्रुत बनाउन  अर्थ मन्त्रालयले विभिन्न आर्थिक सुधारका प्रक्रिया अघि बढाएको छ ।

अर्थ मन्त्रालयले विदेशी लगानी प्रवाहलाई प्रोत्साहन गर्न धेरै नयाँ योजना र सुधारका प्रयास सुरु गरेको छ । हालैको एउटा महत्वपूर्ण कदम भनेको अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाअन्तर्गतको फोकल युनिट स्थापना हो । यस युनिटको उद्देश्य नेपालमा विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउनु हो । यो युनिटले विदेशी लगानीकर्ता र सरकारका विभिन्न मन्त्रालय र निकायबीचको समन्वयलाई सुदृढ गर्नेछ ।

यो युनिटले विशेषगरी विदेशी लगानीकर्ताका लागि बैंकिङ, कर–राजस्व तथा प्रशासनिक समन्वय प्रक्रियामा सहजीकरण र सुदृढता प्रदान गर्ने उद्देश्य राखेको छ । यस सुधारले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको छ । नेपालको प्रशासनिक संरचनामा सुधार र समन्वयलाई बलियो बनाएर हामी विदेशी लगानीलाई आकर्षित गर्न सक्छौँ ।

विदेशी लगानीलाई आकर्षित गर्न विभिन्न पहलमा काम भइरहेका छन् । एउटा प्रमुख पहल भनेको ‘भर्चुअल स्पेसल इकोनोमिक जोन’ को अवधारणा हो । यो नयाँ ‘स्पेसल इकोनोमिक जोन’ अवधारणा पारम्परिक जोनभन्दा भिन्न हुनेछ । यसमा उद्योग रहेका स्थानको महत्वपूर्ण भूमिका हुने छैन । भर्चुअल स्पेसल इकोनोमिक जोनले उद्योगलाई कहीँ पनि खोल्न र समान प्रोत्साहन प्राप्त गर्न सुविधा दिनेछ । यसले नेपालभरका विभिन्न क्षेत्रमा समान अवसर सिर्जना गर्ने उद्देश्य राख्दछ ।

यसका साथै विदेशी लगानीकर्ताका लागि समन्वय प्रक्रियामा सुधार गर्ने सन्दर्भमा भन्सार, कर र अन्य प्रशासनिक प्रक्रियालाई सहज बनाउन कदम उठाइएको छ । विदेशी लगानीका लागि सकारात्मक वातावरण सिर्जना गर्न पारदर्शिता र समन्वय महत्वपूर्ण छ । हामी बैंकिङ एवं राजस्व समन्वयलाई सुधार्दै, लगानीकर्ताका लागि सरल र स्पष्ट प्रक्रिया तयार गर्दै छौँ ।

आर्थिक सुधारका कार्य केवल सरकारी संरचनामा मात्र सीमित छैनन्,  बरु यसमा निजी क्षेत्रको पनि ठूलो भूमिका रहेको छ । जबसम्म निजी र सरकारी क्षेत्रबीच सशक्त सहकार्य र संवाद हुँदैन, तबसम्म आर्थिक सुधारमा अपेक्षित सफलता प्राप्त गर्न सकिँदैन । निजी क्षेत्रको विश्वास र सहयोग प्राप्त नगरेसम्म कुनै पनि सुधार प्रभावकारी बन्न सक्दैनन् ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँदै आर्थिक सुधार प्रक्रिया अघि बढाइएको छ । यसका लागि अर्थ मन्त्रालयले नयाँ आर्थिक रणनीति र सुधारका योजना तयार गरेको छ । जस्तै, ‘बिजनेस रिकभरी प्लान’को तयारी र राज्यको सम्पत्ति एवं बजेटको कुशल व्यवस्थापनजस्ता कार्यलाई उच्च प्राथमिकता दिइएको छ । प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणका उपायबाट हामीलाई आर्थिक वृद्धि र समृद्धि ल्याउन मद्दत मिल्छ ।

अर्थ मन्त्रालयले बैंकिङ र वित्तीय क्षेत्र सुधारका लागि विशेष ध्यान दिएको छ । हालका सुधारात्मक प्रयासमा एक महत्वपूर्ण पहल भनेको बैंकिङ क्षेत्रको ब्याजदरमा कमी ल्याउनु हो । ब्याजदरमा कमी आएपछि लगानीकर्ताले कर्जा लिन सहज महसुस गरेका छन्, जसले लगानी प्रवाहलाई तीव्र बनाएको छ । यसरी अर्थ मन्त्रालयको नयाँ पहलले आर्थिक प्रणालीलाई थप सक्रिय र लचकदार बनाउनेछ ।

अर्थ मन्त्रालयले मुलुकको आर्थिक विकासका लागि सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रमुख महत्व दिएको छ । यदि भ्रष्टाचार र अपारदर्शिता हटाउन सकिएन भने आर्थिक सुधार प्रक्रिया सफल हुन असम्भव छ । जबसम्म सरकार र निजी क्षेत्र दुवै भ्रष्टाचार र प्रशासनिक अनियमिततामा कडाइ गर्दैनन्, तबसम्म मुलुकको आर्थिक अवस्था सुधार गर्न सकिँदैन । यसका लागि अर्थ मन्त्रालयले सरकारी प्रक्रियामा सुधार र कर्मचारीका लागि कडा मापदण्ड राख्दै यस्तो वातावरण तयार गर्न लागिरहेको छ, जसले नागरिक र लगानीकर्तालाई सुरक्षा एवं पारदर्शिता सुनिश्चित गर्छ । ‘भर्चुअल स्पेसल इकोनोमिक जोन’ को अवधारणा अघि बढाउँदा भ्रष्टाचार र असमानतालाई सम्बोधन गर्न विशेष ध्यान दिइएको छ ।

मन्त्रालयले सार्वजनिक संस्थानको सुधारलाई पनि प्राथमिकता दिएको छ । सार्वजनिक संस्थानहरूको व्यवस्थापन र आर्थिक कारोबारलाई पूर्णतया डिजिटल गर्न पहल सुरु गरिएका छन् । यसले सेवाग्राहीलाई तीव्र र सजिलो सेवा उपलब्ध गराउने मात्र होइन, सरकारी खर्चको अनावश्यक वृद्धिसमेत कम गर्नेछ । यसले सरकारी संसाधन प्रयोगमा कुशलता र पारदर्शिता ल्याउनेछ, जसले गर्दा लगानीकर्तामा विश्वास निर्माण हुनेछ ।

आर्थिक समृद्धिका लागि सुशासन र लगानीमैत्री वातावरण अनिवार्य

आर्थिक समृद्धिका लागि सुशासन र लगानीमैत्री वातावरण अनिवार्य

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहका अवसरमा आयोजित कार्यक्रममा उहाँले विगतका वर्षहरूमा राजनीतिक असन्तुष्टि तथा अस्थिरताले विकास र आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै भन्नुभयो, “देशमा राजनीतिक असन्तुष्टि जसरी पनि प्रकट भए पनि यहाँ जो कोहीले गरेको सम्पत्ति सिर्जना नेपालको सम्पत्तिनै हो भन्ने बुझाइ सबैतिर हुनुपर्छ ।”

अर्थमन्त्री खनालले बढ्दो प्रविधि प्रयोगसँगै सूचनाको आधिकारिकता र त्यसले पार्ने प्रभावबारे सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । सञ्चार क्षेत्रमा आउने गलत तथा अप्रमाणित सूचनाले अन्तर्राष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै उहाँले सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

“उचित सन्देश तथा सही सूचनाले निजी क्षेत्रमा सकारात्मक सोच विकास हुन्छ, लगानीकर्ताको मनोबल बलियो बन्छ । त्यसैले सूचना प्रवाहको संवेदनशीलता बुझ्नैपर्छ,” उहाँले स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खनालले पछिल्लो समय सरकार ठूला पूर्वाधार आयोजनामा बजेट थप्दै काम अगाडि बढाइरहेको जानकारी दिनुभयो । साथै, पुँजी बजारका विद्यमान समस्याहरू समाधान गर्न तथा पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा–सुविधालाई कानुनी ढाँचामा ल्याई नियमन गर्ने कार्य भइरहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खनालले नेपालको अर्थतन्त्रले भोगेका आरोह–अवरोहमा सेजनले मार्गदर्शकको भूमिकामा रहेर जिम्मेवार र पेशेवर पत्रकारितालाई प्रवर्द्धन गर्दै आएको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले आउने दिनहरूमा आर्थिक सबलीकरण, आन्तरिक उत्पादन वृद्धि, उत्पादकत्व विस्तार तथा रोजगारी सिर्जना सरकारका प्रमुख लक्ष्य हुने बताउनुभयो ।

“सरकार तोकिएको समयमा निर्वाचन गर्ने, सुशासन कायम गर्ने र सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढिरहेको छ,” मन्त्री सिन्हाले भन्नुभयो ।

उहाँले आर्थिक गतिविधि वृद्धि गर्न निजी क्षेत्रलाई सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा लिई काम भइरहेको तथा जेनजी आन्दोलनको मर्मलाई समेत नबिर्सी सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो ।

गत भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने तथा घाइते परिवारलाई सरकारले जिम्मेवारीपूर्वक हेरिरहेको बताउनुहुँदै मन्त्री सिन्हाले सुशासन र भ्रष्टाचार निवारणलाई सरकारको मुख्य अभिभारा रहेको पनि स्मरण गराउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले अहिले नेपालको अर्थतन्त्रले भोगिरहेको मुख्य चुनौती तरलता व्यवस्थापन रहेको बताउनुभयो । बैंक तथा वित्तीय क्षेत्रभित्र पर्याप्त तरलता र न्यून ब्याजदर भएकै परिस्थितिमा पनि ठूलो पूर्वाधारमा लगानी विस्तार हुन नसक्नु चिन्ताको विषय भएको गभर्नर पौडेलले बताउनु भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै उहाँले मौद्रिक नीतिमा राखिएका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षित परिणाम आउन नसकेको समेत उल्लेख गर्नुभयो । गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको लगानी केही निश्चित क्षेत्रमा केन्द्रित भएको बताउँदै स्थानीय आवश्यकता अनुसार कर्जा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

विशेषगरी कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रहरूमा कर्जा प्रवाह बढाउन सके आर्थिक गतिविधि बलियो रूपमा अगाडि बढ्ने उहाँको तर्क छ ।

“कर्जा विस्तार गर्दा जोखिम व्यवस्थापनसँगै स्थानीय आर्थिक प्राथमिकता हेरिनुपर्छ । उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ,” उहाँले भन्नुभयो ।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो नाफा वृद्धि केवल कर्जाको दरमा निर्भर नगराई व्यवसाय विस्तार, सेवा प्रवाहको सहजता र प्रविधिको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “मौद्रिक नीतिका उद्देश्य पूरा गर्न बैंकहरू स्वयं सक्रिय हुनुपर्छ । वित्त र मौद्रिक नीतिहरू अझ लचक हुँदै जानेछन्, त्यसको लाभ लिन बैंक तथा वित्तीय संस्थाहरू तयार हुनुपर्छ ।”

अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र समान रूपमा जिम्मेवार रहेको स्मरण गराउँदै गभर्नर पौडेलले वर्तमान आर्थिक अवस्थालाई हेर्दा सरकारको पूँजीगत खर्च बढाउन जरुरी रहेको बताउनुभयो ।

“अर्थतन्त्रका विभिन्न गतिविधिहरू बढ्दै छन् । यसलाई थप गतिशील बनाउन सबै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,” गभर्नर पौडेलको भनाइ छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट फैलिएको गलत सूचनाले नेपालमा लगानी वातावरण र निजी क्षेत्रको मनोबलमा प्रतिकूल असर परेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले जेनजी आन्दोलनका क्रममा गलत सूचनाका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गराउँदै भन्नुभयो, “गलत सूचना कस्तो विनाशकारी हुन सक्छ भन्ने उदाहरण हामीले हालै जेनजी आन्दोलनमा भोग्यौं ।”

ढकालका अनुसार आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । लगानीलाई प्रोत्साहन दिने वातावरणका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज सेवा प्रवाह अनिवार्य रहेको भन्दै उहाँले सरकारसँग निजी क्षेत्र लामो समयदेखि यिनै माग राख्दै आएको जानकारी दिनुभयो ।

“निजी क्षेत्र नै अर्थतन्त्रको इन्जिन हो । तर हरेक राजनीतिक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने क्रमले लगानी उत्साह घटाएको छ,” उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले मुलुकमा केही पनि काम नभएको जस्ता नकारात्मक धारणा चिर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यबाट व्यक्त गरिएका नीति तथा प्रतिबद्धता कार्यान्वयनमा जोड दिनुभयो ।

उहाँले भूतप्रभावी कानुन तथा अनिश्चितता सिर्जना गर्ने प्रावधानले लगानी वातावरण कमजोर पारेको टिप्पणी गर्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले लगानीकर्ताको खस्किएको मनोबल उकास्न राज्यले तुरुन्त कदम चाल्नुपर्ने बताउनुभयो ।

“बाह्य क्षेत्र राम्रो छ, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, ब्याजदरमा सुधार छ । तर लगानी बढ्न सकेको छैन,” उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “समग्र अर्थतन्त्रलाई असर नपुगोस् भन्न आर्थिक क्षेत्रका सबै समस्याको समाधान गर्नुपर्छ।”

पाण्डेका अनुसार आर्थिक समृद्धिका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, र लगानीमैत्री वातावरण अपरिहार्य छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले कोभिड–१९ पछि मुलुकको आर्थिक अवस्था पूर्णरूपमा सुधार हुन नसकेको उल्लेख गर्दै पछिल्लो समय औद्योगिक प्रतिष्ठानहरू सुरक्षाका दृष्टिले संवेदनशील बन्दै गएको बताउनुभयो ।

उहाँले निजी क्षेत्रको मनोबल दिनप्रतिदिन खस्किरहेको बताउँदै लगानी सुरक्षाको प्रत्याभूति राज्यले अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

युवाहरूको ठूलो संख्यामा विदेश पलायन, उद्यमी व्यवसायीहरू कालोसूचीमा पर्नु, र कर्जा प्रवाह तथा कर प्रणालीका कठिनाइले व्यवसायी निराश बनिरहेको उहाँको विश्लेषण छ ।

अध्यक्ष अग्रवालले सरकारलाई यस क्रममा केही तात्कालिक कदम चाल्न सुझाव पनि प्रस्तुत गर्नुभयो । कर्जाको पुनर्संरचना प्रभावकारी रूपमा लागू गर्नुपर्ने, चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन खारेज गर्नुपर्ने, मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर कायम गरी सरल बनाउनुपर्ने, नकारात्मक सूचीका वस्तु बाहेक अन्य वस्तुमा अन्त:शुल्क दर घटाउनुपर्ने, निर्यात अनुदान निरन्तरता दिनुपर्ने, सहकारी संकट समाधानका लागि उधारो असुली सम्बन्धी कानुन बनाउनुपर्ने लगायतका सुझाव उहाँले दिनुभयो ।

ग्रील तथा स्टील व्यवसायी महासंघको ३०औँ साधारणसभा : व्यवसाय पुनर्गठन र अवैध प्रतिस्पर्धा नियन्त्रण मुख्य एजेन्डा

ग्रील तथा स्टील व्यवसायी महासंघको ३०औँ साधारणसभा : व्यवसाय पुनर्गठन र अवैध प्रतिस्पर्धा नियन्त्रण मुख्य एजेन्डा

काठमाडौं । आर्थिक मन्दी, मूल्यबृद्धि र अवैध प्रतिष्पर्धाको चपेटामा परेका ग्रील तथा स्टील व्यवसायीहरुले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन पुर्नगठनलाई प्राथमिक एजेण्डा बनाउँदै आगामी वर्षका ठोस कार्ययोजना सार्वजनिक गरेका छन् ।

देशभरका करिब ११ हजार व्यवसायी र डेढ लाखभन्दा बढी कर्मचारी–मजदुरको प्रतिनिधित्व गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको राजधानीमा सम्पन्न ३०औँ वार्षिक साधारणसभामा व्यवसायीलाई सुरक्षित, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले संरचनागत तथा कानुनी सुधारका एजेन्डा अघि सारिएको हो ।

नीति निर्माणदेखि अवैध व्यवसाय नियन्त्रणसम्मका महत्वपूर्ण निर्णयहरू घोषणा गर्दै “व्यवसायीलाई स्पातजस्तै सुदृढ बनाउने” प्रतिवद्धता व्यवसायीहरुले व्यक्त गरेका छन् ।

साधारणसभाको अध्यक्षता गर्दै महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले २०५० साल तिरबाट संगठित भएर ग्रील तथा स्टील व्यवसायीहरुलाई संगठित गर्दै ३० औं वर्षको यात्रा तय गर्दासम्म धेरै उपलब्धिहरु हासिल गरेको बताउनुभयो ।

ग्रील तथा स्टील व्यवसायीहरुको त्याग र समर्पणबाट हिजो एक अर्कामा बोल्न समेत नचाहने व्यवसायीहरु आज एउटै टेबलमा बसेर वैचारिक विमर्श तथा कार्य सम्पादनमा समेत सहकार्य गर्न तयार भएको अवस्थाले व्यवसायीहरुमा ल्याएको परिवर्तनको चित्रण गरिरहेको उहाँले बताउनुभयो ।

महासंघ बलियो हुनको लागि संगठनमा आबद्ध भएका व्यवसायी बलियो हुन जरुरी रहेको भन्दै अध्यक्ष श्रेष्ठले अहिले संगठनलाई मजबुत बनाएर अगाडी बढाउँदै लैजाने तथा ग्रील व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने योजना बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि अनाधिकृत रुपमा बजार विगार्न आएका अवैधानिक मिस्त्री तथा व्यवसायीको मेसिन नै कब्जा गरेर कारबाहीको दायरामा जान बाध्य भएको उहाँले बताउनुभयो ।

राज्यको करको दायरामा पनि आउन नचाहने हाम्रो संगठनमा पनि जोडिन नचाहाने अवैध व्यवसायीहरुको हकमा भने निर्मम बन्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो – “यिनको कारण भएको उपभोक्ता ठगी तथा बजारको अस्थिरताको विषयमा ठोस नीति बनाएर स्थानीय सरकार र स्थानीय प्रशासनसँगको सहकार्यमा कारबाही प्रकृया अगाडि बढाउन सबै क्रियाशील बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

हार्डवेयर व्यवसाय र ग्रील तथा स्टील व्यवसायको बीचमा नङ र मासुको सम्बन्ध हुनुपर्नेमा पछिल्लो समय केहि दरार पैदा भएको महशुस भएको अनुभुति भएकोले यी दुई व्यवसाय बीचको सम्बन्ध सुमधुर बनाउन महासंघले छलफल र अन्तरक्रिया गर्दै अगाडी बढाउने उहाँले बताउनुभयो ।

महासंघका संस्थापक अध्यक्ष मधुबहादुर कार्कीले संगठन निर्माणका प्रारम्भिक कठिनाइ, संस्थाको इतिहास, विस्तार र संस्थागत विकासका महत्वपूर्ण अध्यायहरू स्मरण गर्दै वर्तमान नेतृत्वलाई अझ योजनाबद्ध रुपमा अघि बढ्न शुभकामना दिनुभयो ।

महासंघका महासचिव विवेकदास श्रेष्ठले देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको भन्दै  कच्चा पदार्थदेखि श्रम लागतसम्म बढिरहेको दबाब, अवैध तथा अनियन्त्रित व्यवसाय, कर असमानता तथा गुणस्तरहीन उत्पादनका कारण व्यवसाय निरन्तर जोखिममा परिरहेको बताउनुभयो । यस्तो अवस्थामा महासंघले व्यवस्थित, जिम्मेवार र पारदर्शी व्यवसाय निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको उहाँले बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवालले महासंघले विगतमा गरेका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा गर्दै संस्थागत एकता र बलियो संरचना निर्माणमा सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघका वरिष्ठ सल्लाकार निरञ्जन कुमार श्रेष्ठले व्यवसायमा देखिने अनियमितता हटाई व्यवस्थित कारोबार प्रणाली कायम गर्न महासंघले नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा आफ्नो शुभकामना मनतव्य राख्दै चितवन जिल्लाका तारा बहादुर कार्कीले काठमाडौं उपत्यकालाई मात्र महासंघ भन्ने भाष्यलाई विस्थापन गराएर देश भरका व्यवसायीहरुको साझा संगठनको रुपमा बिकास गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले देशभरका व्यवसायीहरूलाई एकीकृत ढंगले अगाडि बढाउने महासंघको भूमिकालाई थप विस्तार गर्नुपर्ने सुझाव राख्नुभयो ।

वैज्ञानिक एवं वातावरणविद राम चरित्र शाह, महासंघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक बर्मा, बागमती प्रदेशका संयोजक प्रकाश पौडेल, गण्डकी प्रदेशका संयोजक रण बहादुर विश्वकर्मालगायतले मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगतिबारे समीक्षा, अद्यावधिक कार्ययोजना तथा आगामी वर्षको रणनीतिबारे विस्तृत छलफल भएको थियो ।

बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, कुशल जनशक्तिको अभाव, आपूर्ति व्यवस्थाको चुनौति जस्ता मुद्दाहरूलाई महासंघले प्राथमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

साधारणसभामा देशभरका ग्रील तथा स्टील व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई उनीहरूका समस्या समाधान तथा अधिकार संरक्षणमा महासंघको भूमिका झनै प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

घरेलु तथा साना उद्योग प्रवर्द्धनमा सरकारको दृढ प्रतिबद्धता : मन्त्री सिन्हा

घरेलु तथा साना उद्योग प्रवर्द्धनमा सरकारको दृढ प्रतिबद्धता : मन्त्री सिन्हा


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउन लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको भन्दै यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासका लागि सरकार प्रतिवद्ध भएर लाग्ने बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग सिँहदरबारस्थित मन्त्रालयमा भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री सिन्हाले भन्नुभयो – “अर्थतन्त्रको महत्वपूर्ण पाटोका रुपमा रहेका घरेलु तथा साना उद्योगहरु मेरो र सरकारकै पनि प्राथमिकता प्राप्त क्षेत्र हो । छोटो समयको लागि यो जिम्मेवारीमा आएको छु के कति हदसम्म गर्न सकिन्छ म पहल गर्छु ।”
मन्त्री सिन्हाले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अंगिकार गरेको जानकारी दिँदै यस्तो प्रयोगले रोजगारी सिर्जना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको बताउनुभयो ।
मुलुकको पुननिर्माण तथा मर्मत कामहरुमा स्थानीय स्रोत साधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी निर्वाचनका लागि जेजति वस्तु आवश्यक पर्छ स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरेको बताउनुभयो ।
सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता रहेको भन्दै उहाँले विशेष गरी फर्निचर र निर्माण सामग्रीहरूमा पुनर्निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँहले बैंकको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमीहरु ऋण तिर्न असमर्थ रहेकाले ब्याजदर घटाउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानकर्षण गराउनुभयो ।
उद्यमीले लिएको ऋणको पुनर्तालिकीकरण तथा ऋण पुनर्संरचनाको आवश्यकता औंल्याउँदै उहाँले यस्ता उद्योगको हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पु-याउनुपर्ने र २–३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराउनुभयो ।
स्वदेशी उत्पादनहरुलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाई भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औंल्याउँदै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने बताउनुभयो । निर्यात प्रवद्र्धनका लागि प्रोत्साहन तथा प्रक्रिया सरलीकरण आवश्यक आवश्यक भएको भन्दै उहाँले ठुला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवा सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो  ।
महासंघ अन्तरगत केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवालले महिलाहरुले सञ्चालन गरिरहेका साना तथा घरेलु उद्योग अफ्ठ्यारोमा रहेको भन्दै यस्ता अफ्ठ्यारोलाई फुकाउन सहुलियत दरको कर्जामार्फत सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्धय डा. रामप्रसाद घिमिरे र कृष्ण बहादुर राउत, महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।
धितोपत्र बजार सुधारको ऐतिहासिक अवसर: गुमाउने कि उपयोग गर्ने ?

धितोपत्र बजार सुधारको ऐतिहासिक अवसर: गुमाउने कि उपयोग गर्ने ?

पूँजीबजार सुधार सुझाव कार्यदलको सुझाव

काठमाडौं । नेपालको पूँजीबजारमा देखिएको गम्भीर अविश्वास र अव्यवस्थालाई सम्बोधन गर्न गठित सुधार सुझाव कार्यदलले सेयर धितो कर्जाको २५ करोडको सीमा हटाउनेदेखि लिएर, कानुनी तथा प्रणालीगत पुनर्संरचना गरी बजारमा पारदर्शिता, तरलता र लगानीकर्ता विश्वास पुनःस्थापित गर्ने थुप्रै सुझाव अर्थ मन्त्रालयलाई पेश गरेको छ ।

पूँजी बजारको समस्या अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाउँदै २५ करोडको सीमाका साथै बैङ्क तथा वित्तीय संस्थाहरूले सूचीकृत सङ्गठित संस्थाको सेयर तथा ऋण पत्रमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था खारेज गर्न पनि सुझाव दिएको छ ।

यस्तै कार्यदलले सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको २०८२ असोज मसान्तसम्म बुझाउनुपर्ने ब्याज पुस मसान्तसम्म बुझाएमा कुनै पनि थप जरिवाना नलाग्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

यस्तै धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने पनि कार्यदलको सुझावमा उल्लेख छ ।

सिडिएस तथा क्लियरिङ्ग लिमिटेडबाट प्रदान गरिने आइजिन सम्बन्धमा एकरूपता कायम गर्न निश्चित मापदण्ड तय गरी लागु गर्ने तथा हाल प्रचलनमा रहेको नेप्से सूचकाङ्कलाई अल इक्युटी इण्डेक्सको रूपमा कायम राखी कारोबार योग्य सेयरहरू फ्री फ्लो सेयरको आधारमा नयाँ सूचकाङ्क विकास गरी त्यसलाई बेञ्चमार्क सूचकाङ्कको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न कार्यदलले सुझाव दिएको छ ।

यस्तै गैर–व्यावसायिक सेयर बिक्री गर्दा नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर फाइनल ट्याक्सको रूपमा रहेको ब्यहोरा स्पष्ट गर्ने र सेयर बिक्री कारोबारमा दाखिला गरेको करको आधारमा प्राप्त हुनुपर्ने कर चुक्ता प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियालाई सहजीकरण गर्न कार्यदलले दिएको सुझावमा उल्लेख छ ।

सङ्गठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न कार्यदललेसुझाव दिएको छ ।

धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्नुपर्ने कार्यदलको सुझाव छ ।

लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्न पनि कार्यदलले सुझाव दिएको छ ।

यस्तै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता तथा संस्थागत सुशासनको अवस्थाका आधारमा गर्ने वर्गीकरण वस्तुनिष्ठ बनाउने तथा उक्त वर्गीकरण पश्चात् जेड समूहमा पर्ने कम्पनीहरूको कारोबार गर्दा शतप्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था गर्न कार्यदलले सुझाव दिएको छ ।

लगानीकर्ताको समस्या तथा गुनासो तत्काल सम्बोधनका लागि आवश्यक गुनासो व्यवस्थापन संयन्त्रको स्थापना गरी सञ्चालनमा ल्याउने र धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा प्रभावकारी ढङ्गले सम्पन्न गर्न संयन्त्रको स्थापना गर्न पनि कार्यदलको सुझाव छ ।

लगानीकर्ताहरूमा पुँजी बजार सम्बन्धी साक्षरताको लागि विभिन्न प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्नुपर्ने कार्यदलको सुझाव छ ।

मध्यकालमा गर्नुपर्ने सुधार

कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना गर्न प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रिया मार्फत पुँजी बृद्धि गर्ने प्रक्रिया सुरुवात गर्न तथा  प्राकृतिक व्यक्तिको कर निर्धारणको क्रममा आय वर्ष भित्र सामूहिक लगानी योजनामा लगानी गरेको निश्चित रकम कट्टी गर्न पाउने गरी आयकर ऐनमा व्यवस्था गर्न सुझाव दिएको छ ।

धितोपत्र बाँडफाँड सम्बन्धी विद्यमान व्यवस्थालाई समसामयिक पुनरावलोकन गर्दै सङ्गठित संस्थाले प्रारम्भिक सार्वजनिक सेयर निष्कासन गर्ने सम्बन्धमा रहेको जारी पुँजीको न्यूनतम १० प्रतिशतको सीमालाई पुनरावलोकन गर्न नियमाबली संशोधन गर्न सुझाव दिएको छ ।

आवश्यक विनियम निर्माण र प्रणालीको विकास गरी एसएमइ प्लेटफर्म सञ्चालनमा ल्याउने कार्यदलको सुझाव छ ।

यस्तै सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ अघि पुँजी सङ्कलन सम्बन्धमा अपनाइएको व्यवहार प्रि आइपिओलाई नियमन गर्न आवश्यक व्यवस्था गर्न कार्यदलको सुझाव छ ।

गैरआवासीय नेपालीहरूबाट दोस्रो बजारमा विदेशी मुद्रामा गर्ने लगानी र फिर्ता लाने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फण्ड र अक्सन मार्केट सञ्चालनमा ल्याउन कार्यदलले सुझाव दिएको छ ।

यथार्थपरक मूल्य निर्धारण प्रक्रियाका लागि बुक बिल्डिङ विधिलाई प्रभावकारी बनाउन यस सम्बन्धी नीतिगत व्यवस्था परिमार्जन गरी समसामयिक बनाउन तथा प्रारम्भिक सार्वजनिक निष्कासन र हकप्रद सेयर निष्कासन सम्बन्धमा निश्चित मापदण्ड तयार गरी लागू गर्न कार्यदलले सुझाव दिएको छ ।

संस्थापक सेयरधनीहरूको सेयर बिक्री सम्बन्धमा कायम रहेको लकइन अवधि एकै पटक नखुलाई चरणबद्ध रूपमा खुलाउने गरी धितोपत्र दर्ता तथा निष्कासन नियमाबली संशोधन गर्न कार्यदलको सुझाव छ ।

बिमा कम्पनीको सहायक कम्पनीलाई धितोपत्र व्यापारीको रूपमा कार्य गर्न दिने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमाबलीमा संशोधन गर्न तथा धितोपत्र कारोबार विनियमाबलीमा रहेको टिएमएस सम्बन्धी व्यवस्थामा सुधार गर्न कार्यदलको सुझाव छ ।

बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको संस्थापक सेयर खरिद बिक्री प्रक्रियाको विद्यमान व्यवस्था पुनरावलोकन गर्न तथा पुँजी बजारमा लगानीकर्ताको व्ययभार न्यूनीकरण गरी लागत प्रभावी बनाउन आवश्यक पुनरावलोकन गर्न कार्यदलले सुझाव दिएको छ ।

दीर्घकालमा गर्नुपर्ने सुधार

यस्तै धितोपत्र बजार सञ्चालन र नियमन सम्बन्धी छुट्टाछुट्टै विशिष्टीकृत ऐन, वित्तीय क्षेत्र सम्बन्धी ट्रस्टी ऐन, धितोपत्र सम्बन्धी कसुर तथा सजाय सम्बन्धी नियमावली, लगानी परामर्श, रिसर्च एनालिष्ट सम्बन्धी कानुनी व्यवस्था गर्न कार्यदलको सुझाव छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा रणनीतिक साझेदार भित्र्याई पुनर्संरचना गर्न तथा नेप्सेमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको कारोबार प्रणाली भित्र्याउन कार्यदलले सुझाव दिएको छ ।

यस्तै नेपालको धितोपत्र बजारमा इन्ट्रा डे, सर्ट सेलिङ, इक्युटि डेरिभेटिभ्स, सेक्युरिटी लेण्डिङ एण्ड बोरोइङ भित्र्याउन आवश्यक नीतिगत, संस्थागत तथा प्रणालीगत व्यवस्था गर्न कार्यदलले सुझाव दिएको छ ।

सरकारी तथा संस्थागत ऋणपत्र कारोबार गर्ने सम्बन्धमा नीतिगत तथा प्रणालीगत व्यवस्था गर्नुका साथै सङ्गठित संस्थाहरूले जारी गर्ने हकप्रद शेयरको सम्बन्धमा राइट रिनाउन्स ट्रेडिङ सम्बन्धी विनियम तयार गरी लागू गर्नर््ुपर्ने कार्यदलको सुझावमा उल्लेख छ ।

जीवन बीमकले निर्जीवन बीमक र निर्जीवन बीमकले जीवन बीमकको सेयर खरिद गर्न नपाउने हालको व्यवस्था हटाउन बिमा ऐनमा संशोधन गर्न पनि कार्यदलले सुझाव दिएको छ ।

जेनजी आन्दोलनपश्चात् एक हप्ता भन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको सेयर बजार १६० अंकले घटेपछि अर्थमन्त्री रामेश्वर खनालले तत्कालै सेयर बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गर्नुभएको थियो ।

पूँजी बजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी लगानीकर्ताको मनोबल बृद्धिका लागि चाल्नु पर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि ठोस कार्यान्वयन कार्य योजना प्रस्तुत गर्ने गरी उक्त कार्यदल गठन गरिएको थियो ।

कार्यदललाई पाँच दिनभित्र सुझाव तथा कार्यान्वयन कार्य योजना पेस गर्नुपर्ने कार्यादेश दिइएको थियो । कार्यदलमा नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा नेपाल राष्ट्र बैङ्कका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य रहेका थिए । निरौलालाई कार्यदलको सदस्य सचिव तोकिएको थियो ।